२२ भ्रातृ संगठन एकीकरण सहमति, १४ पूर्वएमालेलाई, ८ मा पूर्वमाओवादी नेतृत्व

सुभाष साह / काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का २२ भ्रातृ संगठन एकीकरणको सहमति जुटेको छ । त्यसमा १४ पूर्वएमाले र ८ पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् ।

त्यसका सचिव भने नेतृत्व गर्ने समूहको इतरमा राख्ने सहमति भएको छ । १४ सचिव पूर्वमाओवादी र ८ सचिव पूर्वएमालेले लिने भएका छन् ।  जनवर्गीय संगठनको नेतृत्व संख्या टुंगो लागे पनि कुन संगठन कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । त्यसका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित नेताहरू सहमतिका लागि परामर्शमा जुटेका छन् । जनवर्गीय संगठनको एकीकरणका लागि ने क पाले कार्यदलहरू गठन गरेको थियो ।

प्रारम्भिक चरणको संख्यात्मक सहमति भए पनि यसमा परिवर्तन हुन सक्ने बताइएको छ । नेतृत्वका लागि तत्कालीन जनवर्गीय संगठनका सक्षमता, सक्रियता र क्रियाशिलतालाई आधार बनाइएको स्रोतले बतायो ।

यसैबीच, तत्कालीन दुई पार्टीका २२ वटै भातृसंगठको एकीकरणका लागि बनेका कार्यदलले आन्तरिक छलफल एवं बैठक गरेर विधान मस्यौदा समिति गठन गरेर एकताको तयारी थालेका छन् । छुट्टाछुट्टै कार्यदलको बैठकले एकता प्रक्रिया, मापदण्ड, शैलीसहित एकीकृत विधान मस्यौदाको तयारी थालेको हो ।

ने क पा केन्द्रीय सचिवालयले भातृसंगठनहरूको एकीकरण प्रक्रिया आपसी सहमतिमा १५ दिनभित्रमा सम्पन्न गर्ने गरी निर्देशन दिएको छ । कार्यदलले पाएको समयभित्रैमा एकीकरणका लागि आवश्यक प्रक्रिया टुंगो लाग्ने बताइएको छ ।

यता, आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त कार्यदल गठन भएको छ । कार्यदलको बैठकले दुवै संगठनका महासचिवद्वय राजेश राई र विष्णु सापकोटालाई अन्तरिम विधान मस्यौदा बनाउन जिम्मेवारी दिएको छ । चौतारी महासचिव राईका अनुसार एकीकरणका लागि दुवै संगठनको केन्द्रीय कमिटी बैठक समेत बोलाउने निर्णय भएको छ ।

चौतारीको केन्द्रीय कमिटी बैठक बिहीबार र सेन्टरको केन्द्रीय कमिटी बैठक आगामी शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा डाकिएको छ । उता, युवा संघ नेपाल र वाईसीएलबीचमा एकीकरणका लागि कार्यदलले विधान तथा संगठन मस्यौदा कार्यदल गठन  गरेको छ ।

समितिमा दुवै संगठनका महासचिवद्वय नरेश शाही र सुबोधराज त्रिपाठीका साथै सचिवत्रय ज्ञानेन्द्रबहादुर गुरुङ, रमेश आचार्य र वचन सिंह सदस्य रहेका छन् ।

समिति गठन भएपछि तीनपटक बैठक बसेर छलफल गरेको छ । महासचिव शाहीका अनुसार एकीकृत संगठनको संरचना पिरामिड शैलीको हुनेछ । बैठकमा विधान एवं संगठनको खाका तयारीका विषयमा छलफल जारी रहेको उनले बताए । संगठन सञ्चालन शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा हुने उनले बताए ।

यसैगरी, अन्य भातृसंगठनका साथै पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीको एकीकरणका लागि गठन भएका छुट्टाछुट्टै कार्यदलले आन्तरिक गृहकार्य गर्दै एकीकरणको टुंगो लगाउने तयारीमा जुटेका छन् । मातहतका कमिटी  मिलाउन  बेग्लाबेग्लै ३६ कार्यदल गृहकार्यमा छन् ।

कार्यदलले एकीकरणबाट गठन हुने सम्बन्धित जनवर्गीय संगठनको विधान मस्यौदा गर्ने, सम्बन्धित संगठनले पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व स्वीकार गर्ने र संगठनात्मक रूपमा आफ्नो विधानका आधारमा सञ्चालित हुने मान्यतामा आधारित हुने गरी अगाडि बढ्न पार्टीले निर्देशन दिएको छ ।

सम्मेलन वा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्न  पदाधिकारी र सदस्यहरूको नामावलीसहितको प्रस्ताव तयार गर्नुपर्ने जिम्मेवारी कार्यदलहरूले पाएका छन् ।