नमुना वडा बनाउन १० बुँदे प्रतिबद्धता

राजधानी संवाददाता / स्याङ्जा

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएका बेला जिल्लाको गल्याङ नगरपालिका–१० ले वडाको वार्षिक समीक्षा गर्दै वडालाई नमुना बनाउने घोषणा गरेको छ । वडालाई नमुना बनाउने भन्दै १० बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ ।

वडाका स्थानीयको भेलाले वडालाई नमुना वडाका रूपमा विकास गर्नका लागि विभिन्न १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीयको भेलाले घरटोललाई पूर्ण  सरसफाइ तथा सुरक्षित वातावरणयुक्त बनाउने, महिला हिंसा, झैझगडामुक्त वडा बनाउन, स्वरोजगार सिर्जना गरी ‘एक घर एक पेसा’को विकास गर्ने, मासिक रूपमा टोल सफाइमा लाग्ने, हरित वडा बनाउने, हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने, वडामा हुने विकासमा सक्रिय सहभागिता जनाउँदै विकासमा हातेमालो गर्ने, एक घर एक बैंक खातामार्फत बचतको बानी बसाउनेलगायतमा प्रतिबद्धता जनाएका छन् । सो वडामा १० वटा टोल समिति गठन गरी समितिको अगुवाइमा प्रतिबद्धतामा उल्लिखित बुँदाहरू पूर्ण रूपले पालना गर्ने व्यवस्था मिलाइएको छ ।

हरेक साता टोल समितिले टोल सरसफाइ गर्नुका साथै हरेक महिना टोल समितिले प्रतिबद्धता गरेको बुँदामाथि छलफल गर्ने र समीक्षा गर्ने व्यवस्था वडा कार्यालयले मिलाएको छ । ‘आफ्नो सरसफाइ पहिला आफैंबाट सुरु गरेपछि मात्र घरआँगन र टोल हँुदै वडालाई सरसफाइयुक्त बनाउन सकिनेछ,’ खस्कुना टोल विकास समितिका अगुवामध्ये सरस्वती बस्नेतले बताइन् । त्यस्तै, वडामा सरसफाइका आधारमा निलो र हरियो स्टिकर टाँस्ने कार्यसमेत सुरु गरिएको छ, जसले कुन टोल पूर्ण सरसफाइ छ र छैन भन्ने छुट्याउने बुझिनेछ । अहिलेसम्म गाउँघरलाई सरसफाइ गर्नुपर्छ भन्ने जिम्मेवारी थपिएको थिएन आजबाट यो जिम्मेवारी थपिएको र यसलाई पूर्ण रूपले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गछिन् अर्जाङ्दी टोल विकास समितिकी सचिव पूर्णकला पल्ली मगर ।

सबैभन्दा विकासको खुड्किलो पार गर्न चेतनाको विकास हुनु जरुरी रहेकाले यस्तो अभियानको थालनी गरेको वडाध्यक्ष ध्रुव शर्मा पंगेनीले बताए । मेलमिलापयुक्त, झगडामुक्त वडा बनाउँदै महिला हिंसामुक्त वडा बनाउने प्रतिबद्धता वडावासीले गरेका छन् । सो कार्यको कार्यान्वयनलाई आगामी वर्षमा पूरा हुने विश्वास वडाध्यक्षको रहेको छ ।