एकता विलम्बले एमाले–माओवादी नेता फुर्सदिला दुवै पार्टीको संगठन विस्तार, नवीकरण तथा पुनर्गठन प्रायः ठप्प

टेनिस रोका / काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियामा विलम्बसँगै दुवै पार्टी संगठनका नेता फुर्सदिला बनेका छन् । दुई पार्टीबीच एकता प्रक्रिया चलिरहेको र आ–आफ्नो संगठनको गतिविधि गर्दा एकतामा असर पर्ने भन्दै काम रोकिँदा दुवै पार्टीका नेता फुर्सदिला देखिएका हुन् ।

एकता प्रक्रिया सुस्ताउँदा दोस्रो तथा तेस्रो तहका नेतासमेत अलमलमा परेका छन् ।  एकता प्रक्रिया ढिलाइका कारण दुवै पार्टीको संगठन विस्तार, नवीकरण, संगठन पुनर्गठनलगायतका काममा समेत असर देखिएको छ ।

दुई पार्टीबीच पार्टी एकता भइहाल्छ र एकीकृत पार्टीपछि नयाँ ढंगबाट भेला, अधिवेशन तथा संगठन विस्तारलगायतका काम गर्ने प्रतीक्षामा रहेका दुवै पार्टी संगठन अहिलेको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा अलमलिएका छन् ।

दुवै पार्टीका दोस्रो र तेस्रो तहका नेता सम्मिलित दुई कार्यदलले गत २० चैतमा एकता संयोजन समितिसमक्ष एकताको खाका सम्मिलित प्रतिवेदन बुझाएका थिए । त्यससँगै कार्यदलमा सम्बद्ध दोस्रो तथा तेस्रो तहका नेता फुर्सदिला बनेका थिए ।

कार्यदलमा मिल्न बाँकी विषय पार्टी एकता संयोजन समितिमा पनि मिल्न नसकेपछि ४ वैशाखमा बसेको बैठकले विवाद मिलाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । एकता संयोजन समितिले एकताको अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएपछि समितिमा आबद्ध नेतासमेत फुर्सदिला बनेका थिए ।

दुवै पार्टी एकतानजिक रहेको बताउँदै आएपछि केन्द्रीय समिति सदस्यहरूले पार्टी संगठनको काम अघि बढाउन सकेका छैनन् । एमालेले यसअघि निर्णय नै गरेर एकता हुन लागेको भन्दै संगठनका अधिवेशन तथा सम्मेलनहरू रोक्न निर्देशन दिएको थियो । माओवादी केन्द्रले पनि दुई संगठनमा असर पर्ने कार्य नगर्न निर्देशन दिएको छ ।एकतामा विलम्ब देखिएपछि एमाले महासचिव ईश्वर पोखरेलले केही दिनअघि युवा संघको एक कार्यक्रममा आन्तरिक संगठनका गतिविधि रोक्न नहुने अभिव्यक्ति दिएका थिए । एकता विलम्ब भइरहेकै बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर एकता प्रक्रियामा आएको गत्यारोधप्रति असन्तुष्टि जनाउँदै चाँडो अघि बढाउन सुझाव दिएका छन् । नेपालले एकतामा सुस्तता आएको भन्दै दाहाललाई सक्रिय बन्नसमेत आग्रह गरेका बताइएको छ ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकताका विषयमा दुई पार्टीबीच विभिन्न तह र चरणमा औपचारिक एवं अनौपचारिक रूपमा छलफल जारी रहेको बताएका छन् । ‘हामीबीच छलफल चलिरहेको छ, औपचारिक–अनौपचारिक –पमा विभिन्न ढंगले छलफल जारी छ, अब छिट्टै यसले सार्थकता पाउँछ,’ उनले राजधानीसँग भने ।
पार्टी एकताका लागि राजनीतिक तथा वैचारिक विषय एवं एकीकृत पार्टीको नाम, लक्ष्यसमेतमा सहमतिपछि हस्ताक्षर गरिसकेका दुई दलमा पछिल्लोपटक सरकार सञ्चालनलगायतका विषयले गर्दा केही मनमुटावजस्तै देखिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भने अब चाँडै एकता हुने दाबी गरेका छन् । मंगलबार एकता कार्यक्रममा बोल्दै उनले दुई–तीन दिनको मिति राखेर जुनसुकै समयमा पनि एकता  हुनेसमेत बताए ।

सबै कुरा मिलिसक्यो, एकता छिट्टै : ओली

काठमाडौं / रास– प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता हुने बताएका छन् । दुई पार्टीबीचमा सबै विषय टुंगो लागिसकेको बताउँदै उनले छिट्टै एकता घोषणा हुने बताए ।

युवा संघ नेपालको २८औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कुनै पनि दिन एकता घोषणा हुन सक्ने भन्दै त्यसको तयारीमा जुटन निर्देशन दिए ।

‘हाम्रा फोटालाई दुईतिर फर्केको तस्बिर राखेर गलत प्रचार गर्नेहरूलाई अहिले सन्तोष मान्न दिऊँ,’ ओलीले भने, ‘हामी दुई–तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौं, पत्रकारहरू भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दै छौं ।’

एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने बताउँदै उनले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको बताए ।