मेरो मनमा लुकेका स्रष्टा प्रेम छोटा

मेरो मनमा लुकेका स्रष्टा प्रेम छोटा

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

म साहित्यको यात्रामा बुझेर हिँड्न थालेको धेरै भएको थिएन । त्यो समय आजको जस्तो यातायात र सञ्चारले सुविधासम्पन्न पनि त थिएन । म जन्मेको पश्चिम दक्षिणी स्याङ्जाबाट बागलुङ निकै टाढा थियो त्यति बेला तर तत्कालीन धवलागिरि अञ्चलभित्रको एउटा नाम चलेको जिल्ला थियो त्यो अर्थात् बागलुङ । त्यतैबाट बग्दै आएको त हो कालीगण्डकी मेरो गाउँमा पनि । हो, यही कालीगण्डकीले भने हामीलाई जोडेको थियो र अहिले पनि जोडेकै छ । मैले विक्रमको तीसको दशकको प्रारम्भमै प्रेम छोटाको नाम सुनेको थिएँ । पछि अरू दुईवटा दुई शब्दे प्रेमनामी स्रष्टाहरू मेरो मस्तिष्कीय चित्रफलकमा टाँसिए । यसपछि अर्का प्रेम पनि थपिए यस फेहरिस्तमा । सुरुका तीनजना हुन्– मध्य नेपालका प्रेम छोटा, मध्यपश्चिम नेपालका प्रेम कैदी र सुदूरपूर्वी नेपालका प्रेम ओझा । अनि पछि थपिएका प्रेम हुन् मध्य नेपालकै प्रेमविनोद नन्दन । पाँचथरका प्रेम ओझा मेरा समकालीन स्रष्टा मित्र हुन् । अलि बढी टाढाका भए पनि यिनीसँग साढे दुई दशकदेखि पटकपटक भेटघाट भइरहेको छ ।

बागलुङका प्रेम छोटा मेरा अग्रज हुन् । यिनीसँग पनि पटकपटक साक्षात्कारको अवसर मिलिरहेकै छ । बन्दीपुरे तर पछि नारायणघाटका स्थायी बासिन्दा बन्न पुगेका प्रेमविनोद नन्दन पनि अग्रज नै हुन् । यिनीसँग सबैभन्दा ज्यादा भेटघाट भइरहन्छ । कर्णालीका प्रेम कैदीसँग भने साक्षात्कार हुने अवसर अहिलेसम्म प्राप्त भएको छैन । यिनलाई रचनाका माध्यमबाट पनि भेट्न नपाएको धेरै भयो ।
प्रेम अर्थगत दृष्टिले भाववाचक नाम हो । साहित्य र कलाका क्षेत्रमा अत्यन्त चर्चित र प्रिय शब्द मानिन्छ यो । सन्त कवीर दासले ईश्वरभक्तिका सन्दर्भमा प्रेमको महिमागान गरेका छन् एउटा पद्यमा । प्रेमबारे नलेख्ने कविलेखकहरू विरलै भेटिन्छन् । यही भाववाचक नामका रूपमा कोशीय अर्थ वहन गर्ने प्रेम शब्दलाई व्यक्तिवाचक नामका रूपमा पनि निकै प्रयोग गरेको पाइन्छ ।

म अहिले मेरा अग्रज स्रष्टा प्रेम छोटाका बारेमा लिखित भाषामा केही बोल्न उपस्थित भएको छु यहाँ, लामोमा होइन, छोटोमा नै । प्रेम छोटाका ७० वसन्त नामक ग्रन्थमा पनि मैले लेख्ने अवसर नपाएको होइन तर यथासमयमा लेख्न भ्याइनँ र पछुतो मनमा रहिरहेको अवस्था थियो । त्यस पश्चात्तापबाट मुक्ति खोज्ने सिलसिलामा यस अवसरलाई उपयोग गर्दै छु जस्तो लाग्दै छ । प्रेमनामी नेपाली स्रष्टाहरूमध्ये नामले मैले चिनेका पहिलो स्रष्टा प्रेम छोटा नै हुन् । जात र थरले यी के हुन् भन्ने मलाई थाहा थिएन ।
तर, छोटा यिनको साहित्यिक उपनाम हो भन्ने अनुमान भने सुरुमै लगाएको थिएँ । छोटा मूलतः सानो वा कान्छो अर्थ बुझाउने हिन्दी शब्द हो । नेपाली एकवचनमा यसलाई छोटो भनिन्छ र यसले अग्लोको ठीक विपरीत यद्वा उल्टो होचो भन्ने अर्थ द्योतन गर्दछ । प्रेम दाइसँग साक्षात्कार नहुँदासम्म मलाई लागिरहेको थियो, पक्कै पनि यी मान्छे होचो कदका छन् । भेटेपछि मात्र थाहा भयो कि यी त मैले कल्पना गरेभन्दा निकै अग्ला पो रहेछन् । हो, प्रेम छोटा छोटा होइन, अग्ला रहेछन् लेखन र शरीर दुवै दृष्टिले ।

