अबदेखि एमाले–माओवादी रहेनन् : दाहाल

काठमाडौं / रास– नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकतालाई स्वीकृति दिएको छ । माओवादी केन्द्रको बुधबार बसेको पार्टी सचिवालय सदस्यको विस्तारित बैठकले दुई पार्टीबीच हुने एकतालाई अनुमोदन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिबारे जानकारी गराएका थिए । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने तथा केन्द्रीय समिति ४४१ सदस्यीय हुने र त्यसमा एमालेका तर्फबाट २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय समिति रहने जानकारी गराएका थिए ।

सचिवालय सदस्यहरूको विस्तारित बैठकमा बिफ्रिङ गर्दै दाहालले आज (बिहीबार)देखि नेकपा एमाले र नेकपा माओवादी दुवै पार्टीको नाम नरहने समेत जानकारी दिएका थिए । ‘नेपालको इतिहासमा हामी नयाँ चरणमा प्रवेश गर्दै छौं, भोलिदेखि नेकपा एमाले पनि रहन्न, नेकपा माओवादी केन्द्र पनि रहन्न, अब नयाँ पार्टी, नयाँ विचार, सिद्धान्त, नयाँ सोच र नयाँ ढंगमा पुगेका छौं,’ दाहालले भने ।

अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै किसिमका खेल भइरहेको भन्दै अहिलेकै अवस्थामा एकता गरेर जाने समय सही भएको बताएका थिए । माओवादी केन्द्र सचिवालय सदस्यको बैठक पुनः आज (बिहीबार) पनि बोलाइएको छ । बैठकले एकताका लागि अन्तिम स्वीकृत दिने र लगत्तै एकता घोषणा गरिने सचिवालय सदस्य मणि थापाले जानकारी दिए । उनका अनुसार आज नै दुवै पार्टीका केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गरिने भएको छ ।

एकीकृत पार्टीको चुनाव चिह्न सूर्य नै रहने भएको छ । एकीकृत पार्टीको विधानमा जनयुद्धको विश्लेषणलाई समेटिने भएको छ । चुनाव चिह्न र जनयुद्धको विश्लेषणका विषयमा यसअघि दुई पार्टीमा विवाद रहँदै आएको थियो । पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी राख्ने यसअघि नै सहमति जुटिसकेको छ ।

नेता थापाका अनुसार महाधिवेशनसम्म दुई अध्यक्षात्मक प्रणाली रहनेछ भने समाजवाद समावेशी लोकतन्त्रलाई एकीकृत पार्टीको कार्यदिशाका रूपमा मान्न दुवै पार्टी सहमत देखिएका छन् ।

महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुने र पार्टीका तर्फबाट जारी हुने सर्कुलरमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । बैठकको अध्यक्षता पालैपालो दुवै अध्यक्षले गर्ने सहमति भएको छ । चुनाव चिह्न, एकीकृत पार्टीको सांगाठनिक संरचनालगायतका विषयमा टुंगो लागिसकेको र दुवै पार्टीको बैठकबाट अनुमोदन गर्दै एकता घोषणा हुने भट्टराईले बताए ।

एमाले स्थायी कमिटीको बैठक बस्नुअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा ‘वान टु वान’ वार्ता भएको थियो । दुवै पार्टीका अध्यक्षले बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए ।

पार्टी एकता घोषणा बिहीबार मदन–आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा गर्ने तयारी नेताहरूले गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने एकता घोषणापश्चात् निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भएको छ । पार्टी एकताका लागि कुनै विवाद नरहेकाले दुवै पार्टीले संयोजन समितिको निर्णयकै आधारमा एकता घोषणा गर्ने सहमति भएको हो । संयोजन समितिले विभिन्न दुई उपसमिति बनाएका थिए । जसले टुंगो लाग्न बाँकी रहेका विषयबारे  निर्णय गर्ने अधिकार दुवै पार्टीका अध्यक्षलाई दिएको थियो ।