एक वर्षमा तीन सय बढी उजुरी

नरेन्द्र कार्की / दार्चुला

जिल्ला प्रहरी कार्यालय दार्चुलामा १० महिनाको अवधिमा ३ सयबढी उजुरी परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एक वर्षको अवधिमा भएको काम कारबाहीबारे जानकारी गराइएको हो ।

जिल्ला प्रहरी प्रमुख जनकबहादुर शाहीले जिल्ला प्रहरीले वर्ष दिनमा गरेका काम कारबाहीबारे जानकारी गराएका थिए । आएका उजुरीमध्ये एक दर्जन उजुरी मात्रै दर्ता गरिएको छ । अन्य ठाडो उजुरीका रूपमा आएका कारण मिलापत्रमा टुंग्याइएको छ ।

जिल्ला प्रहरी प्रमुख शाहीका अनुसार आवश्यक कारबाही गरी पाऊँ भन्दै ७५, कुटपिटका ४२, लेनदेन २८, गालीगलौज ३५, चोरीसम्बन्धी १५, धाकधम्की १२ वटा निवेदन परेका छन् । यस्तै मानिस हराएको ५, मोबाइल हराएको ७, मोबाइल चोरी ३, शान्ति सुरक्षा गरी पाऊँ भन्ने ७, तोडफोड ६, छानबिनसम्बन्धी २, ठगी र छुवाछूतसम्बन्धी १÷१ वटा निवेदन परेका छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कुल ४३ वटा निवेदन परेका छन् । जसअनुसार ३४ वटा उजुरीमा मिलापत्र र नौवटा मिलापत्र हुन बाँकी रहेको जनाइएको छ । महिला सेलमा जातीय विभेद ३, घरेलु हिंसा २५, महिला हिंसा ५, लैंगिक हिंसाका १० वटा निवेदन परेको शाहीले बताए । महिला सेलले सातवटा घरेलु हिंसा र दुईवटा लैगिंक हिंसाका निवेदन मिलापत्र हुन बाँकी रहेको जनाएको छ । यसैगरी, यसै आर्थिक वर्षमा जातीय विभेद दुईवटा, गालीगलौज तथा झैझगडा १४ र कुटपिटका ६ वटा निवेदन जिल्ला प्रहरी कार्यालयमा आएका थिए । यसै अवधिमा प्रहरीले १० मुद्दामा ३४ जना अभियुक्तलाई पक्राउ गरी कारबाही गरेको जनाइएको छ ।

६० वटा टोल सुधार समिति गठन

नेपाल प्रहरीले जनचेतना अभिवृद्धिका लागि जिल्लाका नौवटै स्थानीय तहमा टोल सुधार समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म नौवटै स्थानीय तहमा ६० वटा टोल सुधार समिति गठन गरिएको छ । स्थानीयलाई प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन टोल सुधार समिति गठन गरिएको डीएसपी जनकबहादुर शाहीले बताए ।

डीएसपी शाहीका अनुसार महाकाली नगरपालिकामा १३, शैल्यशिखर नगरपालिमामा पाँचवटा समिति गठन भएका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा २०, लेकममा ७, मार्मामा २, नौगाडमा ३, अपी हिमालमा ४, व्यासमा २ र दुहु गाउँपालिकामा ३ वटा टोल सुधार समिति गठन गरिएको छ । यसैगरी, सामुदायिक प्रहरी सेवा केन्द्रले महाकाली नगरपालिकाका चारवटा वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । जसअनुसार महाकाली नगरपालिका वडा नम्बर १ मा ८, २ मा ३, ४ मा २१ र वडा नम्बर ५ मा १३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सात प्रहरी कारबाहीमा

जिल्ला प्रहरी कार्यालय दार्चुलाले यस आर्थिक वर्षमा सात जना प्रहरीलाई कारबाही गरेको छ । अनुशासनविपरीत काम गर्ने प्रहरीलाई नसियतस्वरूप कारबाही गरिएको डीएसपी शाहीले जानकारी दिएका छन् । प्रहरी कारबाहीमा ३ जना प्रहरी जवान, १ जना प्रहरी हवल्दार र एक जना प्रहरी सहायक निरीक्षक रहेका छन् । यस्तै, १ जना प्रहरी हवल्दारको पदोन्नती रोक्का गरिएको छ भने १ जना प्रहरी जवानलाई निलम्बन गरिएको छ ।