वन्यजन्तु हिँड्न अन्डरपास

चितवन / रासस– नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तुमैत्री सडक निर्माणगरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न चारवटा सडकमुनिबाट हिँड्ने बाटो (अन्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ ।

उनका अनुसार भरतपुर महानगरपालिका–१ आँपटारीमा दुईवटा र भतेरीमा दुईवटा अन्डरपास निर्माण गरिएको छ । जसबाट वन्यजन्तु वारपार गर्न सक्नेछन् । सडकमा वन्यजन्तु आउने र दुर्घटना हुने भएकाले अन्डरपास निर्माण गरिएको उनले जानकारी दिए ।

ती अन्डरपासमा सीसी क्यामरा जडान गरी अनुगमन पनि गरिएको छ । सीसी क्यामरामा चितुवा, बँदेल, मृग, जंगली बिरालोलगायतका साना जनावर वारपार गरेको देखिएको भए पनि हात्ती, गैँंडाजस्ता ठूला जनावर वारपार गरेको भने भेटिएको छैन ।

सोही क्षेत्रमा एक किलोमिटर ३ सय मिटर सडक क्षेत्रमा तारबार गरिँंदै छ । जसका कारण जनावरले जथाभावी सडक पार नगरी अन्डरपास प्रयोग गरून् र दुर्घटना नहोस् भन्नका लागि तारबार गरिएको पाठकले भने ।

नारायणगढ–मुग्लिन सडक

यस्तै, सोही क्षेत्रमा चार ठाउँमा जंगली जनावरलाई लक्षित गरी पोखरी खनिएको पाठकले बताएका छन् । समिढाप, साउनेपानी, ढ्यांग्रेखोलामा पोखरी खनिइसकिएको छ भने जलदेवीमा खन्ने तयारीमा रहेको छ । वन्यजन्तुले पानी पिउन र पौडी खेल्न सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरी खनिएको हो ।

आयोजनाले सडक क्षेत्रमा काटिएका रूखको क्षतिपूर्तिबापत पदमपुर सामुदायिक वनमा पाँच हेक्टर जमिनमा ८ हजार बिरुवासमेत लगाइएको बताइएको छ । पाठकका अनुसार एक रूख काटिएबापत २५ बिरुवा लगाउनुपर्ने हुन्छ । सोहीअनुरूप टाँकी, बकाइनो, रक्तचन्दनलगायतका बिरुवा रोपिएको जानकारी दिँदै उनले भने, ‘ती बिरुवा हुर्काउने काम पनि आयोजना गर्नेछ ।’

विश्व बैंकको सहयोगमा सडक विस्तार भइरहेकाले यसबाट वातावरणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले विशेष ध्यान दिने गरिन्छ । नारायणगढ–मुग्लिन सडकको आँपटारीदेखि भतेरीसम्म दुवैतर्फ वन रहेको छ । ती क्षेत्रमा रहेका वन्यजन्तु प्रभावित नहोऊन् भन्नका लागि आयोजनाले विशेष ध्यान पु¥याउँदै आएको छ ।