नो सिन्डिकेट !

नो सिन्डिकेट !

कमला अर्याल

गत १८ चैतमा सरकारले विगत २५ वर्षदेखिको यातायात क्षेत्रको सिन्डिकेट हटाएपछि यातायतासँग सम्बन्धित संघ र समितिको एकाधिकार तोडिएको छ । साथै, सिन्डिकेटको अन्त्यले आमसर्वसाधारणलाई भने निकै फाइदा भएको छ । सर्वसाधारणलाई कोचिएर सार्वजनिक यातयातमा हिँड्नुपर्ने बाध्यता रहेन, अब । यातायात संघ र समितिको एकाधिकार तोडिएपछि जुनसुकै रुटमा पनि जुनसुकै सवारीसाधनले पनिसञ्चालन अनुमति पाउने भएका छन् । जसका कारण नयाँनयाँ सवारीलाई नयाँ रुटमा सरकारले सञ्चालनका लागि अनुमति दिइरहेको छ । सरकारको यस कदमले यात्रामा सधैं सास्ती भोगेका सर्वसाधारणले निकै राहतको महसुुस गरेका छन् । सिन्डिकेट कायम रहँदा एकातिर यातायात व्यवसायीको दादागिरी थियो भने अर्काेतिर खुद्रा पैसा छैन भन्दै सर्वसाधारणबाट बढी भाडा असुल्ने गर्दर्थे । सो समस्याबाट लगभग सर्वसाधारणले केही मात्रामा भए पनि राहत पाएका कारण खुसी छन् ।

ठाकुर न्यौपाने
विद्यार्थी

 

सिन्डिकेट खारेज भएपछि खुसी हुनेमा छन्, पर्वत पैंयु गाउँपालिका–५ का ठाकुर न्यौपाने । उनलाई सरकारले सिन्डिकेट तोडेकोमा असाध्यै खुसी लागेको छ । काठमाडौंमा कोरियन भाषा अध्ययन गर्न आएका न्यौपाने यातायात व्यवसायीहरूको सिन्डिकेटले हैरान थिए । काठमाडौंलगायत देशका विभिन्न भागमा रहेको छोटो दूरीको सिन्डिकेट मात्रै होइन, लामो दूरीमा चल्ने सवारीदेखि पनि उनलाई दिक्क लागेको थियो ।
दसैंतिहारजस्ता चाडपर्वमा घर जाँदा खेपेको दुःख त उनले बिर्सनै सकेका छैनन् । सिन्डिकेट अन्त्य भएपछि त्यो सास्ती पनि सकिएला भन्ने विश्वास उनलाई छ । न्यौपाने भन्छन्, ‘छोटो दूरीका मात्रै होइन, लामो दूरीका यातायातमा पनि सिन्डिकेट हटाउनुपर्छ ।’ सर्वसाधारणले केही राहत महसुस गरे पनि पूर्ण रूपमा जनताले राहत पाउन नसकेको भन्दै यातायात क्षेत्रमा रहेका सबैखाले सिन्डिकेट हटाउन सके मात्रै सर्वसाधारणले राहत महसुस गर्न सक्ने उनको बुझाइ छ । सिन्डिकेट हटाउने काम निकै सकारात्मक भएको भन्दै केही समयका लागि मात्रै होइन, सधैंका लागि हट्नुपर्छ भन्ने न्यौपानेको माग छ ।

देवी लामा
गृहिणी

त्यसैगरी, त्रिशूली माझीगाउँ नगरपालिका देवीथान–८ की देवी लामालाई पनि सरकारले सिन्डिकेट तोडेकोमा खुसी लागेको छ । सिन्डिकेट भनेको के हो भन्ने नबुझेकी लामाले यात्राका क्रममा सजिलैसँग गाडी पाउनु, त्यसमाथि सिट पाउनुले सर्वसाधारण सबै खुसी भएको बताउँछिन् । पहिले कोचिएर यात्रा गर्नुपरेको स्मरण गर्दै उनी भन्छिन्, ‘अहिले त छिटोछिटो गाडी आउँछन्, सिट पनि पाइन्छ, हामीलाई त सजिलो लागेको छ ।’ उनी प्रायः बालाजुदेखि रत्नपार्क रुटको सवारी चढ्छिन् । पहिलेको तुलनामा अहिले खुला रूपमा सवारी चल्दा आफूजस्तै अरूलाई पनि सजिलो भएकोमा लामा दंग छिन् । कार्यालय र स्कूल समयमा यात्रा गर्दा असाध्यै गाह्रो हुने भएको भन्दै त्यसलाई पनि सहज बनाइदिए हुन्थ्यो भन्छिन्, लामा ।

भगवती (गोमा) घर्ती मगर
जागिरे

सरकारले सिन्डिकेट हटाएपछि ठाकुर र देवीलाई खुसी लागेजस्तै सुर्खेत चेपाङ गाउँकी भगवती (गोमा) घर्ती मगरलाई भने त्यति खुसी लागेको छैन । सिन्डिकेट हटेर सर्वसाधारणले राहत पाएको जस्तो
लाग्दैन, उनलाई ।
उनी हरेक दिन हिँड्ने कार्यालय जाने रुट हो, बालाजु चक्रपथ रुट । सो रुटमा नयाँ गाडी थएिका भए पनि यात्रुको भीड उस्तै भएको उनको बुझाइ छ । उनी भन्छिन्, ‘खोइ गाडीमा मान्छेको भीड उस्तै छ, के सजिलो भयो भन्नु †’ निलो रङको गाडी (मयूर यातायत) का सिटहरू आरामदायी भएको भगवतीले बनाइन् । तर, यात्रुको भीडभाड भने उस्तै भएकोमा उनी खुसी छैनन् ।
सरकारले सिन्डिकेट खारेज ग¥यो भनेर सबैले खुसी बनाए । सर्वसाधारण अझै पनि गाडीका डन्डी समाएर झुन्डिन बाध्य भएकोमा उनको चित्त बुझेको छैन । भगवती भन्छिन्, ‘गाडीको डन्डी समाएर झुन्डिनुपर्ने समस्या उस्तै छ, कसरी सजिला र राहत महसुस गर्लान् सर्वसाधारणले ?’ उनको प्रश्न छ ।

