शिवका छोरा र करिश्माकी छोरी सिनेमामा जोडी

राजधानी समाचारदाता / काठमाडौं

अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले आफ्नो अभिभावकको पथ पहिल्याउँदै सिनेयात्रा सुरु गरेका छन् ।

शक्ति र कविताले नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मार्फत नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । यो चलचित्रको आधा छायांकन सकिएको छ भने बाँकी छायांकन हुँदै छ ।

अस्ट्रेलियामा पढ्दै गरेका शक्ति र संयुक्त राज्य अमेरिकामा पढ्दै गरेकी कविता चलचित्रको छायांकनका लागि नेपाल आएका हुन् । चलचित्रको छायांकनपछि बाँकी पढाइ पूरा गर्न यी दुवै पुनः विदेश जानेछन् । पढाइ सकेर चलचित्रलाई निरन्तरता दिने यी दुवैको भनाइ छ ।

मंगलबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै निर्माण पक्षले यी नवअभिनेता–अभिनेत्रीलाई सञ्चारकर्मीसामु ल्याए । यो नयाँ चलचित्रका निर्मातामा शिव श्रेष्ठ पनि छन् ।

बुबाको चलचित्रमा अभिनेता बनेका शक्तिले यो चलचित्रसँग जोडिँदाको अनुभवबारे भने, ‘बुबाले फोन गरेर नयाँ चलचित्रमा नायक बन्ने प्रस्ताव राख्दा सुरुमा मलाई विश्वास लागेन, पछि उहाँले चलचित्रको कथा सुनाएपछि कथा मन परेर यो चलचित्रमा आबद्ध भएको हुँ ।’

करिश्मा मानन्धरकी छोरी कविताको जोडी भएर चलचित्रमा सँगै आउन पाउँदा आफूलाई अझ खुसी लागेको पनि शक्तिले बताए । चलचित्रमा काम गर्ने चाहना धेरै अघिबाटै भए पनि बुबाले पढाइ सकेपछि मात्र चलचित्र खेल्नुपर्छ भनेपछि आफू अस्ट्रेलियामा पढिरहेको शक्तिले बताए । यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइरालाजस्ता लोकप्रिय कलाकारसँग काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर मिलेको पनि शक्तिले बताए ।

नवअभिनेत्री कविता मानन्धर आफ्नै आमाको चलचित्रबाट डेब्यु गर्ने पर्खाइमा थिइन् । तर, राम्रो चलचित्रबाट प्रस्ताव आएपछि यो चलचित्रमा आबद्ध भएको बताउँदै उनले भनिन्, ‘शिव श्रेष्ठ अंकलले शक्तिसँग जोडी भएर यो चलचित्रका लागि प्रस्ताव ल्याउँदा म चलचित्रमा खेल्न सहमत भएँ, चलचित्रको कथा राम्रो छ र मैले राम्रो कामको कोसिस गरिरहेकी छु ।’ आफ्ना बुबाआमाको जीवन पनि चलचित्रबाटै चलेकाले आफू अभिनेत्रीका रूपमा यस क्षेत्रमा आएको कविताले बताइन् ।

एउटा यस्तो प्रेम कहानीका निर्मातासमेत रहेका शिव श्रेष्ठले आफ्नो छोराले चलचित्र टाइगरमा बालकलाकारको भूमिका निर्वाह गरेको र शक्तिमा अभिनय क्षमता भएकाले चलचित्रमा ल्याएको बताए । कविताले पनि चलचित्रमा आउने चाहना व्यक्त गरेकाले करिश्मालाई सहमत गराएर यो चलचित्रमा नायिकाका रूपमा लिएको पनि शिव श्रेष्ठले जनाए ।

छोरी कविताले आफ्नो क्षेत्रलाई अँगाल्दै चलचित्रको नायिका भएकोमा अभिनेत्री करिश्मा मानन्धरले खुसी व्यक्त गरिन् । शिव श्रेष्ठले राम्रो कथामा अभिनय गर्नेे प्रस्ताव ल्याउँदा छोरी नै चलचित्र खेल्न सहमत भएपछि आफूले नाइँ नभनेको पनि करिश्माले बताइन् । छोरीका लागि स्क्रिप्ट लेखिरहेको चलचित्रलाई आफूले अबको १० महिनापछिबाट छायांकन गर्ने पनि करिश्माले बताइन् ।

यस चलचित्रलाई दीपेश सापकोटाले निर्देशन गरिहेका छन् । यसोदा राई, दिनेश दर्शनधारीसमेत निर्माता रहेको यो चलचित्रमा शक्ति र कविताले राम्रो काम गरेको दीपेशले बताए । कार्यक्रममा निर्माण पक्षले चलचित्रको पहिलो टिजर पनि सार्वजनिक गरेको थियो ।