हाम्रो प्रतिबद्धता

हाम्रो प्रतिबद्धता

राजधानी दैनिक आजबाट १८औं वर्षमा प्रवेश गरेको छ । पाठकमाझ १७औं वर्षमा रहँदा हामी व्यावसायिक पत्रकारिताका स्पष्ट मान्यतामा अडिग रह्यौं । यसबीचमा मुलुकले महŒवपूर्ण राजनीतिक परिवर्तन भोग्यो । नयाँ संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत मात्र भएको छैन, संघीय संरचनाअनुसार सबै तहमा जनप्रतिनिधि चयन भएका छन् । मुलुकमा लामो राजनीतिक संक्रमण अन्त्य भई संविधान पूर्ण कार्यान्वयनको दिशामा छ । शान्ति प्रक्रियाका एकाध अंश र संविधानअनुसारका केही कानुन निर्माण मात्र पूरा गर्नुपर्नेछ । यी कार्यसूची पूरा हुँदै गर्दा अब राज्यको ध्यान समृद्धि हासिल गर्ने बाटोमा छ ।

बितेका १७ वर्ष हामीले गणतन्त्र, संघीयता, संविधान निर्माणसहित जनताले प्रत्यक्ष सरोकार राख्ने विषय उठान ग¥यौं । मुलुक संक्रमणबाट बाहिर निस्केसँगै अब हाम्रो ध्यान समृद्ध मुलुक र सुखी जनताका चाहना पूरा गर्नेतर्फ केन्द्रित हुनेछ । समयसँगै जनताका सोच, चाहना र अपेक्षा बदलिएका छन् । नयाँपन खोज्ने युवा पुस्ता र समृद्ध राष्ट्र निर्माणमा योगदान गर्न खोज्नेलाई प्रोत्साहित गर्नु हाम्रो कर्तव्य हुनेछ । बदलिँदो जनअपेक्षाअनुसार हाम्रा सामग्री पनि परिष्कृत हुनुपर्नेछ । हामी यसमा प्रतिबद्ध छौं । स्थानीय तह बलियो भए मात्र मुलुक समृद्धिको मार्गमा अघि बढ्न सक्छ । असीमित अधिकार भएका स्थानीय तहका कार्यसम्पादनमा आइपर्ने जटिलता औंल्याउने र सहजीकरणको बाटो देखाउने दायित्व बोक्न हामी प्रतिबद्ध छौं । उसैगरी, प्रदेश सरकार र उसले निर्वाह गर्नुपर्ने दायित्वबारे खबरदारी र सहजीकरण पनि हाम्रो प्राथमिकतामा हुनेछ ।

समृद्ध मुलुक निर्माणको आगामी यात्रामा हाम्रो प्रतिबद्धता कायम छ । मुलुक निर्माणका मुद्दासँगै जनताको सुसूचित हुन पाउने अधिकारमा पनि हामी सक्रिय र चनाखो छौं । अबको यात्रामा राजनीतिक स्थिरतासँगै विकास निर्माण र सामाजिक रूपान्तरण हाम्रो प्राथमिकताको विषय बन्नेछ । समयानुसार बदलिएका पाठकको चाहना पूरा गर्न हामी डिजिटल प्लेटफर्ममार्फत पनि अझ परिष्कृत ढंगबाट पाठकसमक्ष आउनेछौं । प्रविधिको विकाससँगै सूचनाप्रति जनताको चासो पूरा गर्ने यो हाम्रो अभियानमा विगतमा जस्तै साथ र सहयोग आवश्यक छ ।अन्त्यमा, हाम्रो निरन्तरको यात्रामा साथ दिने पाठक, शुभेच्छुक, विज्ञापनदाता र राजधानी परिवारप्रति आभार व्यक्त गर्दछांै ।

महेन्द्र शेरचन
अध्यक्ष तथा प्रबन्ध निर्देशक