कांग्रेस सुरक्षा गार्ड हो

कांग्रेस सुरक्षा गार्ड हो

 

विमलेन्द्र निधि गत २१ वैशाखमा कांग्रेस उपसभापतिमा चयन भए । पूर्वउपप्रधानमन्त्रीको अनुभव सम्हालिसकेका उनी कुनै बेला शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक) हुँदै एकतापछिको कांग्रेसको पनि महामन्त्रीको जिम्मेवारीमा रहे । संविधान निर्माणदेखि मधेस आन्दोलनको सकारात्मक अवतरणमा भूमिका निर्वाह गरेका उनी पार्टीभित्र संस्थापन निकट मानिन्छन् । उपसभापति चयन भएपछि यतिबेला उनी पार्टीभित्रका नेता मिलाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा छन् । नेविसंघको राजनीतिबाट उदाएका निधि पछिल्ला दिन कांग्रेसभित्र वैचारिक नेताका रूपमा पनि चिनिन्छन् । कम्युनिस्ट सरकारले अघि सारेका समृद्धिका योजना, नीति र बजेटका विषयमा उनको मध्यमार्गी विचार छ । राम्रा कामको समर्थन र नराम्रोको विरोध गर्नुपर्छ भन्ने मान्यता राख्दाराख्दै पनि उनी वर्तमान सरकार अधिनायकवादी बाटोमा गइरहेको देख्छन् । सरकारका काम, उनको पार्टी र समसामयिक राजनीतिक विषयमा यसपटक उनीसँग राजधानी दैनिकका लागि महेश्वर गौतमले कुराकानी गरेका छन्

विमलेन्द्र निधि, उपसभापति, नेपाली कांग्रेस

 

० वर्तमान राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ?

अहिलेको राजनीतिक अवस्थालाई हामीले तीन कुराबाट नियालिरहेका छौं । पहिलो त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी होला कि नहोला भन्ने स्थिति थियो । जारी भएपछि संविधानलाई मधेसवादी दलहरूले मान्लान् कि नमान्लान् भन्ने स्थिति सिर्जना भयो । निर्वाचनमा सबैमा संशय थियो ।

संविधान जारीपछि कांग्रेसको सुझबुझको कारणले गर्दा तीनै तहको निर्वाचन सम्पन्न भएको छ । संविधान कार्यान्वयन भएको छ । संविधानसँग असहमत हुने मधेस केन्द्रित क्षेत्रीय दलहरूसमेत निर्वाचनमा सहभागी भए । राज्यको पुनःसंरचना र संविधानको घोषणापछि संविधान कार्यान्वयनको अवस्थामा मुलुक अघि बढिरहेको छ ।
दोस्रो कुरा निर्वाचनमा पार्टी पराजयपछि हाम्रा कमीकमजोरीलाई सच्याएर आत्मसमीक्षामार्फत लिँदै सुधारेर जाने र आगामी निर्वाचनमा बलियो हुने गृहकार्यमा हामी लागिरहेका छौं ।

तेस्रो कुरा लोकतान्त्रिक सिद्धान्त, विचारधारा, संसदीय प्रणाली, बहुदलीय प्रणाली, निर्वाचन प्रणाली, मानवअधिकार, प्रेस स्वतन्त्रताप्रति प्रारम्भदेखि नै विश्वास गर्दै आइरहेको नेपालमा एक मात्र पार्टी नेपाली कांग्रेस हो ।
नेपालको राजनीतिमा विगतदेखि नै कांग्रेसबाहेकका बाँकी दुई धार थियो । एउटा राजाले नेतृत्व गर्ने निर्दलीय पञ्चायती व्यवस्थाका समर्थकहरू जो अहिले राजतन्त्र नभएता पनि छन्, अर्को जमात कम्युनिस्टहरूको थियो । यी सबैलाई हेर्दा आजको दिनसम्म आइपुग्दा तीन धारबाट राजनीति चल्दै आयो ।
आजको अवस्थासम्म आइपुग्दा कांग्रेस जुन धारमा आयो त्यही धारमा छ । कांग्रेसको सैद्धान्तिक मान्यतालाई अरूले पनि स्विकार्ने अवस्था बन्यो । अहिले सबै दलहरू बहुदलवादी भए, लोकतन्त्रवादी भए, संसदीय धारमा आए । राजावादीहरू पनि कम्युनिस्टहरू पनि बहुदलवादी भए, संसदीय प्रणालीमा आए, निर्वाचन प्रणालीमा आए । नेपालको समग्र राजनीति डिस्कोर्स अब कांग्रेसको बाटोबाट हिँडेको छ ।

