स्थानीयले बनाए सडक

राजधानी संवाददाता / भोजपुर

भोजपुरको पौवादुङमा गाउँपालिका–२ तिवारी भन्ज्याङ र वडा नम्बर ३ देउराली टोलका स्थानीयले आफ्नै सक्रियतामा करिब ३ किलोमिटर सडक निर्माण गरेका छन् ।

गाउँपालिकास्थित च्याङेको देउराली र तिवारीभञ्ज्याङ खत्री गाउँ र बरबोटेका बासिन्दाले प्रत्येक घरबाट आफ्नो क्षमताअनुसारको रकम संकलन गरी सडक निर्माण गरेका हुन्

तिवारी भन्ज्याङ वडापालिकाबाट विनियोजित ८ लाख रकम वडा कार्यालयले सडक निर्माणमा खर्च नगरेपछि स्थानीयले समिति गठन गरी आफ्नै पहलमा सडक निर्माण गरेको समितिका अध्यक्ष रेवतीरमण भट्टराईले जानकारी दिए ।

पहिला सो क्षेत्रको सडक निर्माण गर्ने भनी विनियोजन भएको बजेट अन्यत्र खर्च गरिएपछि स्थानीयले जनश्रमदान र नगद गरी करिब ५ लाख लागतको सडक निर्माण गरेको उनको भनाइ छ । उनले भने, ‘पहिला वडा कार्यालयले हाम्रो क्षेत्रको सडक निर्माणका लागि छुट्याएको बजेट अर्कै क्षेत्रमा सडक खन्न खर्च गरेपछि स्थानीय मिलेर सडक खनेका हौं । हामीले ३ किलोमिटर सडक निर्माण गरेका छौं ।’ यो सडक तिवारी भन्ज्याङदेखि भोजपुरसम्म वैकल्पिक सडकका रूपमा समेत हेरिएको स्थानीयको भनाइ छ ।

यसैबीच पौवादुङमा गाउँपालिकाद्वारा तिलाहार, कान्ले, मार्से बास्तिम सडक स्तरोन्नतिका लागि विनियोजित २० लाख बजेटको लगानीमा सडक विस्तारको काम सुरु गरेको छ ।