प्रदूषण क्रस चेकमा मन्त्री

प्रदूषण क्रस चेकमा मन्त्री

सविन शर्मा

 

 

थापाथली चोकैनेर गत आइतबार बिहान साढे ७ बजे सानो भीड थियो । सडकपेटीमा दुई साना मेसिन राखिएका थिए । सुरक्षाकर्मी, ट्राफिक प्रहरी र वातावरण विभागका कर्मचारी, पत्रकार र सर्वसाधारणको सानो भीड लागेको थियो । भीड बाक्लिएको एकै छिनमा राष्ट्रिय झन्डा भएको गाडीमा दुई व्यक्ति आए अनि मुखमा माक्स र शरीरमा हरियो एप्रोन लगाए । ट्राफिक प्रहरीले सडकमा गुडिरहेको माइक्रोबस र ट्याक्सीलाई अचानक रोकेर सडक किनारमा ल्याए ।
मुखमा मास्क र हरियो एप्रोन लगाएका ती दुई व्यक्तिले माइक्रोबस र ट्याक्सीको धुवाँ फाल्ने पाइप अर्थात् साइलेन्सरमा मेसिन जोडे । यी दुई व्यक्ति थिए, गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत । मन्त्री थापाले सवारीधनी बुद्धीलाल श्रेष्ठको बा२ख ९३५२ नम्बरको माइक्रोबसको प्रदूषण जाँच गरे । सो गाडीको धुवाँको औसत मात्रा ५ दशमलव ५ देखियो, मापदण्डअनुसार माइक्रोबस प्रदूषण फेल भयो ।
तुरुन्तै यातायात व्यवस्था विभागका कर्मचारीले सो सवारीको बिलबुक मागे र ‘चिट’ काटे । सो सवारीलाई सर्भिसिङ गरेर यातायात व्यवस्था विभागमा पुनः परीक्षण गर्न भनियो । यता, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बा३च ४३१४ नम्बरको ट्याक्सीको प्रदूषण जाँच गर्दा औसत धुवाको मात्रा २ दशमलव २ देखायो र ट्याक्सी प्रदूषण जाँचमा पास भयो ।


वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा गृहमन्त्री थापा र वन तथा वातावरणमन्त्री बस्नेतले संयुक्त रूपमा यसरी सवारीको छड्के प्रदूषण जाँच गरेका हुन् । मन्त्रीहरूले एकएकवटा सवारीसाधनको प्रदूषण जाँच गरेका थिए । वातावरण विभाग र ट्राफिक प्रहरीले अन्य सवारीसाधनको वातावरण परीक्षण गरेका थिए । सवारीसाधनको प्रदूषण जाँचका लागि सडकमा डिजेल गाडी र पेट्रोल गाडीका लागि दुईवटा छुट्टाछुट्टै मेसिन राखिएको थियो ।
‘ग्याँस एनाइजनर’ मेसिनले गाडीमा धुवाँको बाक्लोपना कति छ भनेर मापन गर्छ । यसरी धुवाँ मापन गर्दा २ दशमलव ४ भन्दा माथिको मात्रा आयो भने प्रदूषण फेल हुन्छ । यो आयतन भन्दा कम मात्रा आयो भने प्रदूषण जाँच पास हुन्छ । सवारीसाधन पुरानो र समयमा इन्जिन मर्मतसम्भार नगर्दा बाक्लो धुवाँ फ्याक्ने वातावरण प्रदूषण वातावरण विभागका वरिष्ठ केमिस्टी शंकरप्रसाद पौडेलले जानकारी दिए ।

मन्त्रीले आफ्नो गाडीको प्रदूषण मापन गरेनन्

सडकमा गुडिरहेका सवारीसाधनको मात्र नभई केही सरकारी सवारीसाधनको पनि प्रदूषण परीक्षण गरिएको थियो । वातावरण विभागका कर्मचारीले वनमन्त्री बस्नेत गुड्ने गाडीको परीक्षण गर्न आग्रह गरेका थिए तर उनले अहिले हतार भएकाले पछि गर्ने बताए । गृहमन्त्री थापाले पनि आफ्नो गाडीको प्रदूषण परीक्षण नै नगराई कार्यक्रमस्थलबाट बाहिरिए । यता, वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी चढ्ने बा२झ ७०४ नम्बरको गाडी र केमस्टी पौडेलको सवारीसाधन परीक्षण गर्दा पास भयो । आफ्ना हाकिमको गाडी परीक्षण पास भएपछि विभागका कर्मचारी बधाई  दिइरहेका थिए ।

‘सडकको प्रदूषणसँगै भष्ट्राचार’

