डेनमार्कमा एक नेपाली सामाजिक अभियन्ताको स्मरण

– प्रकाश सापकोटा
डेनमार्कको नेपाली समाजमा सामाजिक, सांस्कृतिक, खेलकुद र सिर्जनात्मक क्रियाकलापमा अग्रणी भूमिका खेल्दा खेल्दै अल्पायुमा असामयिक निधन भएका तात्कालिन प्रवासी नेपाली मंचका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई बुधबार उहाँको प्रथम स्मृति दिवसमा कोपनहेगनमा स्मरण गरियो।
प्रथम वार्षिक स्मृति दिवसकै दिन पौडेलले बिबिध क्षेत्रमा पुर्याएउनु भएका योगदानको पुन: स्मरण गरियो। प्रवासी नेपाली मन्च, डेनमार्कका अध्यक्ष शिव चापागाईंको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम स्व. पौडेलको स्मृतिमा एक मिनेट मौन धारण गरी आरम्भ गरिएको थियो। गत वर्ष २३ मेका दिन ब्रेन ट्युमर जस्तो घातक रोगका कारण ४३ वर्षीय सक्रिय जीवन अल्पायुमै बिसाउनु भएका स्व. बिष्णु पौडेलको तस्वीरमा उपस्थित सबैले माल्यार्पण गरेका थिए।
स्व. पौडेलका राजनैतिक, सामाजिक, साहित्यिक, खेलकुद लगायतका क्षेत्रमा सक्रियता र वहाँको बहुआयमिक पक्षको चर्चा गर्दै एनआरएनए डेनमार्कका अध्यक्ष यमलाल सुबेदी, पूर्व अध्यक्ष दिपक सापकोटा, अन्तरराष्ट्रिय समन्वय समिति सदस्य कुलराज शर्मा, इनास डेनमार्कका महासचिव, कृष्ण सुबेदी, नेपाली जनसम्पर्क समिति डेनमार्कका प्रतिनिधि रामचन्द्र पाठक, जनप्रगतिशील मंच डेनमार्कका पूर्व अध्यक्ष गणेश ढकाल, प्रवासी नेपाली मंचका युरोप प्रतिनिधि घनश्याम गौतम, डेनमार्कको स्थानीय राजनीतिमा सक्रिय नेपाली युवा हरि न्यौपाने लगायतले स्व. पौडेल चीर स्मरणीय व्यक्तित्व भएको र उहाँका प्रेरणादायी कदमहरुको अनुसरण गर्नुपर्ने बताए।

स्मृति ग्रन्थ सार्वजनिक:

सोही दिन स्व. पौडेलको संस्मरणमा प्रकाशित स्मृति-ग्रन्थ ‘स्व. बिष्णु पौडेल स्मारिका’ लोकार्पण पनि गरिएको थियो। स्व. पौडेलका बहुआयामिक पक्षबारे चर्चा गरी उहाँ बारे जानकार, आफन्त र परिवारका सदस्य समेतले लेखेका स्मृतिलेख, उहाँले रचना गर्नुभएका केहि सिर्जनाहरु, शोक पुस्तिकामा अभिव्यक्त शोकभाव, उहाँ सम्बद्ध तस्वीरहरु सहित संग्रहित १ सय २८ पृष्ठको स्मारिका कार्यक्रममा उपस्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले सामुहिक रुपमा सार्वजनिक गर्नुभएको थियो। प्रवासी नेपाली मंचका पूर्व अध्यक्ष कृष्ण पौडेल प्रधान सम्पादक, उपाध्यक्ष दिपक पाण्डे प्रबन्ध सम्पादक र मंचका पूर्व संयोजक सुशील घिमिरे प्राबिधिक सम्पादक रहेको ग्रन्थमा स्व. पौडेल सम्बन्धि २६ लेख रचना समावेश छन्।
स्मारिका र त्यसमा संग्रहित लेख-रचनाबारे डेनमार्कका सामाजिक अभियन्ता प्रभात किरण, जनप्रगतिशिल मंच डेनमार्कका संस्थापक उदयराज गौतम, प्रकाश सापकोटा लगायतले समिक्षा गरेका थिए। स्मारिका प्रकाशित गर्ने सोच तथा सो तयार गर्ने क्रममा आइपरेका अवस्थाहरुबारे ग्रन्थका प्रधान सम्पादक कृष्ण पौडेलले प्रष्ट पारेका थिए।
कोपन्हेगनस्थित नेपाली दुतावासबाट कारणबश: आतिथ्य ग्रहण गर्न उपस्थित हुन नसकेको कारणसहित आयोजकलाई प्राप्त इमेल पढेर सुनाइएको सभालाई मंचका महासचिव कृष्ण धनुष्कले संचालन गरेका थिए।