शैक्षिक सुधारका लागि १५ बुँदे प्रतिबद्धता

रोल्पा / रास– विद्यमान शैक्षिक समस्यालाई न्यूनीकरण गर्न रोल्पाको त्रिवेणी गाउँपालिकाका शिक्षासम्बन्धी सरोकारवालाहरूले अभियान थालेका छन् । गाउँपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूले शैक्षिक सुधारका लागि १५ बुँदे प्रतिबद्धतास्वरूप कार्ययोजना बनाएका छन् ।

विद्यालयहरूमा सिकाइ कमजोर भएका बालबालिकालाई उपचारात्मक शिक्षण तथा सिकाइको व्यवस्था गर्ने, विद्यालयमा नियमितता सुनिश्चित गर्न सहभागितामूलक हाजिरी परीक्षण गर्ने, फलोअप कार्ड, घरदैलो कार्यक्रम, पुरस्कार सम्मानलगायत अवलम्बन गर्ने, विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउने प्रधानाध्यापक र विद्यालय वयवस्थापन समितिका अध्यक्षहरूका योजना रहेका छन् ।

गाउँपालिकाका प्रमुख, शिक्षा स्रोत व्यक्तिहरूको समेतको सहभागिता रहेको विद्यालय सुधार योजना निर्माण कार्यशालामा जनाएका प्रतिबद्धताहरूमा गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न समतामूलक सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, जेठ मसान्तभित्र विद्यालय सुधार योजना गर्ने, विद्यालयमा बालक्लब गठन गरी अर्थपूर्ण बाल सहभागिता बढाउने बँुदाहरू रहेका छन् । त्यस्तै, विद्यालय व्यवस्थापन समिति र शिक्षक, अभिभावकहरूको बैठकमा अनिवार्य रूपमा विद्यार्थी, शिक्षक नियमितता र सिकाइ उपलब्धी बारेमा छलफल गरी कार्ययोजना बनाउने, आचारसंहिता निर्माण र पालना, पाठ्यक्रमअनुसार शिक्षण, ३ कक्षासम्म बसाइ व्यवस्थापन, विपत् न्यूनीकरण योजनालगायतका प्रतिबद्धता रहेका छन् ।  त्रिवेणी गाउँपालिकाका ४० वटै विद्यालयका प्रधानअध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागितामा विद्यालय सुधार योजना निर्माण कार्यशाला मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको हो ।

आधारभूत शिक्षा, बालसंरक्षण र जीविकोपार्जनका क्षेत्रमा त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा एकीकृत परियोजना सञ्चालन गर्दै आएकोमा वडा नं. २ मा ‘हामी सिक्न सक्छौं’ परियोजनासमेत सञ्चालन भइरहेको छ ।