मनाइयो बट सावित्री पर्व

राजधानी संवाददाता / राजविराज

पतिको रक्षा र लामो आयुको कामना गर्दै मंगलबार सप्तरीलगायत तराईका जिल्लामा धुमधाम र श्रद्धापूर्वक बट सावित्री पर्व मनाइएको छ ।

जिल्ला सदरमुकाम राजविराजका साथै ग्रामीण क्षेत्रमा बिहानैदेखि व्रतालु महिलाहरू वरको रूख घेरेर पूजा गर्न तल्लीन थिए । शृंगारयुक्त महिलाहरू बट वृक्षमा विवाहको लगनगाँठोको प्रतीक मंगलधागो बेर्दै, वृक्षलाई सुम्सुम्याउँदै, अँगालो हाल्दै र हाते पंखा फिरफिर घुमाउँदै बटवृक्ष (बरको रूख) पूजा गर्दै बट सावित्री पर्व मनाएका हुन् ।

बट वृक्षलाई मैथिलीमा वर अर्थात् दुलाहा पनि भनिन्छ । मिथिला संस्कृतिमा पतिलाई देउताका रूपमा पूजा गर्ने परम्परा पुरानो हो । जेठ औंसीका दिन बर्सेनि तराई मधेसका हिन्दू महिलाको सम्मान बट वृक्षले पाउने गरेको छ ।

यो बट सावित्री हो । मंगलबार बिहानैदेखि यो पर्व मनाउनेको घुइँचो राजविराजको भगवती मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर र नगर आसपासका वरका रूखमुनी लाग्यो । कतिपय महिलाले घरमै वरको रूख रोपेर पूजा गरे । उनीहरूले बट वृक्षलाई विधिपूर्वक पूजाअर्चना गरे । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरियो ।

धार्मिक ग्रन्थका अनुसार सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि बट वृक्षको पूजा गरेकी थिइन् । व्रतालु महिलालाई वरकै रूखमुनी पन्डित, रूपकान्त मिश्रले वट सावित्रीको कथा सुनाएर यस पर्वको महŒवबारे जानकारी गराएका थिए । पतिको लामो आयुसँगै यो पर्व प्रकृति पूजाका रूपमा पनि लिने गरिएको ब्रतालु महिला मिरा गुप्ता बताउँछिन् । वरको रूखको पूजा गरिनुपर्छ भन्ने मान्यता रहेकाले वरको रूख रोप्नुपर्छ भन्ने सन्देश पनि दिएको छ, उनले भने ।

व्रतालुहरू बिहानै जलाशयहरूमा नुहाएर निराहार बसी बट सावित्रीको पूजामा सहभागी भएका थिए । बट सावित्री पर्व सम्पन्न यसैगरी जनकपुरका मैथिली महिलाको प्रमुख पर्व बट सावित्री पर्व मंगलबार मिथिलाञ्चलभरि धुमधामका साथ मनाइएको छ । पतिको दीर्घायुको कामना गरिने पर्व भएकाले महिलाहरू बट सावित्री पर्वमा वरको रूखनजिक विशेष पूजा गर्ने गर्छन् ।  सो दिन वरको रूख, नागनागिन र सोमाधोविनको पूजा गरिने परम्परा रहेको छ । यस दिन महिलाहरूले सावित्री र सत्यवानको कथा पनि श्रवण गर्ने गर्छन् । यो कथामा सावित्रीले

आफ्नो तपस्याद्वारा पति सत्यवानलाई बचाएका थिए । बट साबित्रीका दिन अनुन खाने चलन मिथिलामा रहेको छ । यस पर्वको अवसरमा जनकपुरको राम मन्दिर, गणेश मन्दिर, विवाह मण्डपमा रहेको वरको रूखनजिक पूजा गर्नेहरूको भीड लागेको छ । नवविवाहित महिलाको घरमा यसदिन विशेष उत्सव हुने गर्छ । यस दिन नव विवाहित महिलाका ससुराबाट पाहुर पनि आउने गर्छन् ।