सहमतिको मसी नसुक्दै ट्रम्पको युटर्न

ओटावा / एजेन्सी– अमेरिकी राष्ट्रपछि क्यानडामा भएको विश्वका ठूलो औद्योगिक राष्ट्रको सम्मेलन जी–७ को शिखर बैठकमा भएको सहमतिबाट पछि हटेका छन् । शिखर बैठकमा आफैंले अनुमोदन गरेको सहमतिपत्रको मसी सुक्न नपाउँदै उनले त्यसलाई अनुमोदन नगर्ने बताएपछि सबै आश्चर्यमा परेका छन् ।

अमेरिकाले स्टिल र एलुमिनियम आयातमा हालै लगाएको करका विषयलाई लिएर जारी तनावबीच ‘नीतिमा आधारित व्यापार प्रणाली’ को वकालत गर्ने खालको संयुक्त वक्तव्यमा सहमति बनेको थियो ।

जी सेभन शिखर बैठक

 

क्यानडाका प्रधानमन्त्री जस्टिनले अमेरिकाले लगाएको करको बदलामा आफ्नो देशले पनि १ जुलाईबाट कर लगाउने बताएपछि ट्रम्प भड्किएका हुन् । उनले अरू देशहरूले अमेरिकामाथि ‘ठूलो मात्रामा कर लगाइरहेको’ आरोपसमेत लगाएका छन् ।

उनले राष्ट्रिय सुरक्षा चासोका नाममा ट्रम्पले स्टिल र एलुमिनियममा लगाएको कर सही भन्नु ‘अपमानजनक’ भएको टिप्पणी गरे । उनले भने, ‘यो दुःखद हुनेछ तर निकै स्पष्ट र दृढ पनि हुनेछ कि बदलास्वरूप हामीले १ जुलाइबाट कर लगाउन गइरहेका छौं ।’

उनले क्यानडाली विनम्र र व्यावहारिक रहेको तर आफूहरूलाई दुःख दिन नपाइने उल्लेख गरे । अमेरिकाबाहेकका अन्य ६ राष्ट्रले भने ट्रम्पको निर्णयका बाबजुद संयुक्त वक्तव्यप्रति कटिबद्ध रहने जनाएका छन् ।

 जी–७ को शिखर बैठकमा गरिएको सहमतिलाई लक्षित गर्दै बेलायतको एउटा सरकारी स्रोतले भनेको छ, ‘जी सेभेनको संयुक्त वक्तव्यमा गरिएका प्रतिबद्धप्रति हामी कटिबद्ध छौं ।’

उत्तर कोरियाली नेता किम जोङ उनसँग सिंगापुरमा हुने शिखर बैठकमा सहभागी हुन जाँदै गर्दा ट्रम्पले आफ्ना प्रतिनिधिलाई जी–७ को संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएको उल्लेख गर्दै ट्विट गरेका छन् ।

ट्रम्पले भनेका छन्, ‘हामीले सो सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौं र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस विज्ञप्तिलाई पनि हामीले अनुमोदन गर्नेछैनौं ।’ राष्ट्रपति ट्रम्पले सम्मेलनका लागि क्यानाडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तिलाई अनुमोदन नगर्न निर्देशन दिएका हुन् ।

क्यानडाले यसअघि भनेको विषयमा अडान दोहो¥याएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताबाट पछि हटेको उल्लेख गरेका छन् । जी–७ का अन्य ६ देशले शिखर बैठकपछि जारी गर्ने भनिएको संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेको विषयबाट अमेरिका पछि हटेको आरोप लगाएका छन् ।

ठूला औद्योगिक राष्ट्रको समूह जी–७ का सदस्य राष्ट्रहरूले अमेरिकाले स्टिल र आल्मुनियम आयातमा हालै लगाएको करको विषयलाई लिएर नीतिमा आधारित व्यापार प्रणाली नामको संयुक्त वक्तव्यमा गर्ने सहमति भएको थियो । सहमतिपछि भने दुवैतर्फको कर लगाइने भन्ने बारेमा केही समाधान निस्किएको बताइएको थियो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले अमेरिकाले कर लगाएमा क्यानाडाले पनि १ जुलाईदेखि कर लगाउने बताएपछि अमेरिकाको कडा विरोध आएको हो ।