करणी अभियोगमा पक्राउ

भोजपुर / रास–जिल्ला प्रहरी कार्यालय भोजपुरले करणी गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको टक्सार आयुर्वेद औषधालय कोटडाँडामा कार्यरत आयुर्वेद हेल्थ असिस्टेन्ट शंकर शाहलाई सो आरोपमा पक्राउ गरेको हो ।

शाहलाई आफ्नै कार्यालयमा उपचार गर्न आएकी एक किशोरीलाई कार्यालयको स्टोर रुममा लगेर करणी गर्न खोजेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । शाहले सोमबार दिउँसो कार्यालय आएकी १६ वर्षीय किशोरीलाई करणी प्रयास गरेका थिए ।

पीडितले सो घटना घरमा गएर बताएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । शाहलाई सोमबार नै पक्राउ गरी म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।