रौतहट पुनः डुबानमा पर्ने आशंका

रमेश तिमलसिना / रौतहट

महा विपद्का रूपमा बाढीबाट डुबानमा परेको नौ महिना बितिसक्दा पनि बकैया नदीको बाँध निर्माण नभएपछि रौतहट पुनः डुबानमा पर्ने सम्भावना बढेको छ ।

गत साउन महिनाको अन्तिम साता बकैया नदीमा आएको बाढीले डुबान हुँदा २७ जनाको मृत्यु भएको थियो भने यस वर्षको बर्खामा पुनः डुबानमा पर्ने त्रासमा स्थानीय रहेका छन् । सो नदीमा निर्मित बाँध  फुटेपछि गाउँगाउँमा बाढी पसेको थियो । बाढीले रौतहटको ८० प्रतिशत भूभाग पूर्णरूपमा प्रभावित भएको तथ्य रहेको भए पनि भत्किएका बाँध अझै पनि पुनर्निर्माण हुन सकेको छैन । सो नदी नियन्त्रण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवारीपुर बाराको बेवास्ताको कारण यसपालिको बर्खामा पनि सो क्षेत्र फेरि डुबानमा पर्ने खतरा उत्तिकै रहेको स्थानीयको गुनासो छ । बाढीले क्षति पु¥याएको नौ महिनाको अवधिमा सो कार्यालयले बाँध मर्मत गर्न कुनै पहल नगरेको र अहिले आएर हतारमा काम गर्न थालेको स्थानीयको आरोप छ ।

बाढीबाट बढी प्रभावित बौधीमाई नगरपालिका क्षेत्रमा पर्ने बकैया नदीमा बाँध निर्माण गर्न कुनै पहल नभएको नगरपालिकाका नगर प्रमुख राजु रञ्जन यादवले बताए । सो नदीमा समयमै बाँध पुनर्निर्माण नभए धनजनको ठूलो क्षति हुन सक्ने उनको आशंका छ । जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई पटकपटक बाँध बाँध्नका लागि आग्रह गर्दा पनि सो कार्यालयका कार्यालय प्रमुख राजकुमार श्रीवास्तबले बेवास्ता गरेको नगर प्रमुख यादवको आरोप छ । बकैया नदी सो नगरपालिकाको इनरवाटोलबाट ठूलो भूभाग कटान गरी गाउँ पसेको थियो ।

गत वर्ष सो बाँध फुट्दा सो नगरको इनरवा, पिपरिया, कोपुवा, वसन्तपटीलगायतका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेको थियो । डुबानबाट गाउँलाई जोगाउन छिटोभन्दा छिटो बाँध बाँधिदिन डिभिजन प्रमुख श्रीवास्तबलाई आग्रह गरेको नगर प्रमुख यादवले बताए । नगरसभाले नदी नियन्त्रणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको र सो क्षेत्रमा ठूलो रकम लाग्ने उनको भनाइ छ ।

यसैगरी देवाही गुनाही नगरपालिका अन्तर्गतका क्षेत्रमा भने बाँधको काम भर्खर सुरु भएको सो नगरपालिकाका नगर प्रमुख धमेन्द्र पटेलले जानकारी दिए । सो नगरको विभिन्न ६ स्थानबाट बकैया नदीमा बाँध फुटेर बाढी गाउँ पसेको थियो । नगर प्रमुख पटेलका अनुसार देवाही पुल, कर्कच, दोहरटोललगायतका क्षेत्रमा बाँध कटान गरी बाढी गाउँमा पसेको थियो ।

‘काम सुरु भएको छ, डिभिजन कार्यालयलाई असार मसान्तभित्र काम गुणात्मक रूपमा सम्पन्न गर्न हामीले आग्रह गरेका छौं,’ नगर प्रमुख पटेलले भने । यदि गुणात्मक रूपमा काम सम्पन्न भएन भने नगरपालिकाद्वारा निर्मित भौतिक निर्माणका कामहरू सबै सखाप हुने उनमा त्रास छ । यदि समयमा काम नसकेको खण्डमा गत वर्षभन्दा बढी धनजनको क्षति हुने सम्भावना छ, नगर प्रमुख पटेलले भने । जिल्ला समन्वय समिति रौतहटका उपप्रमुख राम अशिष राय यादवले बाँधको काम गर्न ढिलो भएको स्वीकार गरेका छन् । ‘यति खेर बाँधको काम सक्नुपर्ने भए पनि भर्खर सुरु भएको जानकारी दिँदै उनले भने, ‘केही स्थानमा अझै पनि काम सुरु भएको छैन ।’ काम सुरु नभएको ठाउँमा यथाशीघ्र ठूलो जनशक्ति लगाएर भए पनि काम सम्पन्न गर्नुको कुनै विकल्प नै छैन,’ उनले भने ।

यसैगरी, परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले रौतहटको पूर्व बाग्मती र पश्चिम लालबकैया खोलामा आउने बाढीबाट वर्षायाम बर्षेनि लाखौंको धनमाल र मानवीय क्षति हुनबाट बचाउन अभियान चलाउन आवश्यक रहेको बताएका छन् । नेपाल नगरपालिका संघ प्रदेश २ का सभापतिसमेत रहेका वकिलले नदी नियन्त्रण कार्यालयले बाँध बाध्नका लागि कुनै किसिमको जिम्मेवारीबोध गराउन नसकेको आरोप लगाएका छन । बाँध निर्माण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कुनै पहल नगरेको उनको गुनासो छ । लालबकैया खोलाको बाढीले सयौं बिघा कृषियोग्य जमिन कटान गर्दै धेरै गाउँ डुबानमा पर्दै गएकाले त्यसबाट बच्न लालबकैया खोलामा बर्खायाम अगावै फुटेका बाँध मर्मत गर्नुपर्ने उनले बताए ।

लालबकैया खोलाले सो नगर क्षेत्रको तेजापाकड र लौकाहाबाट फुटेको बाँधले सो क्षेत्र डुबानमा परेको थियो । सो नदीमा आएको बाढीले देवाही गुनाही नगरपालिका, बौधीमाई नगरपालिका,राजपुर नगरपालिका,फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, इशनाथ नगरपालिका र गौर नगरपालिका गरी आधा दर्जनभन्दा बढी नगरपालिकालाई प्रभावित छन् । गत २७–३१ साउनमा आएको बकैया नदी र बाग्मती नदीमा आएको बाढीले बाँध फुटाउँदा रौतहट पूरै डुबानमा परेको थियो ।