उपभोक्तालाई राहत देऊ

उपभोक्तालाई राहत देऊ

कम समयमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा स्वाभाविक रूपमा सबैतिर त्यसप्रति प्रतिक्रिया जनाउने काम भइरहेको छ । पेट्रोलियम पदार्थमा यसरी छिन छिनमा मूल्य वृद्धि हुँदा बजार भाउसमेत अकासिने र त्यसले जनजीवन प्रत्यक्ष प्रभावित हुने भय यतिखेर सबैतिर छाएको देखिन्छ । यसकारण पनि आमरूपमा यसको विरोध भइरहेको छ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि गरिएपछि संघीय संसद्का सांसदहरूले समेत विरोध गरेका छन् । उनीहरूले तत्काल मूल्य वृद्धि फिर्ता लिएर आमउपभोक्तालाई राहत दिन माग  गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेकाले सोहीअनुसार नेपालमा पनि मूल्य बढ्ने हँुदा समायोजन गर्नुको विकल्प नभएको सरकारले बताउँदै आएको छ । समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पनि घटाइएको र बढ्दा नेपालमा पनि बढाउने गरिएको सरकारी भनाइ छ । तर उपभोक्ताहरू यसलाई पत्याउन तयार देखिँदैनन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि सरकारले सोहीअनुसार मूल्य कायम गर्ने नगरेको उनीहरूको गुनासो छ । सबैले बुझेको तथ्य के हो भने पेट्रोलियम पदार्थ हाम्रो आफ्नो उत्पादन होइन । विदेशबाटै खरिद गरी आवश्यकता पूर्ति गर्नुपर्ने हाम्रो अहिलेको बाध्यता हो । यस्तो अवस्थामा मूल्य निर्धारण कतिपय अवस्थामा हाम्रो आफ्नो हातमा पनि हुँदैन ।

अझ त्यसमा पनि नेपालले खरिद गर्ने भनेको छिमेकी मुलुक भारतको भारतीय आयल कर्पोरेसन (आईओसी) बाटै हो । यसले गर्दा आईओसीले मूल्य तलमाथि गर्दा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने गरेको छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम हुँदा खुला सिमानाका कारण फेरि भारततिरै तेल तस्करी हुने गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पनि भारतमा भन्दा नेपालमा मूल्य सस्तो हुँदा भारततिरै तस्करी भइरहेको बताएका छन् । यसरी नेपालमा भित्रिएको तेल फेरि ठूलो परिमाणमा भारततिरै पुग्दा त्यसको सीधा असर नेपाल आयल निगमलाई पर्ने यथार्थलाई पनि बेवास्ता गर्न मिल्दैन ।

रकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको बहानामा हुने कृत्रिम महँगी नियन्त्रण गर्नेतर्फ विशेष निगरानी गर्न सक्नुपर्छ । यसका लागि सबै सरकारी संयन्त्रलाई चुस्त राख्दै सशक्त ढंगले परिचालन गर्न सक्नुपर्छ

देशमा भर्खरै मधुमास पूरा गरेको नयाँ सरकार छ । पूर्ण बहुमतसहितको नयाँ सरकारबाट आमनागरिकले धेरै कुराको अपेक्षा गरेका छन् । यसै पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएर सरकारले नागरिकलाई समृद्धिको मीठो सपना बाँडेकै छ । पाँच वर्ष टिक्ने बलियो आधारसहित खडा भएको सरकारले जनताको दैनिक जीवनलाई कुनै पनि असर नपर्ने खालका नीति र योजनाहरू ल्याएर उनीहरूको मन जित्नुपर्छ । यस्तो अवस्थामा सरकारले पटकपटक कम समयमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दा सरकारप्रतिको विश्वास टुट्नु स्वाभाविक हो । अब सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको बहानामा हुने कृत्रिम महँगी नियन्त्रण गर्नेतर्फ विशेष निगरानी गर्न सक्नुपर्छ । यसका लागि सबै सरकारी संयन्त्रलाई चुस्त राख्दै सशक्त ढंगले परिचालन गर्न सक्नुपर्छ । मूल्य समायोजनकै लागि भाउ बढाउन बाध्य भएको तर्क दिएर चुपचाप बस्ने गल्ती सरकारले गर्नै हुन्न । यसमा सरकारले विशेष चनाखो अपनाउनुपर्छ । यति गर्न सक्ने हो भने पनि नागरिकलाई राहत पुग्ने निश्चित छ ।