सवारीको प्रदूषण जाँच गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री रामबहादुर थापाले सडकको प्रदूषणसँग भष्ट्राचार पनि जोडिएको बताए । उनले प्रदूषण हटाउन वातावरण मन्त्रालयले सुरु गरेको स्वच्छता अभियान भष्ट्राचारविराधी अभियान रहेको बताए ।
नेपाल विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताउँदै उनले समृद्धिलाई प्रदूषणले बाधा पु¥याउने र स्वास्थ्यमा असर पु¥याउने बताए । अस्वस्थ नागरिकले देशविकासमा सहयोग नपुग्ने हुँदा प्रदूषण हटाउने काममा सहयोग गर्न सबैलाई आग्रह गरे ।

विश्व वातावरण दिवसको अवसरमा गृहमन्त्री थापा र वन तथा वातावरणमन्त्री बस्नेतले संयुक्त रुपमा सवारीसाधनको प्रदूषण जा“च गरेका हुन् । उनीहरूले एक÷एकवटा सवारीसाधनको प्रदूषण जा“च गरेका थिए

उपत्यका कति प्रदूषित ?

काठमाडौं उपत्यकामा प्रदूषण हुनुको कारण सवारीसाधन पनि मानिन्छ । उपत्यकामा चल्ने सवारीसाधनको धुवाँबाट ३८ प्रतिशत वायु प्रदूषण हुँदै आएको केही वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा उल्लेख छ ।
सवारी साधनबाट निस्कने धुँवाले मानव स्वास्थ्यमा निकै खतरा गर्ने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । यसरी दिन प्रतिदिन उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले सवारी प्रदूषण फेल भएका र नवीकरण नगरिएका सवारीसाधनलाई नियन्त्रणमा लिने र कारबाही गर्ने गरेको छ । आक्कलझुक्कल मात्रै गरिने यस्ता छड्के जाँचले केही प्रभाव पारे पनि सडकमा धुवाँ फालेर गुडिरहेका सवारी हामीले देख्दै आएका छौं ।
‘उपत्यकामा प्रदूषण बढ्नुमा सवारीसाधनबाट मुस्लोझैं निस्कने धुवाँ पनि हो,’ डीआईजी सर्वेन्द्र खनालले भने, ‘रोकथामका लागि सवारीसाधनको प्रदूषण जाँच गर्ने कामको थालनी गरेका छौं ।’ प्रदूषण मापन गरेपछि यातायात व्यवस्था विभागले सवारीसाधनमा हरियो स्टिकर टाँस गरिदिन्छ । तर, ट्राफिक प्रहरीले हरियो स्टिकर टाँस भएको सवारीसाधन चेक गर्दा प्रदूषण फेल भएको पाइएको छ । सवारीसाधनले कार्बन मनोअक्साइड र हाइड्रो कार्बन फाल्ने गर्छ, राम्रो अवस्थामा रहेको इन्जिनले हाइड्रो कार्बन कम फाल्छ । सवारीसाधनले फालेको धुवाँ पार्टिकुलेट म्याटर पीएम २ दशमलव ५ र पार्टिकुलेट म्याटर पीएम १ भन्दा सानो हुने भएकाले जति सानो कण उत्ति नै शरीरलाई क्षति पु‍¥याउँछ । प्रदूषणयुक्त सवारीसाधन चलाइए कारबाही हुनेछ । काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सवारीसाधनको प्रदूषण जाँच सुरु गरिएको छ । यो राम्रो प्रयास हो । तर, यसको कार्यान्वयनका लागि भने केही आवश्यक मेसिनहरू नपुगेको विभागले जनाउँदै आएको छ ।

सवारी प्रदूषण नियन्त्रणका लागि अबको बाटो

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक सवारीसाधन चेकजाँच गरेर सुरु गरेको अभियान एक साता बितिसक्दा पनि अन्य स्थानमा परीक्षणको काम भएको छैन । वातावरण विभागको प्राविधिक सहयोग र यातायात व्यवस्था विभागको व्यवस्थापनमा सडकमा नै ट्राफिक प्रहरीको साथ लिएर परीक्षण गरिँदै आएको छ । विश्व वातावरण दिवसको अवसरमा मन्त्रीद्वयले प्रदूषण मापन गरी १० सवारीलाई कारबाही गरे ।
मन्त्रीसहितको टोलीले कारबाही गरेका सवारीलाई नियमअनुसार १ हजार रुपैयाँ जरिबाना गरी प्रदूषण पास भएपछि मात्र अनुमति दिने बताइयो । प्रदूषण नियन्त्रण गर्ने मापदण्ड लागू गराउन निकाय नै उदासीन छ । सडकमा आकस्मिक रूपमा गरिएको परीक्षणले पनि करिब १६ सय सवारीको प्रदूषण मापदण्ड फेल भएको अनुमान गर्न सकिन्छ ।

