नौमती बाजा संरक्षणमा गुरुङ समुदाय

नौमती बाजा संरक्षणमा गुरुङ समुदाय

कृष्ण ‘विदुखी’ गौतम

दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुन लागेको भन्दै म्याङलुङ नगरपालिका हरिसेका गुरुङ समुदायहरू बाजा संरक्षणमा जुटेका छन् ।
बाजा बजाएकै कारण आफूहरू अन्य समुदायबाट अपहेलित भएको भन्दै गाउँका दलित समुदायले परापुर्वकालदेखि पेसाका रूपमा बजाउँदै आएका यी बाजा बजाउन छाडेपछि तिनै बाजाहरू संकलन गरेर यहाँका गुरुङ समुदायले संरक्षण गर्न थालेका हुन् ।
विशेष गरेर शुभ कार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छोडेपछि गाउँघरमा आयोजना गरिने यस्ता कार्य सुनसान बन्न थालेका थिए । पञ्चे र नौमती बाजा बजाएर गरिने विवाह पछिल्लो समय बाजाको अभावमा खल्लो हँुदै  आएका थिए ।
‘लोपोन्मुख लोक बाजाको संरक्षण गर्न संरक्षण अभियान थालेका हौं,’ संरक्षण कार्यमा लागेका स्थानीय अगुवा ललितबहादुर गुरुङले बताए । ‘यो कार्यले समाजमा रहेको जातीय विभेद अन्त्य गर्न पनि सहयोग पु¥याएको छ ।’ उनकै पहलमा गाउँभरिका गुरुङ समुदायले यी बाजाको संरक्षण गर्ने प्रयास थालेका हुन् ।
गाउँमा रहेका ३० जना बढी गुरुङ समुदायका परिवार अहिले घरका सारा काम थाती राखेर दलितले बजाउने पञ्चे र नौमती बाजासमेत संकलन गरेर बजाउने काममा व्यस्त छन् । गुरुङ समुदायले विगत तीन वर्षदेखि गाउँघरमा हुने विवाह पञ्चे र नौमती बाजा बजाएर उतारिरहेका छन् । अब बाजा बजाउनकै लागि भनेर दलित समुदायलाई गुहार्नु नपर्ने मन्दिप गुरुङको भनाइ छ ।


बाजा बजाउँदा अन्य समुदायका व्यक्तिले दलित भनेर अपहेलना गरेको भन्दै जिल्लाभरका दलित समुदायले पछिल्लो समय अन्य जातिको शुभकार्यमा समेत बाजा बजाउन छोड्दै गएका छन् । केही वर्ष अघिसम्म यहाँका दलित समुदायका व्यक्तिले गाउँभरिका विवाह, पूजाआजा, व्रतबन्ध, पुराण, असारे रोपाइँलगायतका शुभकार्यमा पञ्चे, नौमती तथा बेठीलगायतका बाजा बजाएर रमाइलो गर्दथे । तर, अहिले दलित समुदायले छोडेको यो पेसा गाउँभरका गुरुङ समुदायले सम्हालेका वडा अध्यक्ष नारायण आचार्य बताउँछन् ।
सुरुमा गाउँका केही पढेलेखेका र लोकबाजा रुचाउने दुई चार जना गुरुङ समुदायले मिलेर सुरु गरेको बाजा बजाउने अभियानमा अहिले गाउँभरिका सासू, बुहारी र छोरीहरू समेतले साथ दिएका छन् ।
‘प्रत्येक घरका छोरी बुहारीले बाजा बजाउन सिकिसकेका छन्,’ बाजा बजाउने कार्यमा संलग्न स्थानीय नवीन गुरुङले जानकारी दिए ।
‘बाजा बजाउँदैमा दलित भइन्छ जस्तो हामीलाई लाग्दैन,’ उनले भने । नेपालीको मौलिक चिनारीका रूपमा रहेको पञ्चे र नौमती बाजा दलित जातिले बजाउन छोडेपछि यसको अस्तित्व नै मेटिन लागेकाले संरक्षणका लागि गाउँभरिका गुरुङ समुदाय संगठित भएर लागेको उनले बताए । बाजाको संरक्षणका लागि गाउँभरिका गुरुङ समुदाय मिलेर बाजा खरिद गरेका हुन् ।

दलित समुदायले फ्याँकेका बाजा किनेर गुरुङ समुदायले संकलन गरेका छन् । नरसिंहा जिल्लामा नपाइएकाले संखुवासभाको चैनपुरमा पुगेर खरिद गरेर ल्याइएको छ । यसरी संगठित भएका गुरुङ समुदायले सहनाई, झ्याम्टा, दमाहा, ढोलकी, मादल, नरसिंहा, नगरा, ट्याम्को लगायतका बाजा खरिद गरेर ल्याएका छन् । अहिले गाउँभरिका अन्य ब्राह्मण परिवारका युवायुवती तथा बुढापाकाहरूलाई यी बाजा बजाउने तालिमका साथमा प्रशिक्षणसमेत दिइरहेको छ । दलित समुदायले छोडेको काम गुरुङ समुदायले सम्हालेको भन्दै अहिले जिल्लाभर चर्चा छ ।
गाउँभरिका गुरुङ समुदाय घरको सारा काम थाती राखेर प्रत्येक दिन दुई घण्टा यी बाजा बजाउने तालिम लिइरहेका छन् । सिक्न आउने सबैलाई स्थानीय ललितबहादुर गुरुङले आफ्नै घरमा सबै प्रकारका बाजा बजाउन सिकाउँछन् । गुरुङ समुदायका परिवार दलितले बजाउने सबै प्रकारका बाजा बजाउन माहिर छन् ।
गुरुङ समुदायका बस्ती प्रत्येक दिन पञ्चे र नौमती बाजाले गुन्जायमान हुन थालेपछि वारिपारिका गाउँका बासिन्दाहरू रमाइलो मानेर हेर्न आइरहेका छन् । पहिलो पटक हेर्न आउनेहरूले गुरुङ समुदायले बाजा बजाएको देखेर अनौठो मानेर हेर्ने गर्छन् । गाउँका यी गुरुङ समुदायले बाजा मात्र बजाउँदैनन्, हेर्न आउने जति सबैलाई नाच्न लगाउँछन् ।
गाउँगाउँमा छरिएर रहेका लोकबाजा, लोकसंस्कृति, लोकनृत्यलगायतका कलाको संरक्षण र जगेर्ना गर्न राज्यले सहयोग गर्नु पर्नेमा कहीँ कतैबाट सहयोग नपाएकोमा भने गुरुङ समुदाय दुःखी छन् । जातीय रूपमा पक्षपाती रहेको समाजलाई चुनौती दिएर गरिएको यो कामका लागि सरकारसँग बाजा खरिद गर्न केही आर्थिक सहयोग गरिदिन समेत उनीहरूले माग गरेका छन् । आफ्नो गाउँ र समुदायलाई लोकसंस्कृतिको विविध चिनारी बोकेको थलोका रूपमा चिनाउने अभियानमा गाउँका सबै गुरुङ समुदायहरू लागेका हुनाले आगामी साल केही रकम छुट्ट्याउन पहल गर्ने वडाध्यक्ष आचार्यले बताए ।