० कांग्रेसको सिद्धान्तमा आए भन्नुभयो तर चुनाव त तपाईंहरूले नै हार्नुभयो नि, तपाईंहरूको सिद्धान्त होइन नेतृत्व शैलीमा समस्या भएर त होइन ?

निर्वाचनको पराजय हाम्रो आन्तरिक कारणले हो । अर्को कुरा हामी हाम्रो संगठनलाई बलियो बनाउनभन्दा राज्यको पुनःसंरचना र संक्रमण कालको व्यवस्थापन गरेर संसदीय प्रणाली, बहुदलीय व्यवस्था, समावेशी सिद्धान्तसहितको व्यवस्थालाई बलियो बनाउनतर्फ लाग्यौं ।
चुनावको तयारीमा लाग्नुपर्ने बेला मधेसवादीहरूलाई सहमतिमा ल्याउन लाग्यौं । संविधानप्रति सबैलाई जिम्मेवार बनाउन केन्द्रित भयौं, हाम्रो जिम्मेवारी अभिभावको थियो । जिम्मेवारी निर्वाह गर्नतर्फ केन्द्रित भयौं ।
मुलुकका लागि मिलन बिन्दु बनाउन लाग्दा चुनावमा जित्नतर्फ संगठनलाई समय दिन सकेनौं । हामीले स्वीकार गर्नुपर्छ, आन्तरिक एकताको अभाव भयो, घात अन्तर्घात पार्टीभित्रै भयो । त्यसकारण कार्यकर्ताहरूसमेत निराश भए । निर्वाचन जित्न सकिएन ।

‘यातायात व्यवसायी, निर्माण व्यवसायीलाई समातेर थुनिदिन्छु भन्ने आतंक सिर्जना गरेर धम्की दिइँदै छ। यो के हो ? कानुनी बाटो छैन ? कानुन चल्दैन ? यो के हो त ? अधिनायकवादी प्रवृत्ति भनेकै यही हो ‘

 

 

० मधेसवादी दललाई निर्वाचनमा ल्याउन पहल गर्दा हा¥यौं भन्नुभयो तर अहिले वाम शक्तिसँग उनीहरूको निकटता देखियो । कांग्रेससँग फेरि असहमति हो उनीहरूको ?

पछिल्लो समय मधेसकेन्द्रित दलहरू हामीसँग रहन सकेनन् । तर परिवर्तनका लागि, राज्यको पुनःसंरचनाका लागि, संविधानका लागि जुन विषय थियो, राष्ट्रिय सहमतिका विषयमा हामी साथ छौं कि छैनौं त्यो महŒवपूर्ण कुरा हो । दल अलगअलग हुन्छौं, राजनीतिक एजेन्डा फरकफरक हुन्छ । प्रतिस्पर्धा हुन्छ, त्यो बेग्लै कुरा हो ।
सधैंका लागि सबै पार्टीबीच सहमति र एकता भए बहुदलीय व्यवस्थाको अर्थ नै रहँदैन । हाम्रो मानसिकता जोसँग समीकरण भएको छ सधैं रहिरहोस् भन्ने हुन्छ । त्यस्तो हुने भए त एउटै पार्टी मात्रै हुन्थ्यो । बहुदलीय प्रतिस्पर्धा बहुलवादमा चुनावमा प्रतिस्पर्धा देखिन्छ, तालमेल पनि हुन्छ । कहिले सँगै हुने कहिले टाढिने यो राजनीतिक व्यवस्था नै यस्तै हो ।

० सरकारमा बसेर गरेका कमीकमजोरी पनि त हारका कारण बन्यो हैन ?

