बालबालिका कसरी खुसी हुन्छन् ?

बालबालिका कसरी खुसी हुन्छन् ?

 दीपक ठकुरी

 

बालबालिका साँच्चै अभिभावकसँग खुसी छन् त ? अभिभावकका तर्फबाट हेर्दा उनीहरू खुसी नै छन् जस्तो लाग्छ, यो स्वाभाविक हो । किनकि, अभिभावक जे गर्छन्, उनीहरूकै लागि गर्छन् । तर, बालबालिका भएर हेर्न हो भने अभिभावकले उनीहरूलाई अनुशासन र अध्ययनको जञ्जीरमा थुनेका छन् । बालबालिका दिनभर किताबको चाङले थिचिन्छन् । बिदामा ‘पढपढ’ शब्दले कर्कश ध्वनिलेलखेटिन्छन् । अभिभावक उनीहरूबाट खुसी खोज्छन् । तर, बालबालिका मोबाइल, ल्यापटप र टिभीमा खुसी खोज्छन् ।

वास्तवमा बालबालिका परिवार र राष्ट्रको सपना हुन् । परिवारका सदस्यले आफ्ना अपूर्ण सपनाका नक्सा बालबालिकाको मनमस्तिष्कमा रोपिदिएका हछन् । ती सपना मनमा खेलाउँदै बालबालिका सामाजिकीकरणको प्रक्रियामा अघि बढ्छन् । यसै क्रममा उनीहरूका लागि शिक्षक, कलाकार, समाजसेवी, वैज्ञानिक, साथी, खेलाडी आदि प्रेरणाका स्रोत बन्न पुग्छन् । यसपछि बालबालिकाले आफैंले सपना देख्न थाल्छन् । उनीहरू ती सपना भेट्ट्याउन अनेक गतिविधि गर्छन् । कतिका सपना परिस्थितिअनुसार परिवर्तन भइरहन्छन् । कतिका सपना पूरा हुन्छन् । कतिका सपना अधुरा रहन्छन् ।

बालबालिकाको बाल्यकाल अध्ययन र विद्यालयमै बित्छ । हामी पनि बालबालिकाले गृहकार्य तथा कक्षाकार्य गरेको खुब राम्रो ठान्छौं । उनीहरूलाई बिदाको समयमा पनि पढाइमै व्यस्त गराउन खोज्छौं । तर, उनीहरूको मनले मनोरञ्जन माग गरिरहेको हुन्छ । उनीहरूलाई घरेलु काम गर्न सिकाएर बाल्यकालमै दैनिक जीवनका आधारभूत सिप सिकाउन सकिन्छ । बिदा तथा फुर्सदको समयमा उनीहरूलाई किताब मात्र पढ नभनी सूचना तथा प्रविधिबाट ज्ञानार्जनको प्रक्रियाको बाटो देखाउन सकिन्छ ।  बेलाबेलामा नाटक घर, सिनेमा हल, पार्क, चिडियाखाना, संग्रहालय, जेल, ऐतिहासिक स्थल आदिसँग साक्षात्कार गराउन पनि सकिन्छ । हामीले आफ्ना बालबालिकालाई खुसी पार्न निम्नलिखित गतिविधि सञ्चालन गर्नु सान्दर्भिक ठहर्छ ः

सीपमूलक गतिविधि

धेरै बालबालिकालाई भान्सामा सहभागी हुन मन हुन्छ । तर, उनीहरूको सपना कहिल्यै पूरा हुँदैन । हामी उनीहरू अध्ययनमा व्यस्त भएको देख्न र सुन्न चाहन्छौं । यसका साथसाथै भान्साको काम बालबालिकाले गर्नुहुन्न भन्ने मानसिकताबाट समेत हामी प्रताडित छौं । यस किसिमको अवधारणा परिवर्तन गरी कहिलेकाहीँ हामीले आफ्ना छोराछोरीलाई चिया पकाउन लगाउन सक्छौं । विस्तार विस्तार खाजा, खाना हुँदै विशिष्ट परिकार निर्माणमा सहभागी गराउन सक्छौं । यसबाट बालबालिकाले ताजगी महसुस गर्न सक्छन् । यसका साथसाथै उनीहरूले खानाका परिकार बनाउने सिप बाल्यकालमै सिक्छन् । जसले जीवनलाई सार्थक बनाउन मद्दत गर्छ ।

हामी आफ्ना सन्ततिलाई औधी माया गर्छौं । कक्षा १० मा पढ्ने छोराछोरीको ओछ्यान र कोठा हामी नै सरसफाइ गरिदिन्छौं । लुगा धोइदिनु त हाम्रो दैनिकी नै हो । हामीले अन्जानमै आफ्ना सन्ततिलाई परनिर्भर बनाइरहेका छौं । हामीले बालबालिकालाई आफ्नो ओछ्यान मिलाउन लगाउनुपर्छ । कोठा सफा राख्न सिकाउनुपर्छ । यसबाट बालबालिकाले स्वावलम्बी बन्न सिक्छन् । कति बालबालिकालाई त कोठा तथा घरको सरसफाइ गर्न खुब मन लागेको हुन्छ । यो निकै राम्रो चाहना हो । घरका कोठाको सजावटका लागि बालबालिकालाई समय दिनुपर्छ । उनीहरू हामीले सोचेभन्दा आकर्षक तरिकाले कोठा चिरिच्याट्ट पार्न सक्छन् ।

