कम्युनिस्ट तानाशाही सम्भव नै छैन

कम्युनिस्ट तानाशाही सम्भव नै छैन

२०५१ सालमा गठित तत्कालीन नेकपा एमालेको सरकारका उपप्रधान तथा अर्थमन्त्री थिए, भरतमोहन अधिकारी । ‘आफ्नो गाउँ आफैं बनाऊँ’, वृद्धभत्ताजस्ता हालसम्म पनि लोकप्रिय कार्यक्रम उनकै नेतृत्वमा सुरु भयो । जुन बेला वामपन्थीले बूढाबूढीलाई गोली ठोकेर मार्छ भन्ने भ्रम समाजमा छरिँदै थियो त्यही बेला वृद्ध भत्ताको कार्यक्रम, सहकारीसहितका ‘९ स’ अभियान जस्ता लोकप्रिय कार्यक्रममार्फत उनले आफ्नो र दलीय कद उँचो बनाए । यतिबेला उनी सक्रिय राजनीतिबाट अलि पर छन् । तर, नेपालको कम्युनिस्ट आन्दोलनको प्रारम्भिक चरणदेखिका जुट र फुटका साक्षी हुन् उनी । भर्खरै दुई ठूला वाम दल मिलेर नेपाल कम्युनिस्ट पार्टीको उदय भएको छ । २००८ सालबाट निरन्तर कम्युनिस्ट पार्टीको केन्द्रीय संगठनमा बसेर काम गर्दा उनले वाम आन्दोलनका सबल र दुर्बल दुवै पक्ष देखे । पार्टी एकीकरणपछि अबको नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा र नीति कस्तो हुनुपर्छ भन्ने विषयमा उनीसँग राजधानी दैनिकका लागि सबिन शर्माले कुराकानी गरेका छन् ।

 

भरतमोहन अधिकारी, कम्युनिस्ट नेता

० एमाले र माओवादी केन्द्रबीचको एकतापछि नेपालमा कम्युनिस्ट पार्टी एक भएको छ । कस्तो महसुस गरिरहनु भएको छ ?

३ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी बनेको छ । यसबाट म निकै उत्साहित बनेको छु । २००८ मा मैले कम्युनिस्ट पार्टी प्रवेश गरेको थिएँ । मैले प्रवेश गर्दा एक रहेको पार्टी फुटेर टुक्राटुक्रा हुँदा धेरै मन दुःखेको थियो । बनारसमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दा म १६ वर्षको मात्रै थिएँ । पछि कम्युनिस्ट पार्टीमा फुटको चरम समस्या आएको थियो । बल्ल नेपालमा एउटै नेपाल कम्युनिस्ट पार्टी बनेको देखिँदा मजतिको खुसी अरू को होला र ? दुइटा पार्टी मिल्नु नै कम्युनिस्ट आन्दोलनको मूल मर्म हो । सबै कम्युनिस्ट एक भएको अवस्थामा मात्रै हामी मुलुकको विकासमा चाहेजस्तो समाज निर्माण गर्न सक्छौं । यो समाज निर्माण गर्ने अभियानमा एकीकृत रूपमा नयाँ कम्युनिस्ट पार्टी बन्दा खुसी लागेको छ ।

० एकता प्रक्रियामा अन्य कम्युनिस्ट पार्टीहरू छुटेका छन् । ती कम्युनिस्ट पार्टीलाई कसरी जोड्नुपर्छ ?

एमाले र माओवादी केन्द्र एक भएर बनेको कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हो । यो पार्टीले आफ्नो झन्डै दुई तिहाइको सरकार चलाइरहेको छ । यसो भनिरहँदा अब नेपाल कम्युनिस्ट पार्टीबाहेकका अन्य कम्युनिस्ट पार्टीलाई एकत्रित गर्ने काममा दुवै नेताहरू लाग्नुपर्छ । अबको बाटो प्रस्ट भएको छ । अब छाती ठूलो पारेर सबैलाई समेट्नुपर्छ ।
केपी ओली र प्रचण्डजीले सात महिनाअघि जुन आँट गरे, त्यसले दुई कम्युनिस्ट पार्टीलाई एक बनाउने काम गरेको छ । अन्य कम्युनिस्ट विचारधारा बोकेका पार्टीहरूलाई समेत जुटाउने र एक ठाउँमा ल्याउने काममा दुवै नेताहरूले छाती ठूलो पारेर लाग्नुपर्छ । कुनै पनि दम्भ देखाउनुहुँदैन । दम्भले नै हामीलाई सक्ने गरेको छ ।

० लामो समय कम्युनिस्टहरू विभाजित अवस्थामा रहनुको कारण के थिए ?

नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको २००६ भए पनि मैले पार्टीमा प्रवेश पाएको भनेको २००८ मा हो । पार्टी प्रवेश गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको छवि थियो, त्यो विषयमा बिस्तारै सबैले आआफ्नो कुरा राखेर पार्टीभित्र गुट चलाउने काम भयो । पार्टी सञ्चालनमा गुट रहने र त्यो गुटले दीर्घकालीन रूपमा एक अर्कोलाई स्वीकार नै नगर्ने स्थितिहरू सिर्जना भयो । त्यही कारणले नेपाल कम्युनिस्ट पार्टी विभाजनको मारमा प¥यो ।
पार्टी स्थापना भएको १० वर्ष नबित्दै पार्टीभित्र जुन गुटहरू निर्माण भए, त्यसले पार्टीलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने बाटोमा लग्यो । पुष्पलालहरूले जुन आन्दोलनका रूपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र त्यो कम्युनिस्ट पार्टीले आफ्नो आन्दोलनका रूपमा केही उतारचढाव पूरा ग¥यो । र अहिले पुनः सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेर उभिएको छ । अब म फेरि दोहो¥याउँछु, दुई नेताले दम्भ फालेर सबैलाई समेट्ने गरी अन्य कम्युनिस्ट पार्टीलाई जुटाउने काममा लाग्नुपर्छ ।

० पार्टी एकताले अबको नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला ?

कम्युनिस्ट पार्टीको एकताले नेपालको राजनीतिक गतिविधिमा नै ठूलो असर पार्न सक्ने स्थिति छ । कम्तिमा अब पाँच वर्षका लागि सरकार ढुक्क भयो । ६ प्रदेशमा एउटै पार्टीको सरकार ढुक्क भयो । देशमा राजनीतिक अस्थिरता अन्त्य भयो । कम्युनिस्ट सरकार भएकाले ढुक्कसँग मुलुकलाई समृद्धितर्फ लैजान सक्ने अवस्था बनेको छ । मुलुकको विकासमा ठूलो योगदान गर्न सक्नेछ । अब नेपालमा राजनीतिक धु्रवीकरणको लागि समेत बाटो खुलेको छ । यो एकताले पार्टीहरूबीच एक हुने र राजनीतिक विचारधारका आधारमा धु्रवीकरण गर्ने काम हुन्छ ।
राजनीतिमा जुन चलखेल थियो, त्यो अब कम हुन्छ । अब अराजकता कम हुन्छ । जसले जे गरे पनि हुन्छ भन्ने अवस्थाको अन्त्य हुन्छ । भ्रष्टाचार र कमिसनखोरीको अन्त्य हुन्छ । एउटै पार्टीको सुविधाजनक बहुमतको सरकार भएकाले विधिको शासनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सक्छ । यसमा सरकार कडाइसाथ उत्रनुपर्छ । यदि सरकारले त्यो बाटो बिर्सने हो भने फेरि समस्या आउँछ । राजनीतिक अस्थिरता हुँदा सरकार परिवर्तन भइरहने भएकाले पनि समस्या उत्पन्न भएको थियो ।
एकल सरकार भएको अवस्थामा ढुक्कले एउटै पार्टीको सरकार हुने बित्तिकै कर्मचारीतन्त्रमा रहेको अनेक खालका विकृति हट्छ । ६–६ महिनामा सरकार परिवर्तन हुने समस्याका कारण कर्मचारीतन्त्रमा विकृति छाइरहेको थियो । कर्मचारीहरूमा पनि जेजस्तो गरे पनि केही फरक नपर्ने भावना थियो । उनीहरूले राजनीतिक नेतृत्वको कुरै सुन्दैन थिए । अब कर्मचारीतन्त्रमा सुधार, मुलुकमा मौलाइरहेको भ्रष्टाचार निर्मूल पार्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर काम थाल्नुपर्छ ।

० नेपालका कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रिय समुदायले कसरी हेर्दै आएका छन् ? अब कस्तो परिवर्तन हुन सक्छ ?

