करणीका अभियुक्तलाई कैद

भोजपुर / रास– १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक व्यक्तिलाई जिल्ला अदालत भोजपुरले नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिचन्द्र इङ्नामको एकल इजालसले षडानन्द नगरपालिका–१ नेपालेडाँडाका २८ वर्षीय दिनेश देवकोटालाई नौ वर्ष कैदसहित ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

पीडित बालिकालाई ती युवकले आफ्नो पसलमा सामान किन्न आएका बेला २१ वैशाख २०७४ बाट पटकपटक करणी गर्ने गरेको पीडित बालिकाका परिवारले दिएको उजुरीमा उल्लेख छ । पटकपटक करणीको सिकार हुँदै आएकी बालिकाले गत १५ माघ २०७४ मा आफ्नी दिदीलाई सो घटना सुनाएपछि उनीहरूले प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आरोपित दिनेशलाई मुलुकी ऐनको जबर्जस्ती करणी महलको ३(२) अनुसार ६ वर्ष तथा हाडनाता करणीको २(२) अनुसार थप तीन वर्ष गरी नौ वर्ष कैदको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।