ओडारबाट निस्कँदा

ओडारबाट निस्कँदा

निमेन्द्र शाही

राज्यले वृद्धभत्ता दिने आसमा २१ वर्षपछि जगन्नाथ गाउँपालिका–थारीकाँडाकी लालपुरा नेपालीलाई आफन्तले भेट्टाए र नागरिकता बनाइदिए । उनले माइतीको घरमा बास पाइन् । त्यसअघि ७५ वर्षीया लालपुरा ओडारमा दिनभरीको घाम र रातभरको चिसो  सहने गर्थिन् ।
निःसन्तान लालपुराको मानसिक अवस्था कमजोर भएपछि गाउँमा कसैले बस्न दिएनन् । उनी २१ वर्षअघि गाउँबाट बाहिर थारीकाँडाको जंगलको ओडारमा बस्थिन् । उनको नागरिकता बनेको छ । भदा कर्ण दमार्इंले घरमा राखेका छन् । ‘राज्यले दिने सुविधा लोभले भए पनि फुपूलाई घरमा राखेका छन् । अहिले उनी खुसी छिन्’, स्थानीय शिक्षक मनवीर  भण्डारी भन्छन् । ‘मर्ने बेला भए पनी मैले अरू मान्ठ (मानिस) को जस्तै घरमा नै मर्न पाउने भए । राज्यको सुविधाले मलाई ओडारबाट घरसम्म पुराएको छ,’ लालपुराको प्रतिक्रियासँगै आँखामा खुसीको आँसु देखियो ।

‘सरसफाइ र घरायसी मायाका कारण फुपूलाई अहिले सहज परिस्थिति बनेको र समाजमा समेत काम गर्न सक्ने वातावरण भएको छ,’ उनका भदा कर्ण भन्छन्, ‘म भारत थिएँ, फुपूका लागि घर बनाइदिन संस्थाहरूले रकम दिएछन् । यहाँका ठालुले खाइदिएछन् ।’ संघसंस्थाको सहयोग र सरकारको सहयोगका कारण उनको अहिले व्यवस्थापन भएको कर्ण बताउँछन् । यसभन्दा अघि उनलाई कुष्ठरोग भएका कारण समाजदेखि टाढा राखिएको भने पनि उनमा कुष्ठरोगको कुनै लक्षण नभएको स्वास्थ्यकर्मी बताउँछन् । ‘भगवानले पनि मेरो तपस्या बुझेछन्, अहिले मान्छेको जस्तो गरी घरमा बस्न पाएकी छु, यही मेरा लागि ठूलो खुसी हो,’ लालपुरा भन्छिन् ।गोत्री थारीकाँडाकी ६५ वर्षीया रत्ना डँडालका तीन छोरी छन् । उनले पनि लालपुराको जस्तै समस्याबाट उन्मुक्ति पाएपछि खुसी साट्न थालेकी छन् ।

भगवानले पनि मेरो तपस्या बुझेछन्, अहिले मान्छेको जस्तो गरी घरमा बस्न पाएकी छु, यही मेरा लागि ठूलो खुसी हो

कुष्ठरोग भएपछि गाउँ निकाला गरिएकी रत्ना अहिले छोरीको घरगोठमा छिन् । ओडारभन्दा गतिलो ठाउँ पाएकोमा उनी सन्तुष्ट नै छिन् । ‘१६ वर्षको उमेरमा विवाह गरी घरजम भएको थियो । सात बच्चाको जन्म भयो । चार छोरा बाँचेनन् । तीन छोरीले विवाह गरी नातिनातिना भएका छन्,’ उनले सुनाइन् ।  छिमेकीले केरीनी भनेर गाउँ निकाला गरिसकेपछि गाउँमा बस्न नसक्ने अवस्था बनेका कारण उनी गाउँनजिकैको कट्या खोलाको ओडारमा बस्थिन् । अहिले उद्धार गरी ल्याएपछि छोरी जर्मा भण्डारी भन्छिन्, ‘अस्पताल लगी उपचार गराएको छु तर अझै केही समस्या देखिन्छन्, ओडारमा भन्दा यहाँ रमाउनुभएको छ ।’
स्वामीकार्तिक गाउँपालिका–९ घट्ट भन्ने ठाउँको ओडारमा रैभाने विकको परिवार नै बस्थ्यो । गरिबी निवारणको सहयोगमा ऋण लिएर ओडारमै बाख्रा पालेर जग्गा जमिनको जोहो गरेर केही वर्षयता घरमा सरेका छन् । उनको परिवार पनि २० वर्षसम्म ओडारमा बस्यो । पहिले डुम्कोट भन्ने गाउँमा बसोबास थियो । उनीहरूको परिवारसँग जग्गा जमिन थिएन । गाउँमा आटी (खरले छाएको झुपडी) थियो । सो घरमा सबै नअटाएकाले उनी विवाह गरेपछि गाउँबाट दुई घण्टा माथि प्रनेसो ओडारमा बसेका थिए ।सदरमुकाम मार्तडीबाट पैदल यात्रा गर्दा दुई दिन लाग्ने सो गाउँ डुमकोट जंगलको बीचमा रहेको रैभाने ओडार घनघोर जंगलमा छ ।
‘गाउँमा घर बनाएर समाजमा बस्न पाउँदा खुसी लागेको छ, भगवानले पनि एक दिन निकास दिन्थे भन्थे सोच रहेछ,’ रैभानेले भने । एक छोरीको कन्यादान ओडारबाटै गरेका उनी अरूको जस्तै घर बनाएर बस्न पाउँदा आनन्दित छन् ।