यिनको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो भन्ने कुरा मैले धेरै पछि मात्र थाहा पाएको हुँ । सुरुसुरुका भेटघाटमा सोधिएन पनि । पछि यिनका बारेमा लेखिएका आलेखबाट जानकारी प्राप्त भएको हो मलाई । यिनले आफ्नो उपनाम छोटा आफंैले चयन गरेका पनि होइन रहेछन् । यसको पनि एउटा पृष्ठभूमि वा कारण रहेछ । मनोमानी नामक नाटकमा बालपात्रका रूपमा खेल्न प्रेमप्रसाद श्रेष्ठ नामका दुईजना कलाकार छनोट भएकाले निर्देशक ओमकारप्रसाद गौचनले सहजताका लागि दुई जनामध्येका अग्ला प्रेमप्रसाद श्रेष्ठलाई प्रेम बडा र होचा प्रेमप्रसाद श्रेष्ठलाई प्रेम छोटा भनेर सम्बोधन गरेका र यसलाई नै प्रेम दाइले आफ्नो साहित्यिक नाम बनाएको रोचक प्रसंग रहेछ । मभन्दा झन्डै बाह्र÷तेह्र वर्षले जेठा स्रष्टा व्यक्तित्व भएकाले मैले प्रेम छोटालाई श्रद्धापूर्वक प्रेम दाइ भनेर सम्बोधन गर्दै आएको छु । यिनी मलाई प्रेमपूर्वक घनश्याम भाइ नै भन्छन् । यसरी हामी साहित्यिक नाताले आत्मीय दाजुभाइमा बाँधिएका छांै । मानवजीवनमा मित्रता र साहित्यिक सम्बन्ध रगतको नाताभन्दा प्रगाढ हुन्छ । यस्तो नाता जाति, धर्म, भूगोल, रङ आदिको नाताभन्दा बढी गाढा हुन्छ । हामी यही गाढा रङको नाताले जोडिएका छौं । म धेरैचोटि बागलुङ पुगेको छु साहित्यिक कार्यक्रमका सन्दर्भमा । मेरो उपस्थिति भएका सबै कार्यक्रममा प्रेम दाइको पनि हार्दिकतापूर्वक उपस्थिति रहने गरेको मैले पाएको छु ।

जब म उपस्थित भएको कार्यक्रममा प्रेम दाइ टुप्लुक्क देखिन्छन्, त्यो बेला मेरो मन पुलकित हुने गर्दछ र गर्वानुभूति पनि हुन्छ । मेरो घरमा आउनू भनेर उसरी नै आत्मीयतासाथ निम्तो दिन्छन् बागलुङ गएको समयमा प्रेम दाइले । प्रेम दाइको घर साहित्यको मठमन्दिरजस्तो लाग्दछ मलाई । प्रेम छोटा दाइभित्र मैले आत्मीयताको नदी प्रवाहित भएको पाउने गरेको छु । यिनको भावनामा उत्साहको स्रोत देख्ने गरेको छु ।
प्रेम छोटा दाइको कलम गीत, कविता, कथाजस्ता विधामा सशक्त रूपमा चलेको देखिन्छ । प्रकारान्तर(२०४२) कथा संग्रह, अणुअणुको थुप्रो जीवन र प्रेम(२०६४) कविता संग्रहले यी कवि र कथाकार दुवै हुन् भन्ने प्रमाणित हुन्छ । तर, यी सामान्य स्रष्टा मात्र होइनन् । यिनको व्यक्तित्वको आयाममा विविधता दृष्टिगत हुन्छ । वाङ्मयका अनेक क्षेत्रमा यिनका पाइला हिँडेका र हातहरू चलेका देखिन्छन् । किशोर वयदेखि नै साहित्य सिर्जनामा लागेका प्रेम दाइ सोही उमेरमा नै अभिनयकलामा पनि लागेको देखिन्छ । यिनको साहित्यिक उपनामको न्वारन नै अभिनयकलाका सन्दर्भमा भएको प्रसंगसँग जोडिएको छ ।

यिनको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो भन्ने मैले धेरै पछि मात्र थाहा पाएको हु“ । सुरुसुरुका भेटघाटमा सोधिएन पनि । पछि यिनीबारे लेखिएका आलेखबाट जानकारी प्राप्त भएको हो मलाई

