नाटक सप्ताहमा दर्जन नाटक मञ्चन

राजधानी समाचारदाता / काठमाडौं

 सप्ताहव्यापी नाटक उत्सव पुरस्कार वितरणसहित बुधबारबाट सकिएको छ । उत्सवमा एक दर्जनभन्दा बढी नाटक मञ्चन गरियो । काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले विद्यालयको कुञ्ज थिएटरमा एक सातादेखि नाटक सप्ताह उत्सव आयोजना गर्दै आएको थियो । उत्सवमा प्रस्तुत सबै नाटक टंक चौलागार्इंले निर्देशन गरेका थिए ।

नाटक उत्सव समापन समारोहमा अभिनेता सरोज खानालले उत्कृट अभिनेता अभिनेत्री र बालकलाकारलाई पुरस्कार प्रदान गरे । उत्सवमा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीबीच नाटक प्रतिस्पर्धा भएको थियो । नाटक भोलाबाट कक्षा ४ का बत्सल न्यौपाने र प्रज्ञा अधिकारी उत्कृट बने । त्यस्तै, कक्षा ४ कै नाटक पहेंलो बसबाट आर्याभा निरौला र आरोहण बरालले उत्कृट अभिनय गरेर दर्शकको मन जित्नुका साथै अर्वाड पनि जिते ।

नाटक उज्यालोतिरबाट कक्षा ५ का दिब्बेस पौडेल र सिबिका खड्का, त्यस्तै अर्काे नाटक रोल नम्बर ४ बाट कश्यप ज्ञवाली र आरोही पराजुली उत्कृट बने । ब्युटी इज अ बिस्टबाट कक्षा ७ का श्रीतु पहाडी र साहिन मान्नधरले अर्वाड हात पारे । चार्ली एन्ड द चक्लेट फ्याक्ट्रीबाट निलदीप नेपाल र प्रत्युषा पोखरेल उत्कृष्ट ठहरिए ।

रमेश विकलको कथा मधुमालतीको कथाबाट शीतल खरेल र सुरज न्यौपाने उत्कृष्ट भए । नाटक किताबभित्र किताबबाहिरबाट मनस्वी दाहाल र अभिनव पौडेल उत्कृष्ट भए । नाटक हिराको भोटोबाट आर्यन नेपाल र एलिना श्रेष्ठ उत्कृष्ट भए ।