उदीयमान हास्य कलाकार

उदीयमान हास्य कलाकार

वेद राना मगर

मान्नुहोस्, तपाईं कुनै सांस्कृतिक कार्यक्रममा सहभागी भइरहनुभएको छ । त्यसैबेला नेपथ्यबाट ‘यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस्…’ भन्दै कुनै प्रस्तुति थालियो रे † त्यतिबेला तपार्इं अवश्य झुक्किनुहुनेछ, कोमल वली आउन लागिछन् भनेर । त्यसपछि पो छक्क पर्नुहुनेछ, जब कोमल वलीको स्वर निकाल्दै कुनै पुरुषले स्टेजमा

‘इन्ट्री’ मार्नेछन् । नचिन्नेहरूका मनमा पक्कै जिज्ञासा जाग्ने नै भयो, यिनी को रहेछन् भनेर । त्यहाँ अरू कोही नभएर पक्कै उदीयमान हास्य कलाकार दिनेश काफ्ले नै हुनेछन् ।

सवा सयभन्दा बढी व्यक्ति÷पात्रको आवाज निकालेर दर्शकश्रोतामाझ चिनिएका काफ्ले यतिखेर महिलाको स्वरसमेत दुरुस्त निकालेर सबैलाई चकित तुल्याइरहेका छन् । कोमलको मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारी, हास्य टेलिसिरयल ‘मेरी बास्सै’की पात्र फतौरी बूढी (कुञ्जना घिमिरे) लगायत अरू कैयौं महिलाको क्यारिकेचर गरेर वाहवाही कमाइरहेछन् उनी ।

‘कसरी गर्नुहुन्छ यति धेरै क्यारिकेचर अनि महिलाको स्वर ?’ सोध्न नभ्याउँदै उनी फ्याट्ट जवाफ दिइहाल्छन्, ‘भगवान्को देन अनि बारम्बारको अभ्यास ।’ हिजोआज क्यारिकेचरमै केन्द्रित भएर आफूलाई अझ निखार्ने कोसिसमा रहेको उनी बताउँछन् । ‘कलाकारिताको आरम्भ यसैबाट गरियो, अब यसबाट पछि हट्छु भनेर सोच्न पनि सक्दिनँ,’ उनी सुनाउँछन् । सफलता त मिलिसकेको छ नि भन्ने जिज्ञासा राख्दा उनी आंशिक रूपमा सहमत देखिए ।

‘जग त बसालेको छु किनकि कलाकारका रूपमा धेरैले चिन्न थालेका छन् । तर, अझै धेरै गर्न बाँकी छ,’ उनी भन्छन् । रेडियो तथा टेलिभिजन कार्यक्रम, अभिनय, गायन, स्टेज प्रोग्राममा सहभागी हुनुपर्दा उनी अहिले अत्यन्त व्यस्त कलाकारका रूपमा दरिएका छन् ।

महाकवि देवकोटाको ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ भन्ने कवितांशको मर्म उनीसँग मिल्न गएको छ । अर्थात्, धेरै जनाको आवाज निकालेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराउने मात्र होइन, विश्वका सर्वाधिक चर्चित व्यक्तिहरूको दुरुस्त स्वर लिएर

‘अमेरिका गट ट्यालेन्ट’मा समेत भाग लिने ध्याउन्नमा उनी अहोरात्र खटिरहेका छन् । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवाज त निकाल्न सक्छु,’ उनी भावी योजना सुनाउँछन्, ‘चिनियाँ राष्ट्रपति सि जिन पिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र विश्वमा चर्चित अरू व्यक्तिको आवाज निकाल्ने अभ्यास गर्दै छु ।’ रेस्लर जोन सिन्हा, बेलायती राजकुमार ह्यारी पोर्टर र फुटबल खेलाडी म्याराडोनाको आवाज अध्ययन गरिरहेको उनको भनाइ छ । विदेशीहरूको दुरुस्त आवाज निकाल्न तिनले बोल्ने भाषाको आधा™भूत ज्ञान र बोलीको आरोहअवरोह जान्नुपर्ने भएकाले उनी अथक साधनामा जुटेका छन् ।

मझौलो खालको छरितो ज्यान । आकर्षक लवाइ । मिष्ठभाषी । हर्दम हँसमुख । तुरुन्तै झ्याम्मिने क्षमता । भलादमीपनसहितको चञ्चलता । यसरी नै चिनाउन सकिन्छ, उनको हाउभाउ र बाह्य रूपाकृतिलाई । तर, आफ्नो धमाकेदार प्रस्तुतिका माध्यमले दर्शकश्रोताका सुषुप्त हास्य चेत ब्युँझाउन सक्ने उनको खुबीसँग परिचत भएपछि २५ वर्षीय यी तन्नेरी मामुली कलाकार होइनन्, बेजोड प्रतिभाका धनी हुन् भनेर स्वीकार गर्न करै लाग्छ ।

यिनी कतै माग्ने बूढा (केदार घिमिरे) को क्यारिकेचर गरेर दर्शकलाई हँसाइरहेका भेटिन्छन् भने कतै सीताराम कट्टेलका ‘धुर्मुस’, ‘खड्काजी’, ‘मुस्कान पासा’, अर्जुन घिमिरेको ‘पाँडे’, कुमार कट्टेलको

‘जिग्री’, विल्सनविक्रम राईको ‘तक्मे बूढा’ पात्रको स्वर नक्कल गर्न व्यस्त देखिन्छन् । ‘हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, राजेश हमाल, सौगात मल्ललगायत कलाकारका क्यारिकेचर गरेको छु,’ उनी भन्छन्, ‘चलचित्र वडा नम्बर ६ मा अलिकति अंशमा दयाहाङ राईको बोली मेरो स्वरमा डबिङ भएको छ ।’ उनी अझै थप्छन्,

‘प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, मोहन वैद्य, वामदेव गौतम, लालबाबु पण्डितलगायत जनमानसले चिन्ने कुनै नेताको क्यारिकेचर गर्न बाँकी राखेको छैन ।’

प्रसंग मिल्दा स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पनि उनी आवाज उतारिरहेका हुन्छन् उनी । विगतको कुनै रमाइलो सन्दर्भ सम्झँदै उनी भन्छन्, ‘हास्य कलाकार शिवहरि पौडेल र कांग्रेस नेता गगन थापासामु उहाँहरूकै क्यारिकेचर गर्दा स्याबासी पाएको क्षण कहिल्यै भुल्न सक्दिनँ ।’

भारतीय कार्टुन ‘मोटुपत्लु’का जोन, डा. झड्का, चिंगम, हसिनालाल, बक्सर भैया, चियावाले भैयालगायत सबैजसो पात्रको स्वर उतार्न पनि उनी खप्पिस छन् । भारतीय हास्य कलाकार सुनील ग्रोभरको डाक्टर गुलाँती पात्रको समेत क्यारिकेचर गर्ने उनले बल्छी धुर्बे, बान्द्रे, सरापेको मात्र होइन, पत्रकारहरू ऋषि धमला, रवि लामिछानेको आवाज उतार्न पनि पछि परेका छैनन् । एपी वान टेलिभिजनबाट प्रस्तुत भइरहेको नृत्यको रियालिटी सो ‘बुगी वुगी’मा ‘होस्ट’समेत रहेका दिनेश भन्छन्, ‘कार्यक्रमकै दौरानमा जजको भूमिकामा रहनुभएका अभिनेता दिलीप रायमाझीकै सामु उहाँको क्यारिकेचर गरेर हँसाएको छु ।’ साम्दे शेर्पाबाट थालिएको नेपाली स्ट्यान्ड अप कमेडीलाई मनोज गजुरेल, सन्दीप क्षत्री, जितु नेपाल, राजा राजेन्द्रलगायतले हुर्काए । तिनै कलाकारका पाइला पछ्याउँदै काफ्ले पनि यतिखेर ‘स्ट्यान्ड अप कमेडी’मा दमदार रूपमा जमिरहेका छन् ।

२०७० सातिर ‘एनसेल अल नेपाल टुर’मा अनुबन्धित भई देशका धेरै भूभागमा पुगेर जनमानसमा आफूलाई कलाकार भनेर चिनाउने मौका पाएको उनको भनाइ छ । विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रम तथा महोत्सवहरूमा जान भ्याइनभ्याइ हुने कलाकार

काफ्लेको ‘डिमान्ड’ विदेशमा पनि त्यत्तिकै हुन थालेको छ । ‘भारत, कोरिया, मलेसिया, सिंगापुर, ओमानमा गएर आफ्नो प्रस्तुति दिइसकेको छु,’ उनी स्मरण गर्छन् । कृष्णविक्रम थापाको ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई…’ गीत दुरुस्तै गाउने दिनेशले एउटा चाहना मुखरित गरे, सिन्धुलीगढीमा तिनै गायक थापाको सालिक बनाउने । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सिन्धुली अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘आफू सिन्धुलीवासी भएकाले सिन्धुलीलाई चिनाउने गायकको सम्मानमा कृष्णविक्रम थापा प्रतिष्ठान खोल्ने संकल्प बोकेको छु ।’

‘२०६९ सालतिर रेडियो सगरमाथामा रामनाथ घिमिरेको नयाँनयाँ प्रतिभा कार्यक्रममा सामेल हुने मौका पाएँ, माग्ने बूढासहित धेरै कलाकारको क्यारिकेचर गरें,’ विगत कोट्याउँदै उनी भन्छन्, ‘श्रोताले मन पराउनुभएछ, त्यसपछि रेडियो र स्टेज कार्यक्रमका लागि अफर आउन थाल्यो ।’ लगत्तै उनले रेडियो अडियोमा हास्य विधाको कार्यक्रम चलाउन थाले । एनसेल अल नेपाल टु™का कारण उक्त रेडियो छाडेका उनी पछि सिद्धबाबा सिन्धुलीसँग जोडिए, कार्यक्रम प्रमुखका रूपमा । पछि काठमाडौं फर्किएर रेडियो अडियोमै काम थालेका उनी अझै त्यहीँ कार्यरत छन् । ‘जिरे खोर्सानी’,

‘तीतो सत्य’, ‘सिस्नुपानी झ्याम्मै’ लगायत हास्य टेलिसिरियल र ‘६ एकान ६’ चलचित्रमा समेत अभिनय गरेका काफ्लेले थुप्रै नाटकमा विविध पात्रको भूमिका निर्वाह गरेका छन् । हास्य लोकदोहोरी ‘वनको चिलाउने…’ गीत श्रोतामाझ ल्याएर उनले २०७० सालतिरै गायकको परिचय बनाइसकेका हुन् ।

युट्युबमा पनि प्रशस्त भ्युअर्स पाइरहेका उनी जेजति विधामा लागेको भए पनि हास्य कलाकारका रूपमा भने अत्यन्त सफल देखिन्छन् । क्यारिकेचर गर्ने र हँसाउन प्रयत्न गर्नेहरूको भीडमा उनी अब्बल देखिनुको रहस्य गहकिलो विषयवस्तु र मौलिक प्रस्तुति नै हो ।