यो चाहिँ प्रतिपक्षले उचाल्ने विषय हो । पहिले पहिले कांग्रेसले कोसी बेच्यो गण्डकी बेच्यो भन्थे । त्यसपछि ती कुरा होइन रहेछ भन्ने भएर भन्न छाडे । अहिले केही खोट नपाएर प्रधानन्यायाधीश र प्रहरी प्रमुख काण्डलाई उचालेका हुन् । यी कारणले निर्वाचनमा पराजय भएको होइन ।
अर्को कुरा संघीयता कम्युनिस्टहरूको एजेन्डा हुँदै होइन । समावेशिता पनि कम्युनिस्टहरूको एजेन्डा होइन । धर्म निरपेक्षता पनि कम्युनिस्टहरूको एजेन्डा होइन । यी सबै बीपीको एजेन्डा हो । कम्युनिस्टको डिक्स्नरीमा न संघीयता हुन्छ न बहुलवाद । तर हामीले हाम्रो पार्टीको एजेन्डा वा बीपीको समृद्धिको एजेन्डालाई पछिल्लो समय अरूको हल्लाका भरमा अरूकै पो हो कि भनेर बुझ्यौं ।
अर्को कुरा विगतमा हामीले हाम्रो नेतृत्वमा गरेका राम्रा विषयहरूको प्रचार पनि निर्वाचनका समयमा सही तरिकाबाट गर्न सकेनौं । हाम्रो सिद्धान्तमा कम्युनिस्टदेखि राजावादीसम्मलाई ल्याएको कुरा हामीले जनतालाई बुझाउन सकेनौं । नेपालको राजनीतिमा पटकपटक क्षति बेहोरेर पनि कांग्रेसले डेमोक्रेटिक ट्रेन्डलाई विस्तार गरेको छ ।

० तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकारबाट हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा कांग्रेस चुकेका कारण पार्टी कमजोर बनेको भन्ने लाग्दैन कहिलेकाँही ?

अर्को पार्टीसँग जति सँगै रहन सकियोे त्यति गर्ने हो । राजासँग सम्बन्ध राखिराख्या भए हुन्थ्यो भनेर हुँदैन । राजा पनि ठीक ठाउँमा हुनुप¥यो । त्यस्तै, प्रचण्डजीलाई पनि हामीले चाहेर मात्र राख्ने अवस्था भएन । उहाँले चाहनुभएन । मेरो विचारमा प्रचण्डजीलाई आफ्नो पार्टी नै बोझ भएको थियो । उहाँलाई नेतृत्व दिन सकिन्छ कि सकिँदैन भन्ने सोच बढ्दै थियो । उहाँ बोझ बिसाउन चाहनुहुन्थ्यो ।
मसँगको धेरै पटकको कुराकानीमा उहाँले राज्यको पुनःसंरचना, शान्ति प्रक्रियाको सम्बोधन जस्ता कुरामा नेपाली कांग्रेसको सुझबुझकै कारण परिवर्तन सम्भव भयो, गणतन्त्र आयो, राज्यको पुनःसंरचना भयो भन्ने गर्नुहुन्थ्यो ।
नेपालको हिंसात्मक द्वन्द्वलाई निष्कर्षमा पु¥याउने पार्टी कांग्रेस हो भन्ने उहाँहरूको सोच थियो । पछिल्लो समय उहाँहरू विचलित हुन थाल्नुभयो । आफैंले क्रम भंग गर्नुभयो । उहाँलाई समीकरण बदल्नु थियो । बदल्नुभयो ।

० मधेसवादी शक्तिहरूको अवस्थालाई यहाँले कसरी लिनुभएको छ ?

