मिटरमा नजाने ३६ ट्याक्सी नियन्त्रणमा

राजधानी संवाददाता / पोखरा

कास्कीमा सरुवा भई आएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले आपराधिक क्रियाकलापविरुद्ध कानुनको कठोरतालाई आत्मसाथ गर्दै त्यस्ता गतिविधि न्यूनीकरण गर्न निर्दयी रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

पत्रकारसँग बुधबार अन्तक्र्रियामा बोल्दै प्रहरी उपरीक्षक रानाले गुण्डाराज अन्त्यका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका प्राथमिकताको अक्षरशः पालना गर्दै आफू निर्दयी रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

उनले आन्तरिक शुद्धिका लागि प्रविधियुक्त नागरिकमैत्री प्रहरी सेवा, ट्राफिक व्यवस्थापन, सामाजिक विकृति विसंगति र कुसंस्कारविरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै सामाजिक विकृति निर्मूल पार्ने दाबी गरे ।

उनले विश्व समुदायको समेत नजर परेको पर्यटकीय नगरी पोखरालाई अपराधरहित बनाउन आफू अहोरात्र तल्लीन रहने दाबी गरे । घरेलु मदिरा तथा लागूऔषध, यौन व्यवसाय र जुवातास नियन्त्रण, चोरी, लुटपाट, कालोबजारी न्यूनीकरणमा लाग्ने बताए ।

यस्तै, छुट्टाछुट्टै स्क्वायड खडा गरी फरार अपराधी पक्राउ र कारबाही, घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा असक्त व्यक्तिउपरका घटनामा संवेदनशीलता अपनाउने पनि उनको प्रतिबद्धता छ ।

यसैबीच, कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा मान्वु घर भई हाल पोखरा ६ बस्ने १९ वर्षे दीपक घले र उदयपुर घर भई हाल पोखरा १३ बस्ने ३१ वर्षे विन्दा तामाङ छन् । लेकसाइड खहरेचोकमा वैशाख ३१ मा चेकिङ क्रममा घलेको साथबाट चोरी गरेको ल्यापटप एक थानसहित विभिन्न कमपनीका आठ थान मोबाइल, मेमोरी कार्ड, पेनड्राइभ बरामद गरिएको हो भने न्युरोडबाट तामाङलाई चोरी गरेका विभिन्न झोलासहित १ जेठमा पक्राउ गरिएको हो ।

प्रहरीले १ जेठमै खैरो हेरोइनसहित पोखरा १०, इन्द्रचोकबाट दुई जना युवायुवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, घलेचोक बस्ने ४० वर्षे जुना नेपाली र पोखरा १५ बस्ने ३० वर्षका सुवास राना छन् । शंकास्पद रूपमा हिडिरहेको अवस्थामा खानतलास गर्दा उनीहरूको साथबाट नौ पोका खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।

यता, मिटरमा जान नमान्ने ३६ ट्याक्सीलाई एकै दिन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय परिसरमा राखेको छ । १ जेठमा पोखराका मुख्य चोकमा सादा पोसाकमा गएका प्रहरीले मिटरमा जान नमान्ने ती ट्याक्सी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रमुख रानाले पक्राउ परेका ट्याक्सी र चालकको अभिलेख राखिने र पटकपटक गतिविधि दोहोरिए केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही गरिने चेतावनी दिए ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले सो दिन ट्याक्सीसहित विभिन्न सवारी साधन कारबाहीबाट १ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरिएको जनाए । उनका अनुसार पछिल्लो समय १८४ ट्याक्सी कारबाहीमा परेकोमा १ जेठमै ३६ ट्याक्सी कारबाहीमा परेको बताए । यता, ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले सवारी यातायात व्यवस्था ऐन, २०४९ को धारा १६४ को १ (६) को आधारमा उल्लेख विपरीत ट्याक्सीमा भएको कारबाहीप्रति आपत्ति जनाए । उनले भाडा समायोजन नभएको पाँच वर्ष बितिसकेको अवस्थामा जबर्जस्त मिटरमा जानुपर्छ भन्नु घाँटी निमोठ्ने काम हो भन्दै आपत्ति जनाए ।