नेपालको कम्युनिस्ट पार्टीलाई एउटा ठूलो आन्दोलनका रूपमा लिइएको छ । अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई आन्दोलनका रूपमा नै हेर्ने गरेको थियो । विशेष गरी नेपालको कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा पनि फुट गराउने भूमिकामा अन्तर्राष्ट्रिय समुदाय लागेको पाइन्छ । नेपालको राजनीतिमा अस्थिरता ल्याउने र आफ्नो कुरा नेपालमा प्रयोग गर्ने थलोका रूपमा उनीहरूले लिँदै आएका थिए । अब त्यस्तो दिनको बिलकुल अन्त्य भएको छ । विदेशी शक्तिले नेपालको कम्युनिस्ट पार्टी एक हुँदा यहाँ गर्ने चलखेलको विषयमा हामी सचेत पनि छौं ।
राजनीतिक रूपमा पनि यो पार्टी एकताले नयाँ संस्कार स्थापना गर्ने विश्वास गरिएको छ । राजनीतिक रूपमा सुधार ल्याउँछ । दुई पार्टी एकताले समाजमा परिवर्तन गर्न सक्छ । यसलाई बहुआयामिक फाइदा पुग्छ । एउटै पार्टीको सरकार नभएको र राजनीतिक अस्थिरता कायमै भएको अवस्थामा मुलुकमा संघीयता कार्यान्वयनमा नै समस्या उत्पन्न हुने स्थिति थियो । त्यो डर टरेको छ । अब अन्तर्राष्ट्रिय समुदायले पनि पाँच वर्षसम्म एउटै पार्टीको सरकारसँगको समन्वयमा काम गर्न पाउनेछन् । राजनीतिक अस्थिरताको सिकार बन्नुपर्ने छैन । यसले उनीहरूलाई समेत फाइदा पुगेको छ । ढुक्कले एउटै पार्टीसँग पाँच वर्षसम्म काम गर्न पाउने अवस्था सिर्जना भएको छ ।

० अब कम्युनिस्ट पार्टीको सरकार कसरी अगाडि बढ्नुपर्छ ?

पहिलो कुरा त राजनीतिक अस्थिरता भएका कारण मौलाएको कमिसनखोरी, विकृति विसंगति र भ्रष्टाचार अन्त्यका लागि संकल्पका साथ काम गर्नुपर्छ । पार्टी एकताका क्रममा प्रचण्डजीले पनि भन्नुभएको थियो । हामीभित्र नै समस्या उत्पन्न भएका छन् । हामी आफैं आफ्नो हित हेरेर काम गरिरहेका छौं । त्यसको अन्त्य गर्नुपर्छ । पहिलो कम्युनिस्ट आन्दोलनका रूपमा लागेका हामी अहिले सत्तामा पुग्ने बित्तिकै सत्ताका लागि हानथाप गरिरहेका छौं । पार्टीमा लागेपछि नेता कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ । तर त्यसको नाममा हामीले राज्यको ढुकुटीमा आँखा गाड्नुहुन्न ।
मुलुकमा सुशासन र विकासका लागि कम्युनिस्ट पार्टीका नेतामा जिम्मेवारी थमिएको छ । अब दम्भ देखाउने होइन । अब त नरमपन देखाउने बेला आएको छ । सबैभन्दा ठूलो पार्टी भएकाले पनि आफूले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । नेपालमा कांग्रेस पनि ठूलो शक्ति हो । कांग्रेसले पाएको मतलाई हेर्ने हो भने पनि हामी सरह नै ऊ पनि छ । उसले अहिले मन खुम्च्याएको छ । हामीले उसलाई पनि साथ र सहयोग माग्दै, सल्लाह लिँदै काम गरेको अवस्थामा अहिलेको सरकार सफल सरकारका रूपमा लिन सक्छौं । एउटै पार्टीको सरकार भएकाले यो अवधिमा धेरै जनताका काम हामीले गर्न सक्छौं । त्यसतर्फ अहिलेको सरकार लाग्नुपर्छ ।

 कम्युनिस्ट पार्टी एक हु“दा म जतिको खुसी को होला ?
 अन्य कम्युनिस्ट पार्टीलाई समेत एकतामा ल्याउन दुवै नेताले छाती ठूलो पारेर लाग्नुपर्छ 
दम्भ होइन, शालीनता देखाउनुपर्छ 
 व्याप्त चरम अराजकता हटाउ“दै सुशासनका लागि सरकार कडाइसाथ उत्रनुपर्छ 
 संघीयताको भविष्य खतरामा पर्ने डर टरेको छ 
 कम्युनिस्ट नेता कार्यकर्तामा अध्ययनशीलता नै गुमेको छ 
 सबैभन्दा पहिले आफैंभित्र रहेका भ्रष्टाचारीलाई कारबाही गर्न सक्नुपर्छ

० अब कुन उद्देश्य बोकेर सरकारले काम गर्ने त ?

