१६ जेठदेखि तेस्रो स्काउट ज्याम्बोरी

राजधानी समाचारदाता / काठमाडौं

आगामी १६ देखि २१ जेठसम्म स्काउट बृहत् भेला ‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’ नुवाकोट ककनीस्थित अन्तर्राष्ट्रिय ज्याम्बोरी स्थलमा हुने भएको छ । ७ प्रदेशका ७० भन्दा बढी जिल्लाका करिब ५ हजार स्काउट सहभागी हुने ज्याम्बोरीमा विभिन्न क्रियाकलाप समावेश गरिएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक चन्दन कौशिकले जानकारी दिए ।

ज्याम्बोरीका लागि २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा सरकारले २ करोड रुपैयाँ प्रदान गरिसकेको छ भने नपुग रकम नेपाल स्काउटले जुटाउनेछ । विभागीय मन्त्रालयको हैसियतमा युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई ज्याम्बोरीका लागि २ करोड रुपैयाँ प्रदान गरेको हो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा नेपाल स्काउट प्रमुख रहने व्यवस्था छ । नेपालमा २०४३ साल १६ देखि २२ चैतसम्म कीर्तिपुर, काठमाडौंमा पहिलो र २०६९ साल २७ चैतदेखि २०७० साल २ वैशाखसम्म चितवन टिकौलीमा दोस्रो ‘नेपाल स्काउट ज्याम्बोरी’ सञ्चालन भएको थियो ।

तेस्रो ज्याम्बोरीमा नेपालका स्काउटका अतिरिक्त भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, एसिया प्रशान्त क्षेत्र (एपीआर) सदस्य मुलुकका स्काउट, (एपीआर) संगठन पदाधिकारी, विश्व स्काउट संगठन केन्द्रीय कोषाध्यक्षसहित अमेरिकासमेतका स्काउट सहभागी रहने संयोजक कौशिकले जानकारी दिए ।
नेपाल स्काउट प्रमुख संरक्षक प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय ज्याम्बोरी सल्लाहकार समिति, प्रमुख स्काउट एवं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा मूल समारोह समिति, तदर्थ समिति संयोजक चन्दन कौशिकको अध्यक्षतामा १५ सदस्यीय व्यवस्थापन समिति र तदर्थ समिति सदस्य गौतम अधिकारीको संयोजकत्वमा ज्याम्बोरी सचिवालय समिति गठन गरिएको छ ।