‘स्वाभिमानमा आँच आउने काम गरेको छैन’

राजधानी समाचारदाता / काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बताएका छन् । उनले विगतमा भएका राष्ट्रहितविरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।

युवा संघ नेपालको २८औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेको आरोप लगाए । पछिल्लो समयमा मोदीले नेपालमा नयाँ सरकार गठन भएकोमा यसलाई स्वर्णिम समय भन्दै नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु भनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गरे । भारतीय प्रधामन्त्रीको नेपाल भ्रमणको सन्दर्भमा कांग्रेस सांसद गगन थापाले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले भने, ‘संविधान संशोधन गर्न सकिनँ माफ पाऊँ मालिक अर्कोपटक गर्छु भनेर मैले भनेको छैन, कसरी घुँडामा भ्वाङ पर्नु ।’ आफूले नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने ठाउँमा आफूले भारतलाई ल्याएको उनले दाबी गरे ।

अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्नेस्थिति आउने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै भ्रष्टाचार, कालोबजारी, तस्करीविरुद्ध अभियान छेड्न युवालाई निर्देशन दिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब आर्थिक क्रान्तिको अभियानमा लाग्न युवाहरूलाई निर्देशन दिए । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता हुने बताउँदै अब मुलुक समृद्धि र स्थायित्वको अभियानमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

तराई–मधेसको समृद्धि सम्बोधन

काठमाडौं / रास– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम तथा अगामी बजेटमार्फत तराई–मधेसको विकास र समृद्धिको चासोलाई सम्बोधन गर्ने बताएका छन् ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रदेश २ का सांसदहरूले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट गरेर ‘तराई–मधेसको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ आग्रह गरेपछि उनले मधेसको विकासका लागि आफू गम्भीर रहेको र त्यस्ता कार्यक्रम ल्याउने आश्वासन दिए ।

भेटका क्रममा सांसदहरूले अर्थतन्त्रमा महŒवपूर्ण योगदान गर्दै आएको प्रदेश २ को सामाजिक, आर्थिक, शैक्षिक, सिँचाइलगायतका क्षेत्रमा विकासका लागि प्राथमिकता दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।

सांसदहरूसँगको भेटपछि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मधेसको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइने जनाएका छन् । ‘प्रदेश २ का सांसदहरूको सर्वदलीय प्रतिनिधिमण्डलसँग भेट हुँदा खुसी लाग्यो, शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ तथा डुबान समस्याको समाधानका लागि उहाँहरूले देखाउनु भएको अग्रसरताप्रति धन्यवाद, सरकारको नीति–कार्यक्रम र बजेटमार्फत तराई–मधेसको विकास र समृद्धिका चासोहरू सम्बोधन हुनेछ ।’

सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढीपहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गरेका थिए । टोलीमा रहेका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री आफूहरूको मागहरूप्रति सकारात्मक भएको बताए ।

प्रधानमन्त्रीले सांसदहरूको ज्ञापनपत्र बुझेपछि भोजपुर, मैथिली भाषामा दुई÷दुई र नेपाली भाषामा एक ट्वीट गर्दै तराई–मधेसको विकास हुने गरी बजेट विनियोजन हुने विश्वास व्यक्त गरेका छन् ।