मकालु एयरको कार्गाे विमान दुर्घटना, चालक दलका दुई सदस्यको मृत्यु

मिमसिंह नेपाली / हुम्ला

मकालु एयरको विमान बुधबार बिहान खार्पुनाथ गाउँपालिका–२ बाहुनखर्कमा दुर्घटना हुँदा चालक दलका दुवै जनाको मृत्यु भएको छ । सुर्खेतबाट बिहान ६ बजेर १२ मिनेटमा सामान बोकेर सिमिकोट उडेको नाइनएन एजेयू एकल इन्जिनयुक्त कार्गाे विमान सिमिकोट विमानस्थलबाट ७ दशमलव ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनामा क्याप्टेनद्वय किरण भट्टराई र आदित्यनाथ नेपालीको ज्यान गएको हो ।

सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको दुर्घटनाग्रस्त कार्गो विमान (माथि) तस्बिर : मिमसिंह नेपाली

हुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठले बाक्लो कुहिरोका कारण विमान पहाडमा ठोकिएर दुर्घटना भएको हुन सक्ने बताए ।
सो विमान सुर्खेतबाट ११ सय ७० किलो सामान लिएर सिमिकोटका लागि उडेको थियो । बिहानैदेखि सम्पर्कविहीन विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि भेडीगोठालाको सहयोगमा पत्ता लागेको हो । सो विमान ६ः२७ मा नेपालगन्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो । सो विमान १२ हजार ८ सय फिट उचाइमा रहेको थियो ।

गुमाएका पाइलट किरण भट्टराई र को—पाइलट आदित्य नेपालीका शोकाकुल आफन्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : सत्यन श्रेष्ठ

१० साउन २०७३ मा पनि मकालु एयरकै विमान हुम्लाकै खापुनाथ कर्णालीमा दुर्घटनामा परेको थियो । त्यसबेला चालक सांगे लामा र सहचालक प्रशान्त शाहले ज्यान जोगाएका थिए । त्यतिबेला जहाज भने नदीले बगाएको थियो ।