ढाका बजारका संकेत

ढाका बजारका संकेत

 

धागो र रंग संयोजनको कलात्मकताको कारण तेह्रथुमे ढाका कपडाको निर्यात तेस्रो मुलुकमा समेत हुने गरेको छ । स्वदेशमा लोकप्रिय हुँदै आएको ढाका विदेश निर्यात हुनुले नेपालीको आय आर्जन बढानुका साथै नेपालको उत्पादनले विदेशी बजारमा ख्याति पनि कमाएको छ । अहिलेसम्म जति पनि ढाका तेस्रो मुलुकमा निर्यात भएको छ प्रायः तेस्रो मुलुकमा बसोबास गर्ने नेपाली र तिनका आफन्तले मात्रै प्रयोग गर्दै आएका छन् । विदेशी नागरिकले हाम्रो ढाकाको ख्यातिबारे जानकारी नै पाएका छैनन् । तसर्थ अहिले नै नेपाली हातबाट बुनिएको ढाकाले विदेशी बजारमा प्रवेश पायो भनेर मक्ख पर्नु हतारो हुन सक्छ ।

अहिलेसम्म विदेशमा बस्ने नेपालीहरूले प्रयोग गर्नु पनि आफैंमा एउटा उपलब्धि हो । तर, यसलाई कसरी विदेशी बजारमा स्थापित गर्ने भन्नेमा विदेशमा व्यापार व्यवसाय गर्ने नेपाली र नेपाल सरकारले ध्यान दिनुपर्छ । कुनै पनि वस्तुलाई विदेशी बजारमा स्थापित गराउनका लागि सबैभन्दा पहिला त उत्पादन गुणस्तरयुक्त हुनुपर्छ । सँगै के पनि बिर्सन हुँदैन भने उत्पादित वस्तु स्तरीय भएर मात्रै हुँदैन प्रचारप्रसारको पनि उत्तिकै खाँचो पर्छ । प्रचारप्रसार सामान्य तरिकाले सम्पन्न हुन्न भन्नेमा पनि जानकार हुनुपर्छ । कुनै पनि नेपाली उत्पादनको प्रचारका लागि व्यवसायीदेखि वितरकसमेत इमानदार हुनु त पर्छ नै, सम्बन्धित मुलुकमा हुने विभिन्न इभेन्टमा सहभागी भएर पनि प्रचार गर्न सकिन्छ । जस्तो कतिपय मुलुकमा फेसन सो भएको हुन सक्छ । कतिपय मुलुकमा सेल लागेको हुन सक्छ, त्यस्ता मुलुकमा नेपाली उत्पादनलाई सहभागी गराएर पनि बजार विस्तार गर्न सकिन्छ । अन्य कपडाको तुलनामा ढाका तुलनात्मक रूपमा राम्रो मानिन्छ । जाडोमा न्यानो र गर्मीमा शीतल । तर, हाम्रै युवा युवतीहरू ढाकाको प्रयोग निकै थोरै गर्छन् । अझ भन्ने हो भने सीमित चाड पर्वमा मात्रै ढाका लगाउने चलन छ ।

यति हुँदाहुँदै पनि ढाकाको बजार विस्तारको क्रममा छ, यो आफैंमा राम्रो हो । कुनै पनि उत्पादनले बजार पाएपछि मिसावट गर्नुको साथै गुणस्तरमा ध्यान नदिने नेपालीहरूको पुरानै चलन हो । कुनै बेला विश्वमै अब्बल मानिएको नेपाली गलैंचा र पश्मिनालाई नै हेर्न सकिन्छ । ढाकामा पनि त्यही रोग नदेखियोस् भन्नका लागि सचेत हुनैपर्छ । कुनै पनि उद्योगको विकासका लागि आधुनिक प्रविधिको साथै लगानीसमेत विस्तार गर्न जरुरी छ । त्यसका लागि ढाका उद्यमीहरूसँगै बसेर राज्यले विशेष योजना बनाउनुपर्छ । आगामी दिनमा कुनै पनि ढाका उद्योगी विस्थापित नहोऊन् भन्नका लागि आशा गरौं, फक्रिने क्रममा रहेको ढाका उद्योग आगामी दिनमा विस्तारित हुँदै जाओस् र आधुनिक पोसाकमा आफूलाई सुन्दर देख्ने युवा युवतीले पनि ढाकामा आफूलाई सजाउँदै जाऊन् ।