भूकम्पपीडितका भवनमा स्थानीय सरकारका कार्यालय

राजधानी संवाददाता / धादिङ

भूकम्प प्रभावितलाई लक्षित गरी बनाइएका सामूहिक आवास भवनहरूमा धमाधम स्वास्थ्य चौकी, विद्यालय, हुलाक तथा वडा कार्यालयका बोर्ड झुन्डिन थालेका छन् । १२ वैशाख २०७२ मा आएको भूकम्प प्रभावित क्षेत्रका बासिन्दा भने अझै पनि अस्थायी टहरामै बस्न बाध्य छन् । जोखिम बस्तीका प्रभावितहरूका लागि भनेर सरकारले ती सामूहिक आवास निर्माण गरेको हो । तर, यतिबेला ती आवास भवनहरूमा गाउँपालिकाका वडा कार्यालदेखि स्वास्थ्य चौकी, हुलाक कार्यालय बसेका छन् । सामूहिक आवास भवन स्थानीय सरकारलाई हस्तान्तरण गरेसँगै पीडितले नभई सेवा प्रदायक संस्थाले नै ती संरचना उपयोग गर्न थालेका हुन् ।

धादिङको खनियाँबास गाउँपालिकाको झार्लाङमा रहेको सामूहिक आवास भवनमा स्वास्थ्य चौकी र वडा कार्यालय छ । स्वास्थ्य चौकीकै जग्गामा सामूहिक आवास निर्माण गरिएको थियो । स्थानीय तहको संरचनापछि वडा तथा गाउँपालिकाको भवन नहँुदा समस्या परेको छ । भवनको सदुपयोगसँगै आवश्यकता पनि परिपूर्ति हुने भएकाले प्रयोगमा ल्याइएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए ।

गंगाजमुना गाउँपालिका साबिकको रि गाविसमा रहेको सामूहिक आवास भवनमा वडा नम्बर २ को वडा कार्यालय, अतिरिक्त हुलाक सेवा, स्वास्थ्य केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिए ।

रुबीभ्याली गाउँपालिकामा साविकको तीनवटै गाविसमा सामूहिक आवास भवन बनेको र ती भवन अन्य कामका लागि प्रयोगमा ल्याइएको छ ।

 साबिकको गाविस लापामा स्कुल, सेर्तुङमा स्वास्थ्य चौकी, विद्यालय र तिप्लिङमा स्कुल सञ्चालन गरिएको पालिकाका अध्यक्ष चेरुङ तामाङले बताए । स्कुलको जग्गामा सामूहिक आवास भवन निर्माण गरिएकाले स्कुलको पनि भवन भत्किएको कारण स्कुलले प्रयोग गर्दै आएको छ । उनले भने, ‘गाउँमा आवश्यकता हेरेर जनताको आवश्यकता परिपूर्तिमा प्रयोग गरिएको हो ।’

सामूहिक आवासका लागि बनाइएका भवनहरू आवश्यकताको आधारमा जनतालाई सेवा दिन प्रयोगमा ल्याइएको गाउँपालिकाका अध्यक्षहरू बताउँछन् । फेरि पनि आपतविपत आइपरे स्वास्थ्य चौकी, विद्यालय, वडा कार्यालय, हुलाक जुनसुकै कार्यालय सञ्चालन गरिएको भए पनि सामूहिक आवासको उद्देश्य र मर्मलाई ध्यानमा राखेर प्रयोग गर्ने उनीहरू बताउँछन् । टाढाबाट आएर सामूहिक आवासमा जनता नबस्ने कारणले भवन प्रयोगविहीन भएको उनीहरूले बताए ।

धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार प्रयोगमा नआउनुभन्दा केही कामको प्रयोजनका लागि भवन प्रयोगमा ल्याउनु राम्रो कुरा हो । तर, आपतविपतको समयमा नागरिकले बस्न पाउनुपर्छ, उनले भने । सामूहिक आवासको उद्देश्य र मर्मलाई गाउँपालिकाले ध्यान दिन आवश्यक रहेको उनले बताए ।