अहिलेको कम्युनिस्ट पार्टीको सरकारले सबैलाई समेट्ने र सबैको भावनालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्छ । मुलुकको विकासका लागि हामीले छिमेकी र नेपालको हित चाहने अन्तर्राष्ट्रिय जगतको सहयोग जुटाउन सक्छौं । आफू ठूलो दल भएको भन्दै अन्यलाई बेवास्ता गर्ने हो भने समस्या उत्पन्न हुन सक्छ । आगामी पाँच वर्षमा यो सरकारले जनताको पक्षका काम गर्ने र नयाँ युग ल्याउने काममा यो सरकारले भूमिका खेल्नुपर्छ ।
विगतमा पार्टी फुटको घटनाले पनि हामी धेरै पछि परिसक्यौं । अब एकजुट भएर अगाडि बढ्ने प्रेरणा मिलेको छ । मुलुकको समृद्धिका लागि सबैको साथ सहयोग लिनुपर्छ । प्रतिपक्षको धर्म नै सरकारको गतिविधिको विरोध गर्ने र सरकार गिराउने हो । तर, अहिले त प्रतिपक्षले पनि मुलुकको समृद्धिको नारा नै अघि सारेको छ । यो समृद्धिको नारालाई पूरा गर्ने बाटोमा प्रतिपक्षलाई साथमा लिएर जान सकेको अवस्थामा सरकार सफल हुनेछ ।

० फेरि पनि कम्युनिस्ट पार्टीमा विभाजन आउँदैन भनेर कसरी ढुक्क हुन सकिन्छ र ?

नेपाल कम्युनिस्ट पार्टी एकतालाई धेरैले आशंका गरेका छन् । कम्युनिस्ट पार्टीमा लागेको ६५ वर्षको अवधिमा हामीले फुट र विभाजन थुप्रै सामना गर्नुप¥यो । पार्टी भूमिगत अवस्थामा रहँदा देखिने फुटले कस्तो असर पार्दो रहेछ भन्ने धेरैले अनुभव गरेका छन् । अहिले एकतापछि बनेको कम्युनिस्ट पार्टीभित्र पनि फुट आउँछ कि भन्ने आशंकन आउनु स्वाभाविक हो । यस विषयमा भने मैले अलि फरक ढंगले बुझेको छु ।
विगतमा जसले जुनजुन कालखण्डमा पार्टी विभाजन गरेर आए, पछिल्लो समयमा त्यही पार्टीमा विभाजनको समस्या झाँगिँदै गयो । यस्तो परिस्थितिमा अहिले कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका र शीर्ष नेताहरू विभिन्न कालखण्डमा पार्टी विभाजन गर्ने÷जुटाउने अभ्यासमा लागेकै नेताहरू हुनुहुन्छ । उहाँहरू पार्टी विभाजनको मार कस्तो हुन्छ र पार्टी विभाजनले देश र जनतालाई समेत कति क्षति हुन्छ भन्ने विषयमा भुक्तभोगी नै हुनुहुन्छ । यही मर्म बुझेकाले पनि अब पार्टी फुट्दैन भन्नेमा म ढुक्क छु ।

० कम्युनिस्ट पार्टीभित्रका अहिलेका कमजोरी अर्थात् विकृति केके हुन् ?

