चिप्लिएर तमोरमा खस्ने त्रास

राजधानी संवाददाता / धनकुटा

धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरू कष्टपूर्ण यात्रा गरेर विद्यालय जान वाध्य छन् । दिलुङटारमा प्राथमिक तहसम्म मात्र विद्यालय भएकाले शहीदभूमि गाउँपालिकाको आदर्श माध्यमिक विद्यालय जानुपर्ने बाध्यता छ ।

तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् । साँगुरीगढी गाउँपालिकाले दिलुङटारदेखि सानो सफाइसम्म सडक बनाएको भए पनि माथिबाट आएको सुक्खा पहिरोले बाटो पुरेको छ । ठूला मानिसलाई यात्रा गर्नसमेत कष्टपूर्ण रहेको सो बाटोमा बालबालिकाको यात्रा झनै पीडादायी रहेको लक्ष्मी मावि महाभारतका शिक्षक दूर्गा खड्काले जानकारी दिए । दिलुङटारदेखि सानो सफाइको बीच बाटोमा ठूला मान्छेलाई पनि यात्रा गर्न गाह्रो छ ।

माथिबाट पहिरो खसिरहने हुनाले विद्यार्थीहरूले पहिरो गएको ठाउँमा कुदेर बाटो काट्नुपर्ने बाध्यता रहेको स्थानीय ज्ञानेन्द्र खड्काले बताए । ‘पहिरोले बाटो पुरेपछि केटाकेटीको बिजोग भएको छ ।’ खड्काले भने ‘कतिखेर खुट्टा चिप्लिएर तमोर नदीमा खस्छन् भन्ने ठेगान छैन ।’