‘फोरम नेपाल चाँडै सरकारमा’

राजधानी संवाददाता / वीरगन्ज

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय फोरम नेपाल चाँडै सरकारमा सहभागी हुने दाबी गरेका छन् । सोमबार वीरगन्ज आइपुगेका नेता श्रेष्ठले मंगलबार सञ्चारकर्मीसामु भने, ‘ओली सरकार बन्नुअघि नै फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भए पनि प्राविधिक कारणले उहाँहरू आउनुभएन ।’

नेता श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति उपयुक्त नभएको स्पष्ट पारे । जनकपुरमा सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा उनले प्रदेश २ विभेदमा परेको र मधेसी समुदाय हेपिएको अभिव्यक्ति दिएका थिए । मुलुकभित्रका कुरा आपसी रूपमा गर्नुपर्ने र सुनुवाइ नभए आन्दोलन नै गर्न सकिने भए पनि विदेशी प्रधानमन्त्रीसामु गुहार गर्नु ठीक नभएको उनको तर्क थियो ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा शंका नगर्न आग्रह गर्दै उनले भने, ‘जसरी पनि एकीकरण हुन्छ, सामाजिक न्यायसहितको समृद्ध मुलुकका लागि सबै वामपन्थी शक्ति एक ठाउँमा आउनुको विकल्प छैन ।’ उनले वाम एकता ऐतिहासिक आवश्यक पनि भएको र जनताले समेत त्यहीअनुरूप अनुमोदन गरेकाले पार्टी एकीकरण विपरीत हिँड्न कसैलाई छुट नभएको उल्लेख गरे । भारतीइ प्रधानमन्त्री र कूटनीतिज्ञहरू नेपाल आएर गएपछि पार्टी एकीकरण भत्किन लागेको जुन हल्ला छ, त्यसमा सत्यता नभएको उनको स्पष्टोक्ति थियो ।