एमाले–माओवादी एकता घोषणा आज, अबदेखि एमाले–माओवादी रहेनन् : दाहाल

सुभाष साह / काठमाडौं

एमाले र माओवादी केन्द्रबीच बिहीबार (आज) पार्टी एकता घोषणा हुने भएको छ । दुवै पार्टीका नेताको लामो गृहकार्य पछि पार्टी एकता हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि उपाध्यक्ष वामदेव गौतमले बिहीबार दुई दलबीच औपचारिक रूपमा पार्टी एकता घोषणा हुने बताए ।

पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत सहभागी । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

‘बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता घोषणाको बारेमा औपचारिक निर्णय हुनेछ,’ गौतमले भने, ‘लामो समयको गृहकार्यपश्चात् एकता समितिको निर्णयसँगै पार्टी एकता घोषणा हुनेछ ।’

एमाले र माओवादी केन्द्रका नेता लामो समयसम्म पार्टी एकताका विषयमा छलफल गर्दै आएका छन् । बिहीबारै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकता संयोजन समितिको बैठक पनि बिहीबार नै डाकिएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले बाहिर हल्ला भए जस्तो पार्टी एकतामा कहीँ कतै दुविधा नभएको बताए । दुवै दलका नेताबीच भएको छलफल सकारात्मक रहेको बताउँदै उनले एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

‘एमाले र माओवादी केन्द्रका बीचमा हुने पार्टी एकीकरण विषयमा बाहिर आएको नकारात्मक प्रचार जस्तो हामीमा केही पनि खटपट छैन,’ पोखरेलले भने, ‘दुई पार्टीका नेताको व्यस्तता र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका कारण केही ढिलाइ भएको हो । पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।’

पार्टी एकीकरणका लागि अन्तिम तयारी भइरहेको बताउँदै बाँकी रहेको प्राविधिक विषय टुंगो लगाउँदै एकता घोषणा हुने टुंगो लागेको जानकारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गराएको उनले बताए । रक्षामन्त्री समेत रहेका महासचिव पोखरेलले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बिहीबार नै एकता घोषणा हुन सक्ने बताए ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत पार्टीमा ४ सय ४१ केन्द्रीय सदस्य रहने बताए । जसमा एकीकृत पार्टीको केन्द्रीय कमिटीमा एमालेका २ सय ४१ र माओवादी केन्द्रका २ सय जना सदस्य रहने सहमति भएको छ । यसैगरी, ४३ सदस्यीय स्थायी कमिटी बनाउने सहमति भएको छ । जसमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना रहनेछन् ।

कुल केन्द्रीय सदस्य : ४४१

एमाले २४१

माओवादी २००

स्थायी समिति ४३

एमाले २५

माओवादी १८

चुनाव चिह्न :  सूर्य

 

पार्टी सचिवालय सदस्यहरूको बैठक बस्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच वान टु वान छलफल भएको थियो ।

छलफलले नेतृत्व, संगठन अनुपात, चुनाव चिह्न र जनयुद्धको विषयमा सहमति जुटाएको थियो । गत ४ वैशाखमा बसेको एकता संयोजन समिति बैठकले विवाद मिलाउने जिम्मा दुई अध्यक्षलाई सुम्पेको थियो ।

 

 

अबदेखि एमाले–माओवादी रहेनन् :  दाहाल

काठमाडौं / रास– नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकतालाई स्वीकृति दिएको छ । माओवादी केन्द्रको बुधबार बसेको पार्टी सचिवालय सदस्यको विस्तारित बैठकले दुई पार्टीबीच हुने एकतालाई अनुमोदन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिबारे जानकारी गराएका थिए । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने तथा केन्द्रीय समिति ४४१ सदस्यीय हुने र त्यसमा एमालेका तर्फबाट २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय समिति रहने जानकारी गराएका थिए ।

सचिवालय सदस्यहरूको विस्तारित बैठकमा बिफ्रिङ गर्दै दाहालले आज (बिहीबार)देखि नेकपा एमाले र नेकपा माओवादी दुवै पार्टीको नाम नरहने समेत जानकारी दिएका थिए । ‘नेपालको इतिहासमा हामी नयाँ चरणमा प्रवेश गर्दै छौं, भोलिदेखि नेकपा एमाले पनि रहन्न, नेकपा माओवादी केन्द्र पनि रहन्न, अब नयाँ पार्टी, नयाँ विचार, सिद्धान्त, नयाँ सोच र नयाँ ढंगमा पुगेका छौं,’ दाहालले भने ।

अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै किसिमका खेल भइरहेको भन्दै अहिलेकै अवस्थामा एकता गरेर जाने समय सही भएको बताएका थिए । माओवादी केन्द्र सचिवालय सदस्यको बैठक पुनः आज (बिहीबार) पनि बोलाइएको छ । बैठकले एकताका लागि अन्तिम स्वीकृत दिने र लगत्तै एकता घोषणा गरिने सचिवालय सदस्य मणि थापाले जानकारी दिए । उनका अनुसार आज नै दुवै पार्टीका केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गरिने भएको छ ।

एकीकृत पार्टीको चुनाव चिह्न सूर्य नै रहने भएको छ । एकीकृत पार्टीको विधानमा जनयुद्धको विश्लेषणलाई समेटिने भएको छ । चुनाव चिह्न र जनयुद्धको विश्लेषणका विषयमा यसअघि दुई पार्टीमा विवाद रहँदै आएको थियो । पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी राख्ने यसअघि नै सहमति जुटिसकेको छ ।

नेता थापाका अनुसार महाधिवेशनसम्म दुई अध्यक्षात्मक प्रणाली रहनेछ भने समाजवाद समावेशी लोकतन्त्रलाई एकीकृत पार्टीको कार्यदिशाका रूपमा मान्न दुवै पार्टी सहमत देखिएका छन् ।

महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुने र पार्टीका तर्फबाट जारी हुने सर्कुलरमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । बैठकको अध्यक्षता पालैपालो दुवै अध्यक्षले गर्ने सहमति भएको छ । चुनाव चिह्न, एकीकृत पार्टीको सांगाठनिक संरचनालगायतका विषयमा टुंगो लागिसकेको र दुवै पार्टीको बैठकबाट अनुमोदन गर्दै एकता घोषणा हुने भट्टराईले बताए ।

एमाले स्थायी कमिटीको बैठक बस्नुअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा ‘वान टु वान’ वार्ता भएको थियो । दुवै पार्टीका अध्यक्षले बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए ।

पार्टी एकता घोषणा बिहीबार मदन–आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा गर्ने तयारी नेताहरूले गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने एकता घोषणापश्चात् निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भएको छ । पार्टी एकताका लागि कुनै विवाद नरहेकाले दुवै पार्टीले संयोजन समितिको निर्णयकै आधारमा एकता घोषणा गर्ने सहमति भएको हो । संयोजन समितिले विभिन्न दुई उपसमिति बनाएका थिए । जसले टुंगो लाग्न बाँकी रहेका विषयबारे  निर्णय गर्ने अधिकार दुवै पार्टीका अध्यक्षलाई दिएको थियो ।