तराई–मधेसको समृद्धि सम्बोधन

काठमाडौं / रास– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम तथा अगामी बजेटमार्फत तराई–मधेसको विकास र समृद्धिको चासोलाई सम्बोधन गर्ने बताएका छन् ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रदेश २ का सांसदहरूले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट गरेर ‘तराई–मधेसको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ आग्रह गरेपछि उनले मधेसको विकासका लागि आफू गम्भीर रहेको र त्यस्ता कार्यक्रम ल्याउने आश्वासन दिए ।

भेटका क्रममा सांसदहरूले अर्थतन्त्रमा महŒवपूर्ण योगदान गर्दै आएको प्रदेश २ को सामाजिक, आर्थिक, शैक्षिक, सिँचाइलगायतका क्षेत्रमा विकासका लागि प्राथमिकता दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।

सांसदहरूसँगको भेटपछि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मधेसको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइने जनाएका छन् । ‘प्रदेश २ का सांसदहरूको सर्वदलीय प्रतिनिधिमण्डलसँग भेट हुँदा खुसी लाग्यो, शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ तथा डुबान समस्याको समाधानका लागि उहाँहरूले देखाउनु भएको अग्रसरताप्रति धन्यवाद, सरकारको नीति–कार्यक्रम र बजेटमार्फत तराई–मधेसको विकास र समृद्धिका चासोहरू सम्बोधन हुनेछ ।’

सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढीपहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गरेका थिए । टोलीमा रहेका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री आफूहरूको मागहरूप्रति सकारात्मक भएको बताए ।

प्रधानमन्त्रीले सांसदहरूको ज्ञापनपत्र बुझेपछि भोजपुर, मैथिली भाषामा दुई÷दुई र नेपाली भाषामा एक ट्वीट गर्दै तराई–मधेसको विकास हुने गरी बजेट विनियोजन हुने विश्वास व्यक्त गरेका छन् ।