ज्यान मुद्दाका चार आरोपी पक्राउ

पाँचथर / रास– कर्तव्य ज्यान मुद्दाका चार आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा जिल्लाको तुम्बेवा गाउँपालिका–५, का २७ वर्षीय सन्त राई, सोही स्थान बस्ने २० वर्षीय सुरज राई, २४ वर्षीय मदन राई र २२ वर्षीय राजन चाम्लिङ रहेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरूमाथि सोही स्थानका तेजेन्द्र राईको हत्या गरेको अभियोग लागेको छ । २३ फागुन २०७४ सालमा छिमेकीको विवाहमा निम्तो मान्न गएका तेजेन्द्र भोलिपल्ट नजिकैको अम्लिसोघारीमा मृत अवस्थामा भेटिएका थिए । मृतक तेजेन्द्रका बाबु मनकुमार राईले दिएको जाहेरीको आधारमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोजतलासका क्रममा उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो । निजहरू उपर कर्तव्य ज्यान मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको पाँचथरका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जनाएका छन् ।