संरक्षणविहीन स्यार्पु ताल

संरक्षणविहीन स्यार्पु ताल

 चिना विक

रुकुम पश्चिमको पर्यटकीय स्थलका रूपमा चिनिँदै आएको स्यार्पु ताल संरक्षणविहीन भएको छ । पर्यटकीय स्थल स्यार्पु ताल बाँफिकोट गाउँपालिकाको वडा–३ मा छ । स्यार्पु तालको रमणीय दृश्यसँग रमाउन र भ्रमण गर्न विभिन्न ठाउँका पर्यटक भित्रिने गरेका छन् । स्यार्पु तालमा पर्यटक भित्रिएपछि बाँफिकोटवासीको जीवन गुजरा गर्ने आस पलाएको थियो ।

बाँफिकोट गाउँपालिकामा पर्ने एक गहनाका रूपमा चिरपरिचित ताल जिल्लाको गहना बनेको छ । ताललाई बाँफिकोट गाउँपालिका जनप्रतिनिधि र गाउँपालिका सरकारले संरक्षण गरेमा बाँफिकोट गाउँपालिकालाई आर्थिक सहयोग पुग्नेछ । तर, गाउँपालिका सरकारको ध्यान स्यार्पु ताल संरक्षणमा अझै पुग्न सकेको छैन । सौन्दर्यताले भरिपूर्ण स्यार्पु ताल संरक्षणमा बाँफिकोट गाउँपालिका सरकारको ध्यान पुग्न नसक्दा आन्तरिक पर्यटकदेखि विदेशी पर्यटक पनि आउन छोडेका छन् ।

स्यार्पु ताल भ्रमण गर्न आएका पर्यटकबाट त्यहाँका स्थानीयवासीले मासिक ५० हजार बढी आम्दानी गर्दै आएका थिए । अहिले भने तालको वरिपरिबाट सडक खनेको ढुंगा, माटो, विभिन्न प्रकारको फोहोर तालमै फाल्ने र पशुचौपाया तालको वरिपरि चराउने, तालमै पानी खुवाउने गरेपछि तालको सौन्दर्यमा ह्रास आई ताल दुर्गन्धित बन्दै गएको छ ।

ताल दुर्गन्धित बन्दै गएकाले पर्यटकहरूको आगमनमा पनि कमी आएको स्यापु ताल कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर केसीले बताए । ताल वरिपरिको रूख र बिरुवा सुक्दै गएकाले तालको सौन्दर्य परिवर्तन हुँदै गएको र तालको पानी पनि घट्दै गएको स्थानीयको भनाई छ ।

तालमा ¥यापटिङ र डुंगाका माध्यमबाट तालको अवलोकन गर्न सकिने र ताल वरिपरिका विभिन्न प्रकारका वस्तु र मठमन्दिरको दर्शन गरेर पर्यटकहरूले आनन्द लिने गर्छन् । तालमा ढुंगा, माटो र विभिन्न प्रकारको फोहोर फाल्न थालेपछि तालको क्षेत्रफल साँघुरिँदै आएको छ ।

 यसअघि १३ वटा संघसस्थाले स्यार्पु तालको संरक्षण गर्दै आएका थिए भने अहिले ती संघसस्थाले वास्ता गर्न छोडेपछि स्यार्पु ताल प्रदूषित हुँदै गएको हो । स्यार्पु तालको संरक्षणका लागि भरपर्दो समिति र संघसस्था नभएकाले तालका माछाको आहारमा कमी आई माछाको संख्या घट्दै गएको स्यार्पु ताल कृषि सहकारी संस्थाका सचिव दुर्गाबहादुर विकले बताए ।

स्यार्प ुतालको दृश्य अवलोकन गर्न दाङ, जाजरकोट , सल्यान, रुकुम पूर्व र रुकुम पश्चिमका आन्तरिक पर्यटक आउने गरेका छन् । पहिला दैनिक १ सय जना बराबरी पर्यटक भित्रिए पनि अहिले दैनिक ५० जनाको हाराहारीमा पर्यटक आउने गरेका छन् । होटेल व्यवसायी दरिभान पुरी भन्छन्, ‘पर्यटकलाई स्वागत र बसोबासका लागि होमस्टे राख्यौं न पर्यटक आउँछन न कमाइ नै हुन्छ ।’

पहिला स्यार्पु ताल अवलोकन गर्न विदेशी पर्यटक पनि आउँथे र कमाइ पनि राम्रो हुन्थ्यो । स्यार्पु ताल दुर्गन्धित बन्दै गएपछि विदेशी त के नजिकैका पर्यटक आउन पनि गाह्रो हुने हो कि भन्ने होटेल व्यवसायीलाई डर छ । स्यार्पुताल दुर्गन्धित बन्दै गएकाले स्थानीय व्यवसायीको कमाइखाने आस नै मरिसकेको छ । स्यार्पु ताल संरक्षण गरेमा विदेशी पर्यटक बढाउन सक्ने सम्भावना छ ।

स्यार्पु ताल संरक्षणमा गाउँपालिकाको विशेष हात रहनेमा उल्टै बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । गाउँपालिकाको विकास कसरी गर्ने र गाउँलाई कसरी समृद्ध बनाउने भन्ने गाउँपालिका सरकारको हो ।