विकासमा रेमिट्यान्स

विकासमा रेमिट्यान्स

मधुजंग पाण्डे

कतारमा बसेर लाखौं पैसा कमाएँ । त्यो पैसा घर खर्च र पटकपटक नेपाल आवतजावत गर्दैमा सकियो । घरपरिवारको खर्चबाट केही बचेको बचतबाट अहिले बल्ल काठमाडौंमा चार आना जग्गा खरिद गरी एक ढलानको चारकोठे घर मात्र बनाउन सफल भएको छु । कतारको दोहाको एक डिपार्टमेन्टल स्टोरमा बसेर मैलै मासिक ८० हजार रुपैयाँभन्दा बढी कमाउँदै आए पनि अब साथमा पैसा छैन । कमाएको पैसाजति त्यसै अनुत्पादक विलासिताका सामान किन्दैमा सकियो ।
अहिले आफूसँग केही पैसा भइदिएको भए स्वदेशमै केही आयमूलक काम गर्ने इच्छा जागेको छ । के गर्नु र ? इच्छा भएर मात्र हुँदो रहेनछ ।’ यो कथन धादिङका अम्बरबहादुर गुरुङको हो । उनी २०५३ सालदेखि दोहामा कार्यरत नेपाली कामदार हुन् ।
उनले विगत २२ वर्षदेखि कमाएको सबै पैसा आफ्ना श्रीमती र दुईजना छोराको लालनपालन, पढाइ र अन्य विलासिताका सामान किनेर सकिएको बताए । अहिले आफूसँग १० लाख रुपैयाँ मात्र बचत भइदिएको भए काठमाडौंमा सानो पसल गरी आरामले परिवारसँगै बस्ने तीव्र चाहना हुँदाहुँदै पनि पुनः विदेशी भूमिमा फर्किनुपर्ने बाध्यताले निकै नमजा लागेको उनको दुःखेसो छ । धादिङका गुरुङ त एक प्रतिनिधि पात्र मात्र हुन् । यो दुःखेसो गुरुङको मात्र नभएर अधिकांश बिदेसिएका नेपालीको दुःखेसो रहेको छ ।

अहिले वैदेशिक रोजगारीलगायत विभिन्न कामले विदेशमा रहेका नेपालीले आफूहरूले पठाएको रेमिट्यान्स रकम मुलुक विकासमा लगाए आफूहरू निकै खुसी हुने बताएका छन् । उनीहरू सरकारले दीर्घकालीन रूपमा राम्रो प्रतिफल आउनेगरी विदेशी भूमिमा कमाएको रेमिट्यान्स रकम स्वदेशका ठूला आयोजनामा खर्च गरिदिए आफूहरू थप उत्साहित हुने बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले खाइ नखाइ, दिनरात नभनी आफू र आफ्नो परिवारको खुसीका लागि खाडीको तातो भूमिका खलखली पसिना चुहाउँदै आर्जन गरेको रेमिट्यान्स रकम त्यसै खेर गइरहेको छ ।
आफ्ना सन्ततिको उज्जवल भविष्यको काल्पनिक संसारमा रमाउँदै विदेशी भूमिमा आर्जन गरेको पैसा उचित ठाउँमा सदुपयोग नहुँदा उनीहरूको सपना तासको महलझंै त्यसै ग‍ल्र्यामगुर्लुम ढल्ने गरेको घटना हाम्रा लागि कुनै नौलो होइन । सोही सपना देखेर बिदेसिएकामध्ये केहीको विदेशमा ज्यान गएर शव मात्र घर आएको तीतो यथार्थ पनि हामीले राम्रैसँग देखेका छौं । त्यति मात्र होइन तपाईं हामीमध्ये कतिपय त यस्ता घटनाको भुक्तभोगी पनि भएका हुन सक्छौं । स्वदेशमा भनेजस्तो काम नपाएर अर्काको भूमिमा पुगी यसरी कमाएको पैसाको सही सदुपयोग गर्न २०६७ सालदेखि नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको सुरुवात गरेको भए पनि अझै प्रभावकारी भएको छैन ।

विडम्बना कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भनेझै उपयुक्त सूचनाको अभावमा अझै विदेशमा रहेका ती नेपाली कामदारले वैदेशिक रोजगार बचतपत्रका बारेमा केही थाहा पाएका छैनन् । नेपाल राष्ट्र बैंकले पनि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न मुस्किल परेको बताउँदै आएको छ ।
वैदेशिक रोजगारीमा गएका करिब ५० लाख नेपालीबाट वार्षिक साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिने गरेको तथ्यांक छ । त्यसरी भित्रिएको रेमिट्यान्सबाट उनीहरूका घरपरिवार र आफन्तले टिभी, ल्यापटप, मोबाइललगायतका घरायसी सामान खरिद गरी त्यसै उडाउने गरेका छन् । आवश्यकभन्दा बढी र अरूका देखासिकीका भरमा यस्ता विलासी सामान खरिद गर्दा विदेशमा निकै दुःख गरी कमाएको पैसा सदुपयोग हुन सकेको छैन ।

