सधैं सक्रिय

सधैं सक्रिय

नायिका रेजिना उप्रेतीले व्यवसायी सुरज पोखरेलसँग विवाह गरेपछि उनका शुभचिन्तकले टिप्पणी गरे, ‘अब रेजिनाको करिअर सकियो ।’ जतिसुकै चर्चा परिचर्चा भए पनि प्रायः नायिका विवाहपछि घर गृहस्थीमै रमाउने गर्छन् ।
यसकारण रेजिनाको करिअरबारे टिप्पणी गर्नु अस्वाभाविक थिएन । विवाहपछि केही महिना गुमनाम जस्तै भइन् । छोरीकी आमा भएपछि चलचित्रसँग उनको सम्बन्ध विगतको संस्मरणमै सीमित हुन्छ भन्ने भयो ।

छोरीकी आमा भएपछि पनि रेजिनाको सक्रियता लोभलाग्दो छ । अब अभिनयमा सक्रिय हुने योजनामा छिन्

सहकर्मी र शुभचिन्तकको अनुमानविपरीत कलाकार संघको उपाध्यक्ष निर्वाचित भइन् । वार्षिक साधारणसभामै कार्यकाल गुजार्दै आएको संघले केही देखिने काम ग¥यो, संघले गरेको काममा उनी अग्रसर हुँदै आइन् । ‘संघमा त नपत्याउँदो पारामा व्यस्त हुनुपर्ने रहेछ,’ रेजिनाले भनिन् ।

डेढ दशकसम्म अभिनयमा सक्रिय रहेकी रेजिनाले ६० भन्दा बढी फिचर फिल्ममा अभिनय गरेकी छन् । १८ महिनाकी छोरीको स्याहार गरेर बसेकी रेजिना भन्छिन्, ‘अब अभिनयमा सक्रिय हुन्छु ।’ छोरी क्रमशः ठूली हुँदै गएपछि अभिनयमा सक्रिय हुन सहज हुने उनको भनाइ छ । केही फिल्मबाट अभिनयका लागि प्रस्ताव आएको जानकारी दिँदै उनले भनिन्, ‘अब विषय हेरेर मात्रै काम गर्छु ।’
विभिन्न कार्यक्रमको सिलसिलामा विभिन्न मुलुकको भ्रमण गरेकी रेजिना केही समयअघि अमेरिकामा आयोजित फिल्म फेस्टिभलमा सहभागी भइन् । उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यस्ता फेस्टिभलमा सहभागिताले कन्फिडेन्स बढेको अनुभव गरेकी छन् ।