सर्वोच्च शिखरमा कामिरिताको नयाँ विश्व कीर्तिमान

मधुजंग पाण्डे / काठमाडौं

चर्चित नेपाली आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा २२औं पटक पाइला टेकी विश्व कीर्तिमान कायम गरेका छन् । यसअघि आफूसहित तीन जनाको नाममा रहेको कीर्तिमान तोड्दै कामिरिताले आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका हुन् । ४८ वर्षीय कामिरिताले बुधबार बिहान साढे ८ बजे दक्षिण पूर्वी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि कामिरितासहित अर्का प्रख्यात आरोही आप्पा शेर्पा र फुर्वाटासी शेर्पाको नाममा २१औं पटक आरोहण गरेको विश्व कीर्तिमान थियो । आधार शिविरबाट आरोहण थालेको चौथो दिनमै कामिरिता सगरमाथाको शिखरमा पुगेका हुन् ।

चर्चित आरोही कामिरितासँगै अन्य सात जना नेपाली र सात विदेशी आरोहीको टोली बुधबार बिहान साढे ८ बजे सगरमाथा चुचुरोमा पुगेको आधार शिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनी सेभेन समिट ट्रेकबाट आरोहणमा गएका थिए । उनले बुधबार कामिरितासहित ५३ जना स्वदेशी र ४१ जना विदेशी गरी कुल ९४ आरोहीले सगरमाथाको सफल आरोहण गरेको बताए ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले २२ वर्षको उमेरमा सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनी २९ सदस्यीय आरोहण दल समूहका साथ अमेरिकन ट्रेकिङ एन्ड ट्राभल कम्पनीमार्फत सगरमाथाको शिखरमा पुगेका हुन् ।

२२औं पटक सगरमाथाको शिखर चुम्न सफल  कामिरिताले भने, ‘नयाँ कीर्तिमान कायम गर्न सक्नु मेरा लागि ठूलो उपलब्धि हो । अहिले म ज्यादै खुसी छु ।’

यसैगरी, ४५ वर्षीया नेपाली महिला आरोही लाक्पा शेर्पाले पनि बुधबार सगरमाथा शिखर चुमेर नयाँ रेकर्ड हासिल गरेको विभागले जनाएको छ । नौपटक सगरमाथाको शिखरमा पुग्ने लाक्पा पहिलो महिला आरोही हुन् । सन् २००० मा पहिलोपटक उनले सगरमाथा आरोहण गरेकी थिइन् । यस वर्ष मौसमले साथ दिएकाले धेरै आरोहीले सगरमाथाको सफल आरोहण गर्ने अपेक्षा गरिएको विभागले जनाएको छ । सोमबार ५० जना स्वदेशी र विदेशी आरोही शिखरमा पुगेका थिए ।

यस मौसममा सगरमाथा आरोहणका लागि ३८ समूहका ३ सय ४६ आरोही आरोहण अनुमति लिएर आधार शिविरतर्फ गएका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका स्वदेशी र विदेशी गरी कुल ३८ आरोहण दलमध्ये ४ दल नेपाली आरोहीको छ । ४ दलमा जम्मा २० जना मात्र नेपाली आरोही रहेका छन् ।