क्षेत्रीय रूपमा साहित्यिक गतिविधिको अन्वेषण, रचनाहरूको सं्कलन, सम्पादन र प्रकाशनजस्ता कार्यमा समेत यी उत्तिकै सक्रिय देखिन्छन् । धवलागिरिका कथाहरू (२०५३) र धवलागिरिका कवि र कविता (२०५५) जस्ता कृतिहरू यसका दृष्टान्त हुन् । लोकवार्ताप्रति पनि यिनको रुचि देखिन्छ । खासगरी बागलुङ र धवलागिरि अञ्चलका लोकसंस्कृतिको अन्वेषण र लेखनमा यिनको योगदान उल्लेख्य छ । बागलुङको बास्सा नाच (२०६५), हनुमाननाच ः बागलुङको सांस्कृतिक पहिचान(२०६७) र धवलागिरिका सांस्कृतिक सम्पदा (२०७०) जस्ता कृतिले यिनलाई लोकसंस्कृतिका अन्वेषक प्रमाणित गरेको छ । नेपाली साहित्यिक परम्परामा क्षेत्रगत इतिहासको अन्वेषणमा पनि यिनको रुचि देखिन्छ । भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त(२०६२) यस भनाइको प्रमाण हो । यसरी नै धवलागिरिको पत्रकारिताको इतिहासको खोजीमा पनि यिनको देन रहेको छ । धवलागिरिको ६ दशकीय पत्रकारिता (२०७०) ले यस भनाइलाई पुष्टि गर्दछ ।

प्रेम छोटा दाइ कुशल साहित्यिक अगुवा पनि हुन् । भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अथक रूपमा क्रियाशील प्रेम दाइको भूमिका संस्था संस्थापन र त्यसको नेतृत्वका सन्दर्भमा उत्तिकै महŒवपूर्ण रहेको छ । संसारमा सबभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढें भनेर माताप्रतिको अगाध श्रद्धा अभिव्यक्त गर्ने प्रेम दाइले आफ्नी ममतामयी माताश्री रत्नकुमारी श्रेष्ठको नाममा रत्न–श्रेष्ठ पुरस्कार गुठी (३०३४) र रत्न–श्रेष्ठ पुरस्कार पुस्तकालय (२०३७) स्थापना गरेर मातृऋणबाट उऋण हुने पवित्र कार्य गरेका छन् । नेपालका साहित्यिक पुरस्कारहरूमध्ये यो मोफसलको नाम चलेको साहित्यिक पुरस्कारका रूपमा प्रतिष्ठित छ । यस पुरस्कारबाट कृतित्वका आधारमा पश्चिमाञ्चल क्षेत्रका विशिष्ट स्रष्टाहरू पुरस्कृत र सम्मानित भएका र हुँदै आएका छन् । २०६५ सालमा यस पुरस्कारबाट ससम्मान पुरस्कृत हुने अवसर मैले पनि पाएको थिएँ । गजल सौन्दर्य मीमांसा (२०६४) नामक गजलको सैद्धान्तिक र अनुसन्धानमूलक कृतिका निम्ति मलाई यो पुरस्कार प्रदान गरिएको थियो । यस पुरस्कारलाई मैले आफ्नो साहित्यिक जीवनको एउटा विशिष्ट उपलब्धि मानेको छु ।

प्रेम दाइको योगदानलाई राज्यले उचित मूल्यांकन गर्न नसकेको भए पनि यिनलाई २०६६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्यका रूपमा नियुक्त गरिएको थियो भने २०७० मा डा. डिल्लीरमण कल्याणी स्मृति पुस्तकालयको अध्यक्षजस्तो प्रतिष्ठित पदमा नियुक्त गरी सेवा गर्ने अवसर प्रदान गरेको थियो । प्रेम दाइलाई मैले एक जना शिष्ट र मृदुभाषी अग्रज स्रष्टाका रूपमा चिनेको छु । यिनको सत्कारमय व्यवहारले मलाई जहिले पनि प्रभावित प्रचोदित गरिरहेको हुन्छ । जीवनका झन्डै तीनवटा पचीस वसन्त पूरा गर्ने वयको सीमानजिक पुगेका प्रेम दाइमा अहिले पनि उस्तै उत्साह र ऊर्जा देखिन्छ । यी मेरो मनको केन्द्रमा श्रद्धेय अग्रज स्रष्टाका रूपमा लुकेर बसेका छन् । जबजब खोजी गर्र्छुु सजिलै भेटिन्छन् ।