विमान दुर्घटनाको कारण खोज्न माग

काठमाडौं / रास– विमान दुर्घटना हुनुको कारण खोजी गरी तत्काल समस्या समाधान गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको संसद्मा विशेष समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले पटक–पटक हुने गरेका विमान दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पटक–पटक विमान दुर्घटना हुँदा पनि कारण पत्ता लगाएर समस्या समाधान गर्न नसकिएको भन्दै उनले दुर्घटनाको कारण खोजी विमान दुर्घटना रोक्नुपर्ने माग गरे ।

सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान बुधबार बिहान दुर्घटनामा परी चालक दलका दुई सदस्यको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै बडूले विमान दुर्घटना रोक्न सरकारलाई संवेदनशील हुने सचेत गराए ।