नवीनतम ज्ञानवद्र्धक गतिविधि

हामी बालबालिकालाई चलचित्रबाट निकै दूर राख्न खोज्छौं । तर, यसमा हामीलाई सफलता मिलेको छैन । उनीहरू लुकीलुकी अनेक थरीका चलचित्र, कार्टुन, म्युजिक भिडियो, पत्रपत्रिका आदि हेरिरहेका हुन्छन् । यसबाट उनीहरूमा ढाँटेर आफ्नो इच्छा पूरा गर्ने बानी विकास भएको छ । यसका साथसाथै उनीहरूले निरर्थक बानी र ज्ञानसमेत सिकेका हुन्छन् । त्यसैले यसतर्फ हामी सचेत हुनैपर्छ । बरु हामीले फुर्सदको समयमा उनीहरूलाई प्रेरणादायी चलचित्र, कार्टुन, पत्रपत्रिका आदि हेर्ने अवसर मिलाइदिनुपर्छ । उनीहरूका लागि लक्षित गरी ज्ञानवद्र्धक तथा मनोरञ्जनात्मक चलचित्र, कार्टुन, पत्रपत्रिका आदि निर्माण गरिएका छन् ।

हामीले उनीहरूका लागि पञ्चतन्त्रका कथासँग सम्बन्धित कार्टुन, बाल कोसेली, मुना, बाल बगैंचा, विज्डम जस्ता बालपत्रिका, दैनिक पत्रिकाले बालसामग्रीका रूपमा प्रकाशन गर्ने विशेष अंकहरू, पुरस्कृत बालचलचित्र आदि उपलब्ध गराइदिनुपर्छ । उनीहरूले यस सामग्रीबाट ज्ञान र मनोरञ्जन दुवै हासिल गर्छन् । उनीहरूले अभिभावकलाई सकारात्मक दृष्टिबाट हेर्न थाल्छन् ।

ज्ञान र मनोरञ्जनको स्रोतका रूपमा पछिल्लो समय नाटकले ठाउँ लिँदै गएको छ । अहिले अरोहण (बानेश्वर), सर्वनाम (कालिकास्थान), मण्डला (सिंहदरबार), शिल्पी (बत्तीस पुतली) जस्ता नाटक घर निकै चल्तीमा छन् । प्रायः ती नाटक घरले बिदाको समय र बेलुकापख नाटक प्रदर्शन गर्छन् । हामीले चाहने हो भने बालबालिकालाई समय मिलाएर नाटक घरसम्म लैजान सक्छौं । कार्टुन, चलचित्र र सिरियलमा रमाएका बालबालिकालाई जीवन्त अभिनय गरिने नाटक छुट्टै स्वाद हुन्छ । उनीहरूले नाटकबाट भिन्न किसिमको आनन्द र मनोरञ्जन लिँदै केही न केही ज्ञान हासिल गर्छन् ।

मनोरञ्जनात्मक गतिविधि

पछिल्लो समय नेपालमा आन्तरिक पर्यटन मौलाउँदै गएको छ । हामी बेलाबेलामा कहिले साथीभाइ त कहिले परिवारसँग भ्रमणमा जान्छौं । भ्रमणमा जाँदा हामीले आफ्ना छोराछोरीलाई साथै लैजानु निकै असल मानिन्छ । भ्रमणबाट हाम्रा केटाकेटीले ताजगी महसुस गर्दै देशको भौगोलिक तथा प्राकृतिक वातावरणको दृश्यावलोकन गर्छन् । उनीहरूले भ्रमणबाट भिन्न कला, संस्कृति, रहनसहन, बोलीचाली आदि सिक्छन् । हामीले उनीहरूलाई भ्रमणका लागि ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल लैजानु उपयुक्त हुन्छ ।

ग्रामीण इलाकामा शारीरिक व्यायामको खासै जरुरत छैन । त्यहाँको जीवनशैलीमा अभ्यस्त हुँदै जाँदा व्यायाम आवश्यक हुँदैन तर, सहरी वातावरणमा शारीरिक व्यायाम अपरिहार्य भइसकेको छ । बालबालिकाका लागि चौर छैन । उनीहरू कोठामा थन्किएका छन् । यसले शरीरमा विभिन्न किसिमका समस्या ल्याउँछ । त्यसैले हामीले बेलाबेलामा केटाकेटीलाई फुटसल लैजानुपर्छ  । आफंैसँग विभिन्न व्यायाम गराउनुपर्छ । उनीहरूसँग बौद्धिक वृत्तिका खेल (चेस, लुडो, क्यारमबोर्ड, चाइनिज चेकर आदि) खेल्नुपर्छ । यसबाट उनीहरूको बौद्धिक विकासमा मद्दत गर्छ ।

बालबालिकालाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन हाम्रै प्रमुख हात रहेको हुन्छ । उनीहरू कति खुसी हुने भन्ने पनि हामीमै निर्भर छ । उनीहरूको अध्ययनको स्तर सुधार्न तथा विकास गर्न हामीले नै समय निकाली सामग्री व्यवस्थापन गरिदिनुपर्छ । यस किसिमको अभिभावकीय भूमिका पूरा गर्न सकेमा आफ्ना छोराछोरीको बाल्यकाल्य अविस्मरणीय बन्न गई हामीले असल र उदाहरणीय अभिभावकको पगरी गुँथ्न पाउँछौं ।