आदर्श विवाहबाट सिक्नुपर्ने पाठ

आदर्श विवाहबाट सिक्नुपर्ने पाठ

 

नेपाली समाजमा जरा गाडेको दाइजो प्रथालाई चुनौती दिँदै राजविराजका एक प्रेमजोडीले ५०१ रूपैयाँमा विवाह सम्पन्न गरेर समाजका लागि नौलो सन्देश दिएका छन् । प्रेमपछि विवाह गरेका अंकेश यादव र प्रतिभाकुमारी यादवबीच पारिवारिक सहमतिमै ५ सय रूपैयाँमा विवाह सम्पन्न भएको छ । दाइजो दिनैपर्ने चलनमा तराई क्षेत्रका कतिपय छोरीका बाबुहरूलाई छोरीको जन्म नै तनावको विषय बन्ने गरेको छ । समाजमा दाइजोविरोधी भाषण गर्ने राजनीतिक दल, सामाजिक कार्यकर्ता र अन्य कतिपय अभियानकर्ता स्वयंले छोरीको विवाहमा दाइजो दिने र छोराको विवाहमा लिने गरिदिनाले पनि दाइजोको समस्या दिनानुदिन बल्झिँदै गएको छ ।

तराई क्षेत्रमा व्याप्त बन्दै गएको दाइजो प्रथा पहाडी क्षेत्रमा पनि उत्तिकै विकराल बन्न थालेको छ, पछिल्लो समय । नारायणघाटपारि दाइजोको समस्या विकराल बन्दै गएको छ । फरक यत्ति हो तराई क्षेत्रमा दाइजो नल्याएकै कारण हरेक वर्ष केही युवतीको निधन भएको समाचार सार्वजनिक हुन्छ भने पहाडी क्षेत्रमा दाइजो नल्याउने युवतीको हत्या भएको समाचार त्यति आउँदैन । नवलपरासी, गुल्मी, तम्घास, पाल्पा, बागलुङ, पर्वतलगायतका धेरै जिल्लामा छोरीको विवाह छिनेपछि सम्धिनीलाई तिलहरी, सम्धीलाई औंठी, ज्वाइँका दाजुभाइ, काकालाई उपहारमा एउटा औंठी सामान्य हुन थालेको छ । जन्तीलाई टीका लगाएर दक्षिणासहित बिदाइ गर्ने परम्परा सामान्य हुन थालेको छ । दाइजोको समस्या सिंगै मुलुक जकडिएको अवस्थामा एकाध व्यक्तिले २–५ सयमा विवाह गरेर मात्रै समस्या समाधान हुन्न । प्रत्येक छोराका बाबुहरूले ‘म छोराको विवाहमा सम्धीको हैसियतमा औंठी लगाउँदिनँ’ भनेर प्रण गर्नुपर्छ । कानुनले दाइजोलाई बन्देज गरे पनि व्यवहारमा दाइजोको मात्रा बढ्दै गएकोतर्फ समयमै सचेत नहुने हो भने अब पहाडी क्षेत्रमा दाइजो नल्याएकै कारण किशोरीको हत्या भएको समाचार सार्वजनिक भयो भने आश्चर्य नमाने हुन्छ । हुनखानेले ‘आफ्नै छोरी ज्वाइँलाई दिने त हो’ भन्ने प्रवृत्तिले कमजोर आम्दानी भएकाहरू मारमा परेका छन् । अन्त जानै पर्दैन, काठमाडौंमा हुने विवाहको पार्टी हेर्दा पनि धेरै विषय प्रस्ट हुन्छ ।

सहरदेखि गाउँसम्म नवधनाढ्यहरू बढ्दै गएपछि दाइजोले भयावह रूप लिएकोमा शंका छैन । ठूला व्यापारी वा उद्योगपतिका कुरा छाडौं, हाम्रा राजनीतिक दलका नेताका छोराछोरीको विवाह कति भव्य हुने गरेको छ ? त्यही हेर्दा थाहा हुन्छ । दाइजोविरोधी भाषण मात्रै औपचारिकतामा सीमित हुन थालेकोमा कुनै शंका छैन । पछिल्लो समय विवाह व्रतबन्धहरूमा गरिने फजुल खर्चले न्यून आय भएकालाई समस्यामा पारेको मात्रै छैन, भ्रष्टाचार गर्नेलाई समाजमा शान देखाउने र अकूत धन तह लगाउने मेलो पनि बनेको छ । वास्तवमै दाइजो निर्मूल पार्ने हो भने अब काठमाडौंलगायत मोफसलका सहरमा हुने विवाह पार्टीहरूमा गरिने भोजमा अतिरिक्त करको व्यवस्था गर्नुपर्छ । जसले जति धेरै निम्तालु डाकेर भोजभतेर गर्छ, उसलाई त्यति नै बढी कर तिराउने हो भने मात्रै दाइजो नियन्त्रण हुन सक्छ, अन्यथा गफको मेलोबाहेक केही बन्नेछैन ।