प्रशिक्षक जिदानद्वारा रियल म्याड्रिड क्लब छोड्ने निर्णय

म्याड्रिड, स्पेन, १७ जेठ । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गर्नुभएको छ । रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गर्नुभएको हो । उहाँको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो ।

एक्कासी गरिएको प्रेस सम्मेलनमा उहाँले भन्नुभयो, “मैले रियल म्याड्रिडको प्रशिक्षकका रूपमा अर्को वर्ष निरन्तरता नदिने निर्णय लिएको छु । तीन वर्षपछि मैले अर्को बाटो अर्थात् काम गर्ने अर्को शैली अपनाउनुपर्छ ।” क्लबले पनि आफ्नो स्तरीय प्रदर्शनका लागि नयाँ रणनीति अपनाउनु पर्छ । यो फरक व्यक्तिको प्रयासबाट सम्भव हुनेछ ।

सम्मेलनमा उहाँले प्रशिक्षणका लागि तत्काल अर्को फुटबल समूह नखोजेको प्रतिक्रिया दिनुभयो ।