मेसिनसहित सडकमै गएर जाँच गर्दा अधिकांश सवारीले बेलैमा इन्जिन मर्मत नगर्ने गरेको भेटिएको छ । सोही कारण सवारीले अत्यधिक विषालु धुवाँ फाल्ने गरेको पाइन्छ । सडकको दूरवस्थाका कारण उडेको धुलोलाई प्रमुख कारण भनिए पनि वर्षाकै समयमा पनि वायु प्रदूषणको दर उच्च देखिन्छ । त्यसैले सवारीसाधनले फाल्ने अत्यधिक प्रदूषित धुवाँ मानव स्वास्थ्यका लागि जोखिमयुक्त पाइएकाले नियन्त्रण आवश्यक छ ।
यातायात व्यवस्था विभागले प्रदूषण जाँच गरेर पास भएको बताउँदै हरियो स्टिकर दिएका सवारीसाधनको पनि मापदण्ड नपुगेको पाइएको छ । प्रदूषण जाँचमा फेल भएका सवारीलाई यातायात व्यवस्था विभागले नियमअनुसार थोरै जरिबाना गर्ने गरेको छ र तुरुन्त मर्मत गरेर सञ्चालन गर्न निर्देशन दिँदै छाडिदिन्छ । यस्तो नियममा परिवर्तन गरी कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ । तर, त्यसको अनुगमन नहुँदा सडकमा प्रदूषित धुवाँ फाल्ने गाडीको बोलवाला छ । विशेषगरी, सार्वजनिक यातायातमा बढी समस्या देखिएको छ । थुप्रै सरकारी गाडी पनि मापदण्ड पूरा गर्न असफल भएका छन् । निजी सवारी पनि यो मामिलामा कम दोषी छैनन् ।

सरकारले प्रदूषण जाँचमा कडाइ नगर्दा यातायात व्यवसायी र सवारीधनीले आफ्नो मोटर बेलैमा मर्मत गर्ने र चुस्त अवस्थामा राख्ने काममा हेलचेक््रयाइँ गर्दै आएका छन् । विभागले पनि सवारीको प्रदूषण जाँचमा हेलचेक््रयाइँ गर्दै आएको छ । निजी सवारीसाधनले एक वर्ष र सार्वजनिक सवारीसाधनले ६–६ महिनामा प्रदूषण जाँच गरेर विभागबाट हरियो स्टिकर लिनुपर्छ ।
जाँचका क्रममा प्रदूषित धुवाँ फाल्ने ठहर भएका गाडीमा पनि तत्कालै रातो स्टिकर टाँस्ने व्यवस्था छैन । कानुनी व्यवस्थाअनुसार प्रदूषण गर्ने सवारीसाधनले वर्कसपसम्म मात्र गुड्न पाउँछन् । तर, सडकभरि छ्याप्छ्याप्ती भेटिएका छन् । अहिले दुईपांग्रे सवारीको प्रदूषण जाँच हुँदैन । मेसिनहरू आएपछि मोटरसाइकलले फाल्ने धुवाँको पनि जाँच गर्ने योजना बनाउनुपर्छ ।

प्रदूषणले यस्तो असर गर्छ

सवारी प्रदूषणका कारण नाक मुखबाट छिरेको धुवाँधुलोले प्रत्यक्ष फोक्सोमा असर पार्ने र त्यसबाट ब्रोंगकाइटिस, दमदेखि खतरनाक क्यान्सरजस्ता रोगको खतरा हुन्छ । यसका साथै मुटु, दिमाग तथा छालाका रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।
सवारी प्रदूषण परीक्षण गरी प्रदूषणरहित भएको प्रमाण दिने हरियो स्टिकर देशका निश्चित भूभागमा मात्र लागू भएको छ । देशभरका गाडीहरू काठमाडौं आउने भएकाले ती गाडीको कारण पनि वातावरण प्रदूषण बढिरहेको छ । त्यसैले यातायात व्यवस्था विभागले आगामी साउनबाट देशभरका प्रत्येक नगरपालिकामा ‘हरियो स्टिकर’ लागू गर्ने तयारी गरेको छ ।
सबै सवारीले प्रदूषण गर्छन् भन्ने मान्यता गलत हो । तर, करिब २० प्रतिशत गाडीले ५० प्रतिशत प्रदूषण गरिरहेका छन् । हरियो स्टिकरलाई प्रभावकारी बनाउँदै ती गाडीलाई प्रतिस्थापन गर्ने र गुणस्तर कायम गर्ने योजना सरकारले  लागू गर्नुपर्छ ।