वैदेशिक रोजगारीमा गएकाको रकम बचत होस् भन्ने उद्देश्यले ल्याएको वैदेशिक रोजगार बचतपत्र अहिलेसम्म पूरा बिक्री हुन नसक्नुमा सरकारकै कमजोरी रहेको विदेशमा कार्यरत अधिकांश कामदारको गुनासो छ । हाल अमेरिकामा रहेका नेपाली कामदार संजोग आचार्यले वैदेशिक रोजगार बचतपत्र बिक्री नहुनुमा तीनवटा मुख्य कारण रहेको बताए ।
आचार्यका अनुसार पहिलो नम्बरमा वैदशिक रोजगारमा गएकाहरूसम्म सूचना पुग्दैन, बचत सुरक्षित छ भनेर उनीहरूलाई बुझाउन सकिएको छैन र हाल वैदेशिक रोजगारीमा रहेकाहरूसँग पर्याप्त पैसाको अभावका कारण बचतपत्र बिक्री भएको छैन ।
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी उनीहरूले आर्जन गरेको रेमिट्यान्स रकमको सही सदुपयोग गर्न र देश विकासको मेरुदण्डका रूपमा रहेको यस बचतपत्र बिक्री गर्ने कार्यलाई लक्षित वर्गसम्म पु¥याउन हाल नेपाली कार्यरत विभिन्न मुलुकमा सञ्चालित वित्तीय एजेन्टलाई सक्रिय बनाएपछि अझै अपेक्षाकृत रूपमा काम नभएको बताएको छ । विदेशी भूमिमा वर्षौं लगाएर कमाएको पैसाको सदुपयोग गर्न नसक्दा स्वदेश फर्कंदा पुर्पुरोमा हात लगाउनुपरेको यथार्थ हाम्रो सामु ताजै छ ।

विशेषगरी वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पुगेका नेपाली कामदारले त्यहाँ कमाएको रेमिट्यान्स रकमको सही सदुपयोग र राष्ट्र निर्माणको योगदानका लागि यस किसिमको बचत योजना ल्याएको राष्ट्र बैंकले जनाएको छ । यस किसिमको बचत मुलुकको विकासमा योगदान पु‍¥याउन र बिदेसिएका कामदारको पैसा बचत र वृद्धिका लागि आवश्यक भएको उनीहरूको भनाइ छ । आर्थिक समस्याका कारण देशले स्रोत र साधनहरूको प्रयोग गर्न सकिरहेको हुँदैन । अर्कोतर्फ नागरिकले आफूसँग भएको पैसा सही सदुपयोग गर्न सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा सरकारले वैदेशिक रोजगार बचतपत्र बिक्री कार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको अधिकांश अर्थविद्को भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका करिब ५० लाख नेपालीबाट वार्षिक साढे १० खर्ब रुपैया“ रेमिट्यान्स नेपाल भित्रिने गरेको तथ्यांक छ । त्यसरी भित्रिएको रेमिट्यान्सबाट उनीहरूले घरपरिवार उजिल्याउने गरेका छन्

यसैबीच, राष्ट्र बैंकले चालू आर्थिक वर्षको बितेका नौ महिनामा विभिन्न मुलुकमा रहेका नेपालीले पठाएको विप्रेषण आप्रवाह ५ दशमलव ६ प्रतिशतले वृद्धि भई कुल ५४० अर्ब ३८ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकले गत ४ जेठमा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) यस अवधिमा ६ दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ दशमलव २ प्रतिशतले घटेको थियो ।

के हो बचतपत्र ?

राष्ट्र बैंकले ल्याएको यो बचतपत्र लगानी नै हो । निश्चित समयसम्मको बचतपत्रलाई खरिद गर्न सकिन्छ । यसलाई अचल सम्पत्तिका रूपमा पनि लिन सकिन्छ । हामीले अन्य संघसंस्थामा दैनिक मासिक रूपमा पैसा बचत गरेजस्तै बचतपत्रमा निश्चित अवधिका लागि नागरिकले बैंकलाई पैसा तिरेर बचतपत्र किन्नुपर्ने हुन्छ । त्यसरी तिरेर किनेको बचतपत्रको बैंकले निर्धारित समयमा खरिदकर्तालाई सावाँ ब्याज भुक्तानी गर्ने गर्छ । अहिले बचतपत्र खरिदकर्ताले वार्षिक १० प्रतिशतका दरले ब्याज भुक्तानी पाउनेछन् ।

बचतपत्रका केही मापदण्ड

नेपाल राष्ट्र बैंकले अघिल्ला वर्षमा जारी गरेजस्तै यस वर्ष पनि वैदेशिक रोजगारी बचतपत्र–२०७७ निष्कासन गरेको छ । राष्ट्र बैंकले यस वर्ष २५ करोड रुपैयाँको ५ वर्षे वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो । ५ वर्षे भनिए पनि यस बचतपत्र आवश्यक परेको बेलामा अन्य मानिसलाई बेच्न पनि सकिन्छ । यदि बिक्री नगरी यही बचतपत्रबाट आÏनो काम टार्न चाहनेका लागि पनि बचतपत्रले सहयोग गर्छ । जसका लागि बचतपत्र अन्य बैंकमा धितो राखेर ऋण लिन सकिने व्यवस्था छ ।
बचतपत्र गत ७ देखि २९ चैत २०७४ सम्म खरिद गर्न सकिने समय राष्ट्र बैंकले दिएको थियो । यसको सावाँ भुक्तानी २९ चैत २०७७ हुनेछ । खरिद गर्न चाहने खरिदकर्ताले घटीमा ५ हजारको र बढीमा ५० हजार रुपैयाँसम्मको खरिद गर्न सक्ने व्यवस्था छ । यसका बचत खरिदकर्तालाई बैंकले वार्षिक ९ प्रतिशतका दरले ब्याज उपलब्ध गराउँछ भने प्रत्येक ६÷६ महिनामा बैंकले ब्याज उपलब्ध गराउने व्यवस्था गरेको छ । यस बचतपत्र खरिद गर्नका लागि विभिन्न प्रावधान रहेको राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र कसले खरिद गर्न पाउँछन् ?

राष्ट्र बैंकले ल्याएको यस किसिमको बचतपत्र खरिद गर्न वैदेशिक रोजगारमा गएको वा वैदेशिक रोजगारबाट फर्केको तीन महिना ननाघेको नेपाली नागरिक वा गैरआवासीय नागरिकले खरिद गर्न सक्नेछन् । त्यस्तै, उनीहरूले आप्mना बाबु, आमा, छोरा, छोरी वा श्रीमान्, श्रीमतीको नाममा पनि खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

खरिदका लागि आवश्यक कागजातहरू

बचतपत्र खरिद गर्नका लागि राहदानीको फोटोकपी, आफू कार्यरत मुलुकको भिसा, कम्पनीको आधिकारिक पत्र, दुईप्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको भए प्रमाणका रूपमा विदेशी मुद्रा सटही रसिद चाहिन्छ । त्यस्तै, नेपालमा विदेशी मुद्रा खाता रहेको भए त्यो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पनि आवश्यक पर्छ ।
परिवारका सदस्यको नाममा खरिद गर्ने भए सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने बैंकले जनाएको छ । वैदेशिक रोजगार बचतपत्र खरिद गर्न आवेदन बुझाउन सकिने बिक्री एजेन्टहरू र त्यस्तै विदेशमा रहेका नेपालीहरूले बचतपत्र खरिद गर्न चाहेमा सम्बन्धित देशको दूतावासमा सम्पर्क गरी तोकिएको ठाउँबाट पनि बचतपत्र खरिद गर्न सकिनेछ । वैदेशिक रोजगारीका लागि अहिले नेपालबाट १०८ मुलुकमा (हाल दुई देश बन्द) श्रम स्वीकृति लिँदै कामदार बिदेसिने गर्छन् ।

जसमध्ये धेरैजसो खाडी मुलुक र त्यसमा पनि साउदी अरेबिया, मलेसियाजस्ता देशमा जान खोज्ने बढी छन् । सरकारले २०७२ सालबाट वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा उनीहरूका परिवारले १७ लाख ५० हजार क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप १० लाख, शव ल्याउन तथा काजक्रियाका लागि साढे ४ लाख र वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख गरी प्रतिव्यक्ति १७ लाख ५० हजार रुपैयाँ दिइने व्यवस्था गरेको हो ।
वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हुने र त्यसपछि परिवारको बिचल्ली हुने समस्या बढेपछि सरकारले यस्तो व्यवस्था गरिएको हो । वैदेशिक रोगजार बोर्डको तथ्यांकअनुसार अहिले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपाली कामदारको संख्या दैनिक बढिरहेको छ । यसैगरी, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले २३ माघ २०७२ देखि वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गरी १० हजार युवालाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने नयाँ व्यवस्था गरेको थियो ।

वैदेशिक रोजगारीका लागि विभिन्न श्रम गन्तव्य मुलुकमा अदक्ष जनशक्ति गएर विभिन्न समस्यामा परेपछि बोर्डले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिपमूलक तालिम सञ्चालनको व्यवस्था मिलाएको हो । वार्षिक रूपमा ३ हजार युवालाई तालिम दिँदै आएको बोर्डले सोही वर्ष पनि १० देखि १२ हजारसम्मलाई विभिन्न विधामा सिपमूलक तालिम दिएको थियो । रोजगारदाता मुलुकहरूको आवश्यकतानुसारको वैदेशिक रोजगारीमा जानेलाई तालिम दिने गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी बोर्डले १६० घण्टे आवासीय तालिम दिने गरेको जानकारी दिए ।
इलेक्ट्रिसियन, प्लम्बर, हाउसकिपिङ, वाइरिङ, कुक, सुरक्षागार्डलगायतका विधामा तालिम दिइने गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यस्तो सिपमूलक तालिम सम्बन्धित जिल्लामा गएर दिइने गरिएको छ ।