२५ महिनामा धरहरा उभिने

शिव दुवाडी / काठमाडौं

बहुचर्चित पुराताŒिवक सम्पदा धरहरा र रानीपोखरीे पुनर्निर्माणले गति लिने भएको छ । एकपछि अर्को विवादका कारण रोकिँदै आएको निर्माण कार्य निश्चित समयसीमाभित्र सक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिका तातेका हुन् ।

प्राधिकरणले १२ वैशाख २०७२ को भूकम्पमा ढलेको धरहरा उभ्याउन औपचारिक प्रक्रिया थालेको हो । प्राधिकरणले कम्तीमा ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँमा वार्षिक निर्माण कारोबार गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गर्दै प्रक्रिया थालेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले प्राधिकरणले धरहरा निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्का प्रक्रिया थालेको बताए । एक महिनाभित्र ठेक्का लिने कम्पनी छानी दुई वर्षमा निर्माण सम्पन्नको लक्ष्य लिइएको उनले बताए ।

यसअघि नेपाल टेलिकमले धरहरा बनाउने घोषणा गरेको थियो । उसले हात झिकेपछि प्राधिकरणले टेन्डर खोलेको हो । धरहराको पुनर्निर्माणमा साढे ४ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।उनले भूकम्पबाट क्षतिग्रस्त भएका अन्य सम्पदाहरू पनि अब धमाधम पुनर्निर्माण हुने बताए । पुनर्निर्माणले गति नलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदाको पुनर्निर्माणका लागि आवश्यक परे आफैं डोको र कोदालो बोक्ने बताएका थिए ।

यसैगरी, प्राधिकरणले पुनर्निर्माणको क्रममा विवादमा तानिएको रानीपोखरीको निर्माण कार्यले पनि अब गति लिने भएको छ । रानीपोखरी पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ । पुनर्निर्माणमा कंक्रिट प्रयोग गरिएपछि विवाद भएको थियो ।

प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालका अनुसार आगामी १५ जेठदेखि रानीपोखरीको निर्माण कार्य सुरु हुनेगरी गृहकार्य अघि बढेको छ ।  यसअघि रानीपोखरी पुनर्निर्माण गर्दा मौलिकताअनुसार नभएको भन्दै काठमाडौंका स्थानीयवासीका साथै सरोकारवालाले विरोध गरेका थिए ।

रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमा बनाउन माग गरिएको थियो । विवाद चर्किएपछि पुनर्निर्माणका विषयमा अध्ययन गर्न गत पुसमा समिति गठन भएको थियो । पुनर्निर्माणको जिम्मा पाएको महानगरले पुरातŒव विभागले दिएको निर्देशन नमानी सिमेन्टको प्रयोग गरेपछि विवाद भएको थियो ।

यसैगरी, ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम पनि सुरु भएको छ । पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यबाट क्षमापूजा गरी काम सुरु गरिएको प्राधिकरणका प्रवक्ता भुसालले बताए ।