आधा किलो सुनसहित पक्राउ

महेन्द्रनगर / रास– कञ्चनपुरको सिमानाका गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । एचआर १२ एएफ ०००६ भारतीय नम्बर प्लेट भएको जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा बुधबार बिहान दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालका अनुसार विशेष सूचनाका आधारमा उनीहरूलाई भन्सारकै ब्यारियलबाट पक्राउ गरिएको बताए । उनका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका सुरेश कुमार र जितेन्द्र सैनिकलाई पक्राउ गरिएको छ ।

बन्द झोलाभित्र राखेको आधा किलो सुन समातेको भन्सार कार्यालय गड्डाचौकीका प्रमुख दाहालले जानकारी दिए ।  उनले भने, ‘यो सुन तस्करीकै हो ।’ बरामद सुनको बजार मूल्य २५ लाख रहेको पनि भन्सार अधिकृत दाहालले बताए ।

गत ३१ वैशाखमा चार दिनका लागि सो गाडीको भन्सार सुविधा काटिएको छ । एक दिन म्याद नसकिँदै उक्त सवारीसाधन सुन लिएर फर्किएको भेटिएको हो ।