पोखरा स्पोर्ट्स अवार्ड मनोनयन सार्वजनिक

विजय नेपाल / पोखरा

नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले आयोजना गर्ने ‘तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७४’ को विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला, उदीयमान खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट), तिल पुनमगर (आर्चरी) मनोनयनमा परेका छन् ।

वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा विमला नेपाली (कराते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) परेका छन् । यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर (कविता) (कबड्डी) र मेगबहादुर सेन (क्रिकेट) मनोनयनमा छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट), शिवबहादुर गुरुङ (कराते) मनोनयनमा परेको मञ्च अध्यक्ष केशव पाठकले जानकारी गराए ।

यस वर्ष वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला ब्याडमिन्टन संघलाई सम्मान गरिने आयोजकले जनाएको छ । यस्तै सोही समारोहमा प्राध्यापक डाक्टर वीरेन्द्रसिंह गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने अध्यक्ष पाठकले जानकारी गराए । कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाएका खेलाडीलाई मनोनीत गरिएको जुरी कमिटीले जनाएको छ ।

वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल, वर्ष खेलाडी महिलालाई टीभीएस विगो स्कुटर, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार र वर्ष उत्कृष्ट खेल संघलाई १० हजार रुपैयाँसहित सम्मान गरिनेछ । खेलाडी तथा प्रशिक्षकलाई वल्र्ड वाइड कनेक्सन मोबाइल हब, वल्र्ड भिजनबाट ४ थान मोबाइल प्रदान गरिनेछ ।