मधेसवादी शक्तिहरू मधेसको एजेन्डा छोड्दै छन् । मधेसका नाममा राजनीति गर्नेहरू मधेसको एजेन्डाबाट विचलित भएको देख्दै छु । अहिलेको सरकारमा उपेन्द्र यादवजी जानुभयो, त्यो एउटा प्रमाण हो ।
मधेसी जनताले अब यो बुझ्नुपर्छ, अब मधेसी जनताले आफ्नो सोच पुनर्विचार गर्नैपर्ने अवस्था आएको छ । उपेन्द्रजी सरकारमा जानुभयो तर राजपाका नेताहरू राजनीतिक विरोध गरिरहनुभएको छैन । हामी किन सँगै जान पाएनौं भन्न थाल्नुभएको छ, किन सँगै लगेनन् भन्नेतर्फ लाग्नुभएको छ ।
मधेसवादीहरूको प्रतिस्पर्धा मधेसी जनताको हक र अधिकारलाई संविधानमा कसरी स्थापित गर्ने र नभएका कुरालाई कसरी समावेश गर्ने भन्नेतर्फ भन्दा पनि कसरी सत्तामा जाने भन्नेतर्फ मात्र केन्द्रित भएको अवस्था छ ।

रक्सौलबाट काठमाडौंको रेल र केरुºबाट काठमाडौंको रेलमा सरकारको 
परराष्ट्रनीति अल्झिएको छ । यो दुईवटै राष्ट्रिय हितमा छैन । यो चाकडी हो

अधिनायकवादतर्फ, जनवादी केन्द्रीयतातर्फ सरकार गयो भने संघीयता  खतरामा पर्न सक्छ

 मधेसवादी शक्तिहरू मधेसको एजेन्डा छोड्दै छन्

 निर्वाचनको पराजय हाम्रो आन्तरिक कारणले हो

 नेपालको समग्र राजनीतिक डिस्कोर्स कांग्रेसको बाटोबाट हि“डेको छ

० सरकारका कामलाई चाहिँ कसरी हेर्नुभएको छ यहाँले ?

कम्युनिस्टहरूको सरकार छ । संघीय गणतन्त्रको पक्षमा उहाँहरूले काम गर्नुभयो भने राम्रै परिणाम आउला । अधिनायकवादतर्फ, जनवादी केन्द्रीयतातर्फ सरकार गयो भने संघीयता खतरामा पर्न सक्छ । जनवादी केन्द्रीयता र संघीयता ठीक विपरीत विचारधारा हुन् । जनवादी केन्द्रीयता जहिले पनि संघीयताको खिलापमा हुन्छ । संघीयता पनि जनवादी केन्द्रीयताको खिलापमा हुन्छ । उहाँहरूले बहुमतको अभ्यास जनवादी केन्द्रीयताका लागि गर्नुहुन्छ कि संघीयताका लागि गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ ।

० सरकार अधिनायकवाद र जनवादी केन्द्रीयतातर्फ गयो भन्ने तपाईंको निष्कर्ष हो ?

हो, पक्का पनि हो । संविधान जारी भयो, चुनाव भयो, अब राजनीतिक विवाद सकियो, यो होइन । उहाँहरू अब राजनीतिक रूपमा केही बाँकी नै छैन समृद्धितर्फ लाग्ने हो भन्दै हल्ला गरिरहनुभएको छ । यो नै उहाँहरूको अधिनायकवादी चरित्रको प्रारम्भिक सोच हो ।
नेपालमा अधिनायकवादी प्रवृत्ति रोक्न हामीले संघीयता ल्याएको हो । तर मुलुक संघीय संरचनामा गइसकेपछि पनि सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग कुनै संगठन छैन, कुनै संरचना पनि छैन ।
त्यसका लागि सरकारले न कुनै प्रयास गरेको छ, न कुनै कानुन निर्माण भएको छ । न कुनै संरचना नै बनाइएको छ । मिडियाले समेत सरकारलाई यो विषयमा खबरदारी गर्न सकेको छैन । सातवटै प्रदेशमा एउटा पुलिससमेत प्रदेशको सरकारको अन्डरमा छैन । मुख्यमन्त्रीसमेत निरीह बन्नुपरेको छ । प्रदेशको अन्तरिक मामिला मन्त्रीसमेतको आदेश त्यहाँ चल्दैन ।
केन्द्रको गृहमन्त्रीको शासन चल्छ । यो अधिनायकवादी प्रवृत्ति होइन ? प्रधानमन्त्री कार्यालयमा सबै निकायको अधिकार तानिएको छ भएका अधिकार पनि केन्द्रीकृत गरिएको छ । मिडिया हाउसमाथि त्रास उत्पन्न गराइएको छ । यातायात व्यवसायी, निर्माण व्यवसायीलाई समातेर थुनिदिन्छु भन्ने आतंक सिर्जना गरेर धम्की दिइँदै छ । यो के हो ? कानुनी बाटो छैन ? कानुन चल्दैन ? यो के हो त ? अधिनायकवादी प्रवृत्ति भनेकै यही हो ।

० बजेटलाई चाहिँ कसरी मूल्यांकन गर्नुभएको छ ?

वास्तवमा बजेट विल्कुलै हावादारी छ । हामीले भन्दै आएका छौं । सत्ता पक्षकै नेताहरू पनि बजेटप्रति सहमत भइरहनुभएको छैन । यति ठूलो बहुमतको हैसियत प्राप्त गरेको सरकारले जनताको दैनिक जीवनलाई सुखी र सहज बनाउन कुनै बजेट विनियोजन गरेको छैन ।
एक÷दुई ठूला योजनाका नाममा तत्काल कार्यान्वयन हुन नसक्ने विषयमा बजेट विनियोजन गरिएको छ । अर्को कुरा बजेट संघीयताको पक्षमा पनि छैन । प्राथमिकताको क्षेत्र निर्धारण सरकारले बजेटमार्फत गर्न सकेन । रोजगारी वृद्धि गर्ने, कृषि क्षेत्र, पर्यटन क्षेत्र, जलस्रोत,उद्योग व्यवसाय, शिक्षा क्षेत्र कुनै विषय पनि बजेटको प्राथमिकतामा छैनन् । बजेटको प्रस्ट लक्ष्य नै छैन, अन्योलमा छ । आर्थिक प्रगति र समृद्धि यो बजेटले दिन्छ भन्ने मलाई लाग्दैन ।

० संवैधानिक निकायमा पूर्णता छैन, यहाँहरूले संवैधानिक अंगको पूर्णताका लागि पहल गर्नुभएको छैन ?

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरिसकेको छ । तत्काल संवैधानिक परिषद् बोलाएर प्रधानन्यायाधीश नियुक्त गरिनुपर्छ । तत्काल अख्तियार प्रमुख नियुक्त गर्नुपर्छ । सरकारले संवैधानिक निकायलाई समेत कमजोर बनाउन चाहिरहेको छ । सुनुवाइ समिति नभएको बहानामा सरकारले यी सबै संरचनालाई नियन्त्रणमा राख्न खोजेको छ । कुनै समिति नभएको अवस्थामा बाधा फुकाउन सक्ने अवस्था पनि त हुन्छ नि तर सरकारले चाहिरहेको नै छैन । संसद्बाट एउटा विशेष समिति बनाएर तत्काल यी प्रकिया अघि बढाउनुपर्छ ।

० तपाईं उपसभापति, पार्टीभित्रको गुट उपगुट चाहिँ कहिले अन्त्य हुन्छ त ?

म उपसभापति भएबाट नै मैले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन पहल गरिसकेको छु । रामचन्द्र पौडेलजीसँग पनि मेरो कुरा भइरहेको छ । पार्टीका विभिन्न विभाग तथा निकायहरू गठन गर्नका लागि सल्लाह गरिरहेको छु ।
महामन्त्रीज्यूसहित पार्टीका जिम्मेवार सबै नेताहरूसँग मैले छलफल थालेको छु । सभापति र पौडेलजीको बीचमा समन्वय गर्ने काम मैले गरिरहेको छु । आन्तरिक एकताले नै पार्टी र पार्टीका विषयमा चिन्ता लिनेहरूलाई समेत एक हुन सहयोग पुग्छ भन्ने हामी सबैका बीचमा समझदारी बनेको छ । केही दिनदेखि तपाईंहरूले देखिरहनुभएको होला हामी पार्टीभित्रका आन्तरिक विषयमा असहमति राख्ने भन्दा पनि बलियो प्रतिपक्ष भएर अधिनायकवादतर्फ लागेको सरकारलाई खबरदारी गर्ने पक्षमा देखिएका छौं । बिस्तारै आरोप प्रत्यारोप छाड्ने क्रम सुरु भएको छ । सत्ता र सरकारको बारेमा चिरफार गर्न अब हामी एक भएर अघि बढ्नेछौं ।

‘विगतमा हामीले हाम्रो नेतृत्वमा गरेका राम्रा विषयहरूको प्रचार पनि निर्वाचनका समयमा सही तरिकाबाट गर्न सकेनौं । हाम्रो सिद्धान्तमा कम्युनिस्टदेखि राजावादीहरूसम्मलाई ल्याएको कुरा हामीले जनतालाई बुझाउन सकेनौं ‘

 

 

० पार्टीभित्र नेतृत्व परिर्वतनको बहस छ, आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ कि यही नेतृत्व ल्याउने हो ?

नेपाली कांग्रेसका लागि महाधिवेशन सार्वभौम शक्ति सम्पन्न निकाय हो । महाधिवेशनले के गर्छ अहिले नै मैले भन्ने कुरा भएन । तर महाधिवेशनअघि नेतृत्व परिवर्तन हुँदैन । शेखर कोइरालाजीले पनि यो विषयमा धेरै चर्चा गर्नुभएको भन्ने सुनें तर उहाँले मैले भनेको छैन भनेर मसँग नै भन्नुभएको छ । अहिले नेतृत्व परिवर्तनको कुरा छैन ।

० पदाधिकारी चयनमा त एकलौटी भएको हो नि हैन ?

त्यस्तो होइन । त्यसबेला केही कुरामा रामचन्द्र पौडेलजीसहितका केही साथीहरूको पनि माग थियो । अहिले सबै कुरा मिलिसकेको छ । रामचन्द्रजीले हामीलाई पदाधिकारी मानिसक्नुभएको छ । उहाँ आफैं उपस्थित भएर म उपसभापति भएको हुँ । केही कुरा थियो । तर यो स्थायी विषय थिएन, सकियो । अहिले हामी एक ठाउँमा छौं ।

० कांग्रेस जब जब परिवर्तनको नेतृत्व गर्छ, देशलाई निकास दिन्छ, त्यसपछि हुने निर्वाचनमा पराजय हुन्छ, किन ?

बडी गार्डले आफ्नो ज्यान दिएर अरूको सुरक्षा गर्छ । आफ्नो ज्यान दिएर पनि अरूको सुरक्षा गर्नु उसको सफलता हो । कांग्रेसले पनि मुलुकलाई चुनौती पर्दा निकास दिएको छ ।
कांग्रेसको इतिहासमा पटकपटक यस्तो घटना भएको छ । नेपाली कांग्रेस देशको सुरक्षा गार्ड हो । कांग्रेसले संविधानसभाको निर्वाचन र स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफू पराजित भएर पनि देशलाई बचाएको छ, जिताएको छ ।
यो गीत गाउने शब्दावली होइन । कांग्रेसले आफूले क्षति बेहोरेर पनि देशलाई जोगाएको छ । प्रणालीलाई जोगाएको छ । व्यवस्थालाई जोगाएको छ । आगामी दिनमा सफलता प्राप्त गर्न अब कांग्रेस अघि बढ्छ ।

० सशक्त कांग्रेस हेर्ने जनताको धोको चाहिँ कहिले पूरा होला ?

कांग्रेसको सबैभन्दा ठूलो सफलता नेपालमा सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र समावेशितामा वैध रूपमा ल्याउनु हो । अब यसको सफल कार्यान्वयन र दिर्घायुमा कांग्रेस केन्द्रित हुन्छ ।
जिल्ला सभापति भेलादेखि महासमिति र महाधिवेशनमार्फत कांग्रेस सशक्त रूपमा आउँछ र आउने निर्वाचनमा पहिलेकै अवस्थामा पुग्छ । यसैगरी, हिजोकै जस्तो सबैलाई मिलाउने र अभिभावकको भूमिकामा समेत कांग्रेस सधैं जिम्मेवार भएरै रहन्छ ।

० जिल्ला सभापतिको भेला र महासमिति बैठक बोलाइएको छ, अबको कांग्रेससँग जनताले के अपेक्षा गर्ने ?

कांग्रेसको जिल्ला सभापतिहरूको भेलाबाट एकताको ऊर्जा लिएर हामी फर्कनेछौं । नयाँ संरचनाअनुसार पार्टीको विधान संशोधन अघि बढाउनुपर्नेछ । महासमितिबाट विधान संशोधन गराउन केही विषयमा जिल्ला सभापतिहरूसँग राय लिने काम हुनेछ । यो भेला अत्यन्तै महŒवपूर्ण हुँदै छ । राज्यको संरचनाअनुसार पार्टीको संरचना रूपान्तरण गर्नुपर्ने अवस्था र एकताबद्ध भएको सन्देश यो भेलाबाट आउँछ ।

० जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहिँ पार्टीभित्र के योजना बनेका छन् ?

संघीय शासन प्रणालीलाई अघि बढाउने विषय र जनताको सुख दुःखका कामका सन्दर्भमा सरकारलाई हाम्रो सहयोग रहन्छ । जनताको हितविपरीतका काममा हाम्रो सशक्त खबरदारी रहन्छ ।

० सरकारको पछिल्लो परराष्ट्र नीतिबारे केही टिप्पणी छ कि ठीक छ भन्नुहुन्छ ?

नेपालको भारत र चीनसँग मित्रतापूर्ण सम्बन्ध हुनु पर्दछ । नेपालको राजनीतिक स्थिरता, लोकतन्त्रको संवद्र्धन र समृद्धिमा भारत र चीनको सहयोग आवश्यक छ । तर सरकार कहिले चाकडी गर्ने त कहिले गाली गर्ने गर्दै ढुलमुले प्रवृत्तिबाट अघि बढिरहेको जस्तो देखिएको छ ।
रक्सौलबाट काठमाडौंको रेल र केरुङबाट काठमाडौंको रेलमा सरकारको परराष्ट्रनीति अल्झिएको छ । यो दुईवटै राष्ट्रिय हितमा छैन । यो चाकडी हो ।

० सरकारको समृद्धि योजना त गज्जब छ भन्छन् नि ?

सरकारको सय दिनको मूल्यांकन यस विषयमा काफी छ । सरकार सरकारी काममा भन्दा दलीय काममा सक्रिय छ । उहाँहरू पार्टी एक बनाउन केन्द्रित हुनुहुन्छ । संघीयताको विरुद्धमा उहाँहरू सिन्डिकेट निर्माण गर्न लाग्नुभएको छ । भारत र चीनको चाकडीमा उहाँहरू तल्लीन हुनुहुन्छ । पहिलेदेखिका विकासका विषयलाई निरन्तरता दिनेतर्फ उहाँहरू लागिरहनुभएको छैन ।
संघीयताका विषयमा सिन्डिकेट, भारत र चीनको चाकडी र आत्म प्रशंसामा मात्र उहाँहरूको समय खर्च भएको छ । उहाँहरूको समृद्धि सपना जनताको पक्षमा छैन । संविधानको पक्षमा छैन । संघीयताको पक्षमा छैन ।