यातायात संघ र समितिको एकाधिकार तोडिएपछि जुनसुकै रुटमा जुनसुकै सवारीसाधनले पनि सञ्चालन अनुमति पाउने भएका छन् । जसका कारण नया“नया“ सवारीलाई नया“ रुटमा सरकारले सञ्चालन अनुमति दिइरहेको छ

सीता ढकाल
विद्यार्थी

त्यसैगरी, गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ की सीता ढकाल काठमाडौं बसेर अध्ययन गर्न थालेको ६÷७ वर्ष भयो । उनी ताहाचल शिक्षा क्याप्पसकी विद्यार्थी हुन् । तर, कामको सिलसिलामा उनलाई उपत्यकाका विभिन्न रुटमा हिँड्नुपर्छ । सधैं सवारीमा कोचिएर यात्रा गर्दा साह्रै सास्ती हुन्थ्यो ।
सरकारले सिन्डिकेट तोडेपछि सबै रुटमा थुप्रै गाडी कुद्ने गरेको र सर्वसाधारण, विद्यार्थी सबैलाई सजिलो भएको प्रति उनले खुसी व्यक्त गरिन् । ढकाल भन्छिन्, ‘सिन्डिकेट हटेपछि बल्ल आनन्द भएको छ ।’ सरकारको यो कामलाई सबैले प्रशंसा गर्नुपर्ने उनको भनाइ छ । ‘कमसेकम समयमा सजिलैसँग गाडी चढ्न त पाइएको छ,’ ढकालले भनिन् । विद्यार्थी र कामकाजीहरूलाई यात्रा गर्न कठिन भएको भन्दै अब पक्कै त्यस्तो समस्या आउँदैन भन्ने विश्वास ढकाललाई लागेको छ । साथै, सार्वजनिक यातायातमा चेन्ज पैसा छैन भन्दै १÷२ रुपैयाँ फिर्ता नदिने यातायात व्यवसायीको कामप्रति उनलाई चित्त बुझेको छैन ।

‘सिन्डिकेट हटाएपछि यो समस्या पनि त हटाउनुपर्छ सरकारले ?’ उनले राजधानीसँगको कुराकानीमा भनिन् । त्यति मात्रै होइन, राजधानीमा ट्याक्सी व्यवसायीहरूले गरेको मनोमानीलाई पनि हटाउनुपर्छ भन्ने उनको माग छ । ढकाल भन्छिन्, ‘ट्याक्सी मिटरमा जाउँ भन्दा कहिल्यै मान्दैनन्, हचुवा भाडा लिन्छन् ।’ सरकारले सिन्डिकेट तोडेर मात्रै हुँदैन । यातायात क्षेत्रका सबै समस्या समाधान ग¥यो भने मात्रै यस क्षेत्रमा सरकार सफल भएको मानिने उनको भनाइ छ ।
सरकारले यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट अन्त्य गरेपछि पर्वतका ठाकुर, त्रिशूलीकी देवी, सुर्खेतकी भगवती र गोरखाकी सीता त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू मात्रै होइनन्, सार्वजनिक यातायातमा यात्रा गर्ने सबै सर्वसाधारण सिन्डिकेटको खारेजीपछि खुसी भएका छन् । उनीहरूको एउटै साझा माग भनेको यातायात क्षेत्रमा रहेको सिन्डिकेट मात्रै होइन, सबैखालका समस्याको अन्त्य हुनुपर्छ ।

सधैंका लागि सबैखालका सिन्डिकेट हट्नुपर्छ ।

सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले २१ चैतमा सांकेतिक रूपमा सवारी ग्यारेजमा थन्क्याए भने सरकारले सवारी ग्यारेजमा थन्क्याउने यातायात व्यवसायीहरूलाई धमाधम पक्राउ गरी थुन्न थालेपछि व्यवसायीको आन्दोलन लचिलो भएको थियो । सिन्डिकेटविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएपछि व्ययवसायीहरू सहमतिमा आउन बाध्य भएका थिए । सरकारको धरपकडपछि उनीहरूले गर्ने भनेको गत २७ चैतको अनिश्चितकाल सवारी बन्द पनि फिर्ता भएको थियो ।
सरकारले सवारी नचलाउने व्यवसायीको रुट परमिट पनि खारेज गरेपछि यातायात व्यवसायीहरू झुक्न बाध्य भएका हुन् । सिन्डिकेट पक्षधर व्यवसायीले सवारी चलाउन बन्द गरे पनि १२१ वटा प्रालिले आफ्ना सवारी सञ्चालन गरेका थिए । सरकारको कडा कदमका कारण कुनै पनि बहानामा सरकारलाई घुँडा टेकाउने उद्घोष गरेकाव्यवसायी अन्ततः व्यवसायी झुके । सरकारसँग अबदेखि कम्पनीमा दर्ता गरी सवारी सञ्चालन गर्ने सहमति गरेर व्यवसायी थुनामुक्त भएका थिए । सर्वोच्चको आदेश अवज्ञा गर्दै २०६९ सालमा श्रम तथा यातायातमन्त्री लेखराज भट्टले सार्वजनिक सवारीलाई रुट इजाजत लिँदा व्यवसायीको सिफारिस लिने निर्णय  गरेका थिए ।