प्रदीपलाई कठघरामा उभ्याउँदै रोजी सुरु

राजधानी समाचारदाता / काठमाडौं

 बालाजु स्थित नेपाल चलचित्र विकास कम्पनीमा स्टुडियोमा अदालतको सेट लगाइएको थियो । सो सेटमा बनाइएको कठघरामा एक अभियुक्तलाई बोलाइयो । ती अभियुक्तले आफ्नी प्रेमी रोजीको हत्या स्वयंले गरेको बयान दिए ।

यही दृश्य प्रस्तुत गर्दै नयाँ चलचित्र ‘रोजी’को बुधबार एनएफडीसी स्टुडियोबाट छायांकन सुरु भएको छ । यसमा रोजीको हत्यारा प्रेमीको भूमिकामा अभिनेता प्रदीप खड्का छन् । यसअघि स्केप, प्रेमगीत, प्रेमगीत २ र लिली बिलीजस्ता चलचित्र खेलिसकेका प्रदीपको यो पाँचौं चलचित्र हो । यसमा आफूले विगतका सिनेमाको भन्दा फरक भूमिका गरेको कार्यक्रममा प्रदीपले बताए ।

प्रदीपसँग रोजीमा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रवीन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरूको अभिनय छ ।

यो चलचित्रलाई निरक पौडेलले निर्देशन गर्दै छन् । राजुविक्रम थापको छायांकन, केदार भुसालको कथा, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रिशव टोट्लानीको नृत्य निर्देशन यो चलचित्रमा रहने पनि कार्यक्रममा जानकारी गराइयो ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण सुरु भएको यो चलचित्रलाई उद्धव पौडेल, आयरा पौडेल र आरोही केसीले निर्माण गरिरहेका छन् ।