हामीले विगतमा विभिन्न आन्दोलन ग¥यौं । मुलुकको विषयमा योगदान पनि पु¥यायौं । हामी सधैं सफल हुँदै गयौं, तर हामीमा अनेक खालका कमीकमजोरीहरूको पनि विकास हुँदै आयो । पार्टीमा विकृति मौलायो । हाम्रो अध्ययनशीलता नै गुम्यो । यो पहिलो विकृति हो । सुरु सुरुमा कम्युनिस्ट भएपछि पढिन्थ्यो, पढाइन्थ्यो पनि । अहिले त हामी कसैको कुरा सुनेको भरमा नै पुग्ने भयो । हामीले गफ सुनेरभन्दा पनि सिद्धान्त र विश्व राजनीतिको विषयम अध्ययन ग¥यौं भने मात्रै सफल हुने हो । यसकारण सबैतिर अध्ययन नगर्ने जुन विकृति मौलाएको छ, त्यसलाई निमिट्यान्न पार्नुपर्छ ।
अर्को कुरा हामीमा आर्थिक आशक्ति बढेको छ । पैसामा कमजोरी आएको छ । अहिले खुला समाज छ र खर्च बढी हुने गर्दछ । राजनीति गरेर त्यसैबाट हामीले पैसा कमाउने उद्देश्य लियौं, त्यो गलत हो । हामीले कसैलाई ‘यो काम गरिदिन्छु, यसबापत यति लाग्छ’ भन्दै पैसा लिने काम गर्ने ग¥यौं । यो ठूलो भ्रष्टाचारको रूप हो । यो रूप तत्कालीन एमालेभित्र पनि थियो । यसले पार्टीलाई कमजोर बनाउने र पार्टीमा गुटको विकास गर्ने काममा भूमिका खेलेको थियो । अब त्यसको अन्त्य हुनुपर्छ । नेता कार्यकर्तालाई चल्नका लागि छुट्टै व्यवसाय सञ्चालन गर्न राज्यबाट सहयोग लिनु राम्रो हुन्छ । तर राज्यलाई देखाएर ठगी गर्ने काम भने बन्द गरिनुपर्छ । पैसाको आशक्ति हामीले हटाउनुपर्छ । भ्रष्टाचार मौलाउने काममा राजनीतिक दलको मुख्य भूमिका हुने गरेको छ ।
भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको भेटिएमा हामीले आफूभित्रै रहेकालाई सबैभन्दा पहिले कारबाही गर्न सक्नुपर्छ । कम्युनिस्ट पार्टीभित्र नै आर्थिक लाभका लागि जे पनि गर्ने प्रवृत्ति मौलाएको प्रचण्डजीले पनि एकताको क्रममा भन्नुभएको छ । हामीले हामीभित्र रहेका यस्ता विकृतिलाई नियन्त्रण गर्ने सवालमा विशेष पहल गर्नुपर्छ । पार्टीभित्रका विकृति विसंगतिको विषयमा हामी कुरा उठाउँछौं, तर समाजमा पार्टीभित्रैका नेता कार्यकर्ता मुख देखाएर हिँड्न नहुने अवस्थामा पुगिसकेका छन् । कम्युनिस्ट पार्टीका लागि यो अत्यन्त गम्भीर विषय हो ।

० पार्टीभित्रको गुटबन्दीको समस्या कसरी समाधान हुन्छ ?

अझ विकृतिका रूपमा हामीकहाँ व्यक्तिकेन्द्रित हुने समस्या बढी हुन थाल्यो । पार्टीमा लाग्दा पार्टी, जनता, मुलुकको सेवा गर्ने उद्देश्य लिइएको हुन्छ । अहिले त कसरी फाइदा हुन्छ भन्ने सोचाइ राखेर आफू केन्द्रित हुने गरिएको छ । अर्को कुरो गुटबन्दी गर्ने काम भएको छ । यो कुरालाई हामीले सचेत भएर लाग्नुपरेको छ । पार्टीभित्र तलदेखि केन्द्रसम्म गुटबन्दीको समस्या उत्पन्न भयो । यो समस्या अबको कम्युनिस्ट पार्टी ती कुरालाई त्याग गरेर अघि बढ्ने गरी प्रण गर्नुपर्छ । कम्युनिस्ट पार्टीभित्रकालाई अझ आफू नजिकको नेता कार्यकर्तालाई मात्रै अवसर दिने जुन कुरा मौलाएको छ, त्यो विकृति हाटाउनुपर्छ ।
पार्टीभित्र त्यो पनि आफ्नो पक्षका नेतालाई मात्रै सहयोग गर्ने जुन प्रवृत्ति मौलाएको छ, यो ठूलो समस्या हो । हामीले आफ्नो पार्टीभित्रकालाई कसरी अवसरमा सरिक गराउने भन्ने विषयमा मापदण्ड बनाएर जान सक्छौं । अझ भन्नुपर्दा जनता कम्युनिस्ट पार्टीभन्दा बाहिर पनि छन् भन्ने कुरा हामीले बिर्सनुहुँदैन । त्यसैले, सबै जनताको हित हुने गरी सबैलाई अवसर दिने गरेर सरकार र पार्टी अगाडि बढ्न सकेमा हामीले आगामी पाँच वर्षमा केही उपलब्धिपूर्ण काम अवश्यक गर्न सक्छौं ।
गुटबन्दी अन्त्य गर्नका लागि माथिका नेताहरूले सबै नेताको योग्यता क्षमता र इतिहास हेरेर मूल्यांकन गर्नुपर्छ । हामीसँग भएका सफलताका कुरालाई मात्रै हामीले लिने हैन । हामीले भोगेका असफलताका कुरा पनि छन्, यसलाई पनि पाठ सम्झेर अगाडि बढ्नुपर्छ र गुटको राजनीति सबैले त्याग गर्नुपर्छ ।

० केन्द्र र ७ मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार भएकाले कम्युनिस्ट पार्टीले मुलुकमा तानाशाही बढाउँछ भन्ने पनि चर्चा छ । के यो सम्भव छ ?

कम्युनिस्ट तानाशाही सम्भव नै छैन । आजभन्दा २५ वर्ष अघि नै हामीले नेपालमा बहुदलीय व्यवस्था मानेर समाजवादको सिद्धान्तमा रहेर अघि बढ्ने सिद्धान्त बोकेको पार्टीमा अधिनायकवाद हुनै सक्दैन । यो त प्रतिपक्षले विरोधका लागि विरोध गर्नका लागि विषय मात्रै हो । हामीले भोगेको कुराले पनि त्यो सम्भव छैन भन्ने स्पष्ट पारेको छ ।
कांग्रेसले अहिले विरोध गर्ने एजेण्डा पाएका छैनन् । बरु पार्टीका कमीकमजारी खोजेर विरोधको एजेण्डा तय गर्न सल्लाह दिन्छु । विरोधका लागि विरोधभन्दा पनि प्रतिपक्षले रचनात्मक प्रतिपक्षको भूमिका रहेको अवस्थामा मात्रै मुलुकको समृद्धि सम्भव छ । त्यसतर्फ जानुपर्छ ।

० संविधान संशोधनको विषयमा तपाईको धारणा कस्तो छ ?

संविधानले नै संविधान संशोधनको व्यवस्था गरेको छ । मधेसका साथीहरूले उठाउँदै आएको विषयमा हामीले साथ दिएकै छौं । अहिलेको अवस्थामा तत्कालै सम्बोधन गर्नसक्ने विषयमा अहिले संशोधन गर्ने र अन्य विषयलाई विस्तारै संशोधन गर्दै जाने गरी अगाडि बढ्नुपर्छ ।
मधेसले पहाडलाई र पहाडले मधेसलाई हेर्ने दृष्टिकोणमा नै केही कमजोरी छन् । त्यस्ता कमजोरीलाई सच्याएर अघि बढ्नु आवश्यक छ । हामीले एक आपसमा भाइचाराको सम्बन्ध राख्न नसक्दा समस्या उत्पन्न भएको देखिन्छ । मेधेसी केन्द्रित दलका नेतासँगको संवादलाई जारी राख्नुपर्छ । त्यो बाटोमा हामी जुट्यौ भने सफल पनि हुनेछौं ।

० अन्त्यमा, सरकारको नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ ?

सरकारको नीति कार्यक्रमको आधार भनेको नै जनताको बीचमा वाचा गरेको निर्वाचन घोषणापत्रमा समेटिएका विषयलाई नै लिनुपर्छ । निर्वाचनको क्रममा गरिएका प्रतिबद्धताहरू हामीले पूरा गर्नुपर्छ । चुनावमा घोषणा गरेको कुरालाई बिर्सनु हुँदैन । हामीले आफूले चुनावमा राखेको घोषणापत्रसँगै अन्य राजनीतिक दलले उठाएको मुलुक समृद्धिको सहयोगी बन्ने कार्यक्रम समेट्नुपर्छ ।
निर्वाचनको क्रममा गरिएको प्रतिबद्धतालाई कार्यान्वयनका लागि हामी जुट्यौं भने सफल हुन सकिन्छ । मुलुकको विकासका लागि सबैको सहभागितालाई सनिश्चित गर्नुपर्छ । सबैलाई समेटेर मुलुकको स्रोत साधनको उपभोग गरेर सबैलाई निर्णयमा सहभागि गराएर जाने गरी एउटा राष्ट्रिय घोषणा पत्रकोरुपमा सरकारको नीति तथा कार्यक्रम बन्नुपर्छ । आम जनताले महसुस गर्ने गरी उनीहरूको जीवनस्तर सुधार्ने खालको नीति तथा  कार्यक्रम बन्नुपर्छ ।