राजधानीकर्मी लम्साललाई पत्रकारिता सम्मान

काठमाडौं / रास– राजधानीकर्मी धु्रव लम्साललाई चलचित्र पत्रकार संघ नेपालले १९औं वार्षिक उत्सवको अवसर पारेर राजधानीमा ७ जेठमा चलचित्र पत्रकारिता सम्मान २०७५ बाट सम्मान गर्ने  भएको छ ।

चलचित्र पत्रकारिता दिवसमा पत्रकार लम्सालसहित अर्का पत्रकार दयाराम पाण्डेलाई सो सम्मान प्रदान गर्न लागिएको संघले विज्ञप्तिमार्फत जनाएको छ । २३ वर्षदेखि चलचित्र पत्रकारितालाई निरन्तरता दिएका कारण लम्साल र दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेका कारण पाण्डेलाई सम्मान गर्न

लागेको हो । यस्तै दुई दशकदेखि पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदी र विगत सात वर्षदेखि पत्रकारितामा सक्रिय सन्ध्या थापालाई जनही २१ हजार रुपैयाँसहितका ‘चलचित्र पत्रकारिता सम्मान–२०७५’बाट सम्मान गरिने भएको छ । यस्तै ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५’ यसपटक पत्रकार अञ्जान दाहाल (मनीष) लाई प्रदान गर्ने